बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महिलामा बाँझोपनदेखि क्यान्सरसम्म गराउन सक्ने जटील समस्याः पीसीओएस (भिडियो सहित)

पीसीओएसलाई पूर्णतः निको पार्न सकिँदैन तर यसलाई नियन्त्रण गरेर राख्न सकिन्छ : वरिष्ट स्त्री रोग विशेषज्ञ डा. अचला वैद्य
बुधबार, ०१ माघ २०७६, १२ : ३४
बुधबार, ०१ माघ २०७६

विवाह गरिसकेपछि प्रत्येक दम्पत्तिहरुको प्रमुख सपना हुन्छ सन्तानको प्राप्ति । तर विवाह गर्दैमा सवै दम्पति अनि तिनका परिवारजनलाई त्यो सन्तान सुख प्राप्त हुन्छ नै भन्ने कुनै ग्यारेन्टी हुँदैन । एउटा विवाहित दम्पत्तिमा पुरुष वा महिलामा हुने विविध समस्याहरुका कारण गर्भ नबस्ने वा गर्भधारण हुन नसक्ने अवस्था पनि आउन सक्छ । महिलाहरुमा गर्भधारण हुन नसक्नुका विविधि कारणहरुमध्येको एउटा प्रमुख कारण हो : पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) ।

पीसीओएस महिलाहरुमा हुने एउटा आम समस्या हो । प्रत्येक दशजना मध्ये एक जनामा यो समस्या हुने अध्ययनहरुले देखाएको छ । रोगबारे समयमा सचेत नहुँदा यसले निम्त्याउने गम्भिर समस्याबाट गुज्रिन बाध्य छन् महिलाहरु । पीसीओएसका कारण मुख्य त गर्भधानमा समस्या आउने भएकाले महिलाहरु मानसिक र सामाजिक पीडा भोगिरहेका छन् । त्यसो त पीसीओएसले प्रजनन प्रणालीमा मात्र नभएर शरीरको सम्पुर्ण भागलाई नै असर पार्न सक्छ ।

सामान्यतः ३० वर्षमाथिका महिलाहरुमा देखिने यो समस्या अहिले आएर किशोरावस्थामै पनि देखिन थालेको छ । वास्तवमा पीसीओएस के हो ? यसले गर्ने असरहरु के हुन् ? यो समस्याको उपचार सम्भव छ कि छैन ? यसबारेमा हामील नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ट स्त्री रोग विशेषज्ञ, डा. अचला वैद्यसँग कुराकानी गरेका थियौं । आउनुहोस्, यस समस्याबारे हामी पनि जानकारी लिऔं, डा. वैद्यबाटः

पीसीओएस

पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) अनुवांशिक (जेनेटिक) अवस्था हो । यो कुनै भाइरस, व्याक्टेरिया वा अन्य कुनै कारणले हुने रोग होइन । यो हर्मोनको असन्तुलनका कारण हुने गर्छ । महिलाको एउटा पाठेघर र दुई वटा फेलोपियन ट्यूब हुन्छ जसको तल डिम्बासय हुन्छ । उक्त डिम्बासयमा जन्मजात नै साना साना थुप्रै अण्डाहरु हुन्छन् ।

वयस्क उमेर भएपछि र गर्भधारण गर्न सक्ने अवस्थामा पुगेपछि महिलामा भएको अण्डा परिपक्व भई महिनावारी चक्र सुरु हुन्छ । त्यही अण्डा परिपक्क भएर फुट्दा महिनावारी हुन्छ । अझ सजिलोसँग बुझ्नुपर्दा, डिम्बासय भित्र रहेको सानो अण्डा महिनावारी चक्रसँगै परिपक्व हुन्छ । महिनावारी भएको १५ दिनमा यो फुट्छ र त्यहाँबाट फेरि अन्य अण्डा निस्किन्छ । यौन क्रियाका माध्यमबाट गर्भाशयमा प्रवेश गर्ने पुरुषको शुक्रकीटले त्यो अण्डालाई निषेचित गर्न (फर्टिलाईज) सक्यो भयो भने गर्भ रहन्छ, अन्यथा त्यो अण्डा खेर जान्छ र रगतसँगै योनीमार्गबाट बाहिरी निस्कन्छ । त्यसैलाई हामी महिनावारी भनेर बुझ्दछौं ।

तर पीसीओएसको समस्या भएका महिलामामा भने डिम्बासयमा रहेको अण्डा परिपक्व अवस्थामा नै पुग्न पाउँदैन । गर्भाशयमा स–साना तरल पदार्थहरु भरिएका मसिना पोकाहरु देखापरेर त्यस्तो समस्या देखापर्न सक्छ । सामान्यतः महिनावारीको चक्रमा महिलामा एउटा मात्रै अण्डा परिपक्व भएर निस्कने हो तर पीसीओएसमा चाहिँ एउटाका सट्टामा धेरै अण्डा अपरिपक्व अवस्थामा नै निस्कन्छ । फलतः महिनावारीमा गडबडी शुरु हुन थाल्छ र अनियमित एवं लामो समयमा मात्रै महिनावारी हुने पनि हुन सक्छ । कतिसम्म भने २८ देखि ३५ दिनको चक्रमा हुनुपर्ने महिनावारी त्यस्तो समस्या भएका महिलामा ३/४ महिनासम्म सर्न सक्छ । फेरि कतिलाई त महिनावारी हुदा एकदमै थोरै रगत देखिने मात्र हुन्छ ।

यसरी परिपक्क हुन नपाएको अण्डाहरु लाईन लागेर माला जसरी नै डिम्बासयमा बसिदिन्छ । कहिले काहि यसरी लाईन लागेर बसेको अण्डाहरुलाई सिस्ट जस्तो देखिन्छ तर त्यो सिस्ट नभएर अपरिपक्क अण्डाहरु हुन्छन् । हरेक महिनावारी चक्रमा एउटा एउटा अपरिपक्क अण्डा थपिँदै जान्छ । यसरी १० देखि १२ वटासम्म अण्डा देखियो भने त्यो पोलिसिस्टिक हो भन्ने जान्नुपर्छ ।

पीसीओएसका लक्षण

यो कुनै पनि उमेरमा हुन सक्छ । कसैकसैलाई वयस्क अवस्थामा प्रवेश गरेपछिको पहिलो महिनावरीमै पनि यो समस्या भइसकेको हुन सक्छ । तर कहिलेकाहीँ चाहिँ अलि पछि उमेर बढेको अवस्थामा पनि हुन सक्छ ।

पोलिसिस्टिक ओभरी सिन्ड्रोम किन हुन्छ भन्ने कुरा अझै अज्ञात नै छ ।  यो समस्याल गाँजेपछि धेरै जसोलाई महिनावारी गडबढी हुने, अनावश्यक रुपमा मोटाउने, धेरै डण्डिफोर आउने जस्ता लक्षणहरु देखिन्छन् ।

त्यसैगरी, कतिपयमा चाहिँ यो समस्या हुँदा शरिरका विभिन्न भागमा अनावश्यक रौंहरु आउने गर्छ । विशेषतः यो समस्या हुँदा कतिपयमा पुरुष हर्मोन (androgen) बढेर आउने, अनुहार, चिउडो, छाती, पेट, तिघ्रामा रौं पलाउने गर्छ । प्रौढ अवस्थामा पुगेपछि अनुहार लगायत छालाका अन्य भागमा दाग, पोतो देखिन्छ ।

यो समस्या भएका विवाहिता महिलामा भने अरु समस्यारुका साथसाथै बच्चा नहुने समस्या  पननि देखिन सक्छ । यो समस्या यही उमेरमा नै लाग्छ भन्ने नभएकोले त्यस्ता विवाहित महिलाबाट एक दुई वटा बच्चा जन्मने तर पछि यो समस्याले च्यापेपछि चाहिँ जति कोशिश गरे पनि बच्चा नबस्ने हुन सक्छ । यो समस्या भएका महिलाहरुमा एक त बच्चा बस्ने सम्भावना नै न्यून हुन्छ, केही गरी बच्चा बसिहाले पनि गर्भपात हुने संभावना बढी हुन्छ ।

पीसीओएसका असरहरु

पीसीओएसका नकारात्मक असरहरु बहुआयामिक हुन्छ । विशेषतः यही समस्याका कारण गर्भधारण हुन नसक्ने अवस्थामा विवाहित दम्पति, अझ विशेषतः महिलाको शारीरिक, मानसिक र सामाजिक अवस्था निक्कै कष्टकर र तनावग्रस्त बन्न पुग्छ ।  विवाहिताहरुमा पनि बच्चा नहुँदा परिवार र समाजले गर्ने व्यवहारका कारण महिलाहरुमा मूलतः मानसिक असर परिरहेको हुन्छ ।

मोटोपनकै कारण तथा शरीरमा देखापर्ने अनावश्यक र अत्यधिक रौंहरुका कारण महिलाको आत्मविश्वासमा नै चोट पुग्न पनि सक्छ । अनुहार, हातखुट्टामा समेत पुरुषहरुमा जस्तै प्रष्टै देखिने गरी दाह्री जुंगा र  अनावश्यक रौंले गर्दा युवतीहरुमा आत्मविश्वासमा कमि आउन सक्छ । त्यही समस्याका कारण कतिजना  त समाजमा खुलेर हिँडडुल गर्न नै नसकेको पनि पाइन्छ ।

त्यसैगरी, डन्डिफोरका कारण पनि धेरैमा नकारात्मक असर देखिएको छ ।

वास्तवमा समस्या आएपछि सामाजिक रुपमा सक्रिय नहुने, साथीसंगतमा नजाने, आफूमा हिनता वोध गर्ने गरेको देखिन्छ । यस्तो समस्या आएमा डाक्टरकोमा जानु पर्छ शारिरीक रुपमा झनै धेरै सक्रिय हुनुपर्छ भन्ने जानकारी नहुँदा समस्या झन बढ्ने गरेको छ ।

त्यसबाहेक, यो समस्याले गर्दा देखापर्ने अत्यधिक मोटोपनाले महिलामा मुटुरोग र मधुमेह हुने खतरा पनि बढ्छ ।

उपचारपछि गर्भधान सम्भव छ

माथि हामीले चर्चा गरिसक्यौं कि पोलिसिस्टिकको सबैभन्दा ठूलो असर भनेकै गर्भधारण हुन नसक्नु हो । तर यसको अर्थ यो होइन कि यो रोगको उपचार नै छैन । वास्तवमा, यो रोगको बेलैमा उपचार गरियो भने गर्भधान हुन सम्भव छ ।

यो समस्या भएका महिलामा अण्डा अपरिपक्क हुने भएकाले ओभुलेसन चाहिँ हुँदैन । तर यस्ता समस्या भएका महिलाहरुलाई औषधीको सेवनसँगै शारिरिक रुपमा सक्रिय बनाइन्छ र गर्भधानको लागि तयार पारिन्छ । विशेष गरेर सुगर कम गर्ने औषधी मेडफर्मिनको प्रयोग गरिन्छ । यसको काम रगतमा चिनी (ग्लुकोज) लाई कम गर्ने र तौललाई कम गर्न सहयोग गर्ने हो । त्यसैगरी, शरिरमा इन्सुलिन उत्पादनमा र इन्सुलिनलाई सक्रिय बनाउन सहयोग गर्ने औषधीको प्रयोग पनि गराइन्छ ।

हाम्रो शरिरमा भएको प्याङ्क्रियाजबाट इन्सुलिन निस्किनु पर्छ तर मधुमेहको समस्या भएमा इन्सुलिन निस्किँदैन, जसका कारण चिनी नियन्त्रण हुन सक्दैन । इन्सुलिनको काम चिनीलाई नियन्त्रण गर्नु हो । जव इन्सुलिन नै निस्किएन भने सुगर अनियन्त्रित भई समस्या पैदा गर्छ । हामीले खाने हरेक चिजमा चिनी हुन्छ । यदि इन्सुलिन नै उत्पादन भएको छैन भने रगतमा अत्यधिक मात्रामा चिनी बढ्छ । यो अवस्थालाई हामी मधुमेह वा डायबिटिज वा सुगर रोग भनेर जान्दछौं ।

पोलिसिस्टिकको समस्या भएका महिलाको शरीरमा इन्सुलिन पैदा त भइरहेको हुन्छ तर त्यो बढिरहेको चिनीको तुलनामा पर्याप्त हुँदैन । फलतः पोलिसिस्टिकमा इन्सुलिनले चिनीलाई राम्ररी नियन्त्रण गर्न सक्दैन । जव औषधी सुरु गरिन्छ नी तव इन्सुलिनलाई सक्रिय बनाइदिन्छ । पोलिसिस्टिकमा दिइने औषधी मधुमेहको औषधी भएपनि इन्सुलिनलाई सक्रिय बनाउनको लागि दिइने हो । त्यो औषधीको सहयोगमा इन्सुलिनले काम गर्न थाल्छ र तौल नियन्त्रणमा आउँछ ।

महिलाको शरिर जति मोटो हुन्छ उतिनै महिनावारी पनि गडबढ हुन्छ । महिनावारी गडबढीले गर्भधानमा समस्या हुने भएकाले मोटोपनको उपचार गरेपछि गर्भधान सहज हुन्छ । कतिले पीसीओएसलाई बाझोपनको कारण भन्ने गरेपनि यो बाझोपनको कारण भने विल्कुलै होइन ।

पोलिसिस्टिकमा गर्भ रहन गाह्रो  हुने र गर्भ रहे पनि गर्भपात हुने संभावना भने निकै बढी हुन्छ । त्यसैले यो समस्या भएका महिलाले गर्भधारण गर्दा विशेष सावधानी अपनाउनु पर्छ । यो समस्यामा गर्भाधान हुँदा १०० जनामा १ प्रतिशतमा गर्भपातको समस्या देखिएको छ ।

पीसीओएसमा औषधी अनि अन्य उपायबाट पनि गर्भाधान नभएको खण्डमा भने अन्तिम उपायको रुपमा डायग्नोस्टिक ल्याप्रेस्कोपी गरिन्छ ।

के हो डायग्नोस्टिक ल्याप्रोस्कोपी ?

डायग्नोस्टिक ल्याप्रेस्कोपी भनेको नाइटोबाट ल्याप्रोस्कोपी उपकरण ओभरीमा छिराएर त्यहाँ रहेका अण्डाहरुलाई फुटाइन्छ । यसलाई ल्याप्रोस्कोपीक ओभरियन ड्रिलिङ्ग (ीबउबचयकअयउष्अ यखबचष्बल मचष्ििष्लन) भनिन्छ । यो विधिमा दुवै ओभरीमा कम्तीमा पनि ४÷४ वटा अण्डा फुटाइन्छ । यसरी बढी संख्यामा रहेको अण्डाहरुलाई फुटाएपछि महिनावारीको चक्र समयअनुसार हुने सम्भावना बढेर जान्छ । महिलामा महिनावारी राम्रो हुनेवित्तिकैसहजै गर्भाधान हुन सम्भावना पनि बढेर आउँछ ।

यो नै पोलिसिस्टिक उपचारको अन्तिम उपाय हो ।

अन्य समस्या

पोलिसिस्टिकको समयमा उपचार भएन भने मधुमेहको खतरा निकै बढी हुन्छ । त्यसैगरी मुटुसम्बन्धी रोगसँगै कोलेस्ट्रोलको समस्या हुने, यौनमा रुचि कम हुँदै जाने लगायतका खतरा पनि उत्तिकै हुने भएकाले पीसीओएसको उपचार समयमै गर्नु पर्छ ।

पीसीओएसमा इस्ट्रोजन हर्मोन बढ्दै जान्छ । इस्ट्रोजिन हर्मोन बढ्दै गयो भने पाठेघरको क्यान्सरको खतरा पनि उत्तिकै हुन्छ । त्यसैले पीसीओएसको लक्षण थाहा हुनासाथ समयमै उपचार गराइहाल्नु पर्छ । यदि यसलाई बेवास्था गरियो भने मधुमेह, मुटुरोग अनि क्यान्सरसम्मको खतरा उच्च हुन्छ ।

कसरी नियन्त्रण गर्ने ?

पीसीओएसलाई पूर्णतः निको पार्न सकिँदैन तर यसलाई नियन्त्रण गरेर राख्न सकिन्छ । यो निश्चित समय औषधी सेवन गरेर ठिक हुने रोग भने होइन । यसलाई जिन्दगीभर नियन्त्रणमा राख्न समय समयमा हर्मोन जाँच, सुगर जाँच, महिनावारी गराउने हर्मोनको जाँच, शारिरिक व्यायाम, खानपानमा नियन्त्रण जस्ता उपायहरु जीवनभरि नै अवलम्बन गर्नु जरुरी छ ।

अहिले यो समस्या लिएर अस्पताल आउनेको संख्या बढेसँगै नर्भिक अस्पतालले पीसीओएसलाई प्याकेजमै जाँच गर्ने गरेको छ । पीसीओएसमा के के हुनुपर्छ भनेर अन्तर्राष्ट्रिय स्तरको प्याकेज बनाएर विरामीलाई सेवा दिने गरेको छ । मुख्य रुपमा विरामीलाई निरन्तर चिकित्सकको निगरानीमा रहने, समय समयमा हर्मोन प्रोफाईल जाँच गराउने, शारिरिक व्यायाम गर्ने गर्दा समस्या कम हुँदै जान्छ । यो समस्यालाई नियन्त्रणमा राख्ने मुख्य उपाय भनेको खानपीनमा पथपरहेज नै हो । यो समस्या भएका महिलाहरुले मूलतः  मैदाबाट बनेका खानाहरु, दुधजन्ध उत्पादनहरु, रातो मासु, जंक फूड, सुगरयुक्त खानाहरु बार्ने हो भने यो रोगलाई धेरै हदसम्म नियन्त्रणमा राख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप