बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माघी पर्व अनि नुवाकोटको गोरु जुधाई, यसकारण जुधाइन्छ गोरु

बुधबार, ०१ माघ २०७६, १२ : १२
बुधबार, ०१ माघ २०७६

नुवाकोट । माघ १ अर्थात् माघे सङ्क्रान्ति । थारु जातीको विशेष चाड । आज विशेषगरी थारु जातीहरुले माघी पर्व बढो धुमधामले मनाउने गर्छन् । विशेषतः माघी पर्व थारु विशेष चाड भएतापनि यो पर्व नेपालका सबैजसो क्षेत्र, जातजाती तथा समुदायले मनाउने गर्छन् । परापूर्वक कालदेखिनै नेपाली समाजमा माघी पर्व मनाइँदै आएको छ । यसलाई माघे सङ्क्रान्ति समेत भन्ने गरिन्छ । माघे सङ्क्रान्तिको आफ्नै विशेषता रहेको छ ।

विशेषतः खाने पिउने र रमाइलो गर्ने चाडको रुपमा माघे सङ्क्रान्तिलाई लिइन्छ । ‘पुषमा पाक्य माघमा खाक्य’ पुसको अन्तिम दिन पकाएर माघको पहिलो दिन अर्थात् माघे सङ्क्रान्तिका दिन खाने माघीको प्रमुखः विशेषता हो । यस दिन विशेष गरी तिलको लड्यु, ध्यू, चाक्कु, पेडां, सख्खरखण्डा, तरुलका परिकार खाने चलन छ । त्यस्तै खिचडी पनि माघे सङ्क्रान्तिको विशेष परिकार हो । यी बाहेक ठाउँ, जाती तथा समुदाय विशेष विविध परिकारहरु समेत खाने गरिन्छ । 
विशेषतः खानपान, रमाइलो गर्ने चाडंको रुपमा लिइएको माघे सङ्क्रान्तिलाई पुरानो हिसाब किताव मिलान गर्ने र नयाँ कारोबार शुभारम्भ गर्ने दिनको रुपमा समेत लिने गरिन्छ । कुनै सामान तथा वस्तु उधारोमा खरिद गर्दा माघको भाखा राख्ने र चुक्ता गर्ने चलन छ । तर आजभोलि यो चलन विस्तारै हराउँदै गएको छ । जे होस् माघीको आफ्नै विशेषता छ । 

तर, नुवाकोटमा मनाइने माघीको भने छुट्टै विशेषता छ । खानपिनका अलवा नुवाकोटमा गोरु जुधाएर माघे सङ्क्रान्ति मनाउने चलन छ । नुवाकोटको तारुकामा गोरु जुधाएर माघे सङ्क्रान्ति मनाइन्छ । माघे सङ्क्रान्तिका अबसरमा यहाँ वर्षेनी गोरु जुधाइन्छ । गत वर्षहरुमा जस्तै यस वर्ष पनि यहाँ २२ हल गोरु जुधाइदै छ । 

नुवाकोट, माघी पर्व र गोरु जुधाइ प्रतियोगिताको ऐतिहासिक सम्बन्ध रहेको छ ।  नुवाकोट, धादिङ र रसुवामा नेपाल एकीकरण पूर्व नै गोरु जुधाउने प्रतियोगिता हुँदै आएको बताइन्छ। यद्यपी यो चलन कहिलेबाट शुरु भयो भन्ने ठोस इतिहास भने कतै भेटिँदैन । तर इतिहासलाई हेर्दा विसं १९८७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्मशेरले तारुकालाई विर्ता दिएको सन्दर्भसँग यो परम्परा जोडिएको नजिर छ ।
तत्कालीन बझाङी राजा विक्रम बहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामा घर गएको बेला भान्जालाई मनोरन्जन गराउन यस्तो प्रतियोगितको शुरुवात गरिएको पनि बताइन्छ । बाजागाजासहित जयपृथ्वीबहादुर सिंहलाई मनोरन्जन दिन स्वागत सत्कारस्वरुप माघे संक्रान्तिका दिन गोरु जुधाइएको किंवदन्ती छ । र त्यसै दिनदेखि प्रत्यक वर्ष माघे सङ्क्रान्तिका दिन तारुकामा गोरु जुधाइ कार्यक्रम हुँदै आएको भनाइ छ । 
 हाल यो कार्यक्रम तारुकामा मात्र नभएर नुवाकोट, धादिङ र रसुवामा समेत विशेष हुँदै गएको छ । पछिल्लो समय प्रतियोगितात्मक रुपमा चलाइन थालिएको यो गोरु जुधाइ कार्यक्रम नुवाकोटको पञ्चकन्या, रालुका, वेत्रावती र धादिङको धुवाकोटमा समेत आयोजना गरिन थालिएको छ । पछिल्लो समय नुवाकोटको गोरु जुधाइ कार्यक्रमलाई मेला, जात्राको रुपमा मात्र नहेरी पर्यटकीय महत्वको रुपमा हेरिनु पर्ने माग उठेको छ । त्यसैले सरकारले पनि भ्रमण वर्षको सवालमा यस गोरु जुधाइ कार्यक्रमलाई सास्कृतिक पर्यटन केन्द्रको रुपमा प्रवद्र्धन गर्ने नीति लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप