हत्याको आरोपमा श्रीमान् र सासु–ससुरा जेलमा, जिउँदै फर्किइन् महिला
‘उनी माइती गइरहेकी थिइन् । बाटोबाटै गायब भइन् । हामीले थानामा उजुरी दियौं । दुई दिनपछि पुलिसले एउटा शव भेट्यो । उनैको शव ठानेर म र मेरा आमा–बुवामाथि हत्याको मुद्दा चलाइयो । जेलमा बन्द गरियो । अपराध स्विकार गर्नका लागि पुलिसले हामीमाथि अत्यधिक कुटपिट गर्यो । तर अन्तिमसम्म हामीले त्यो उनको शव नभएको दाबी गरिरह्यौं । किनभने हामीलाई आशा थियो, एकदिन उनी पक्कै आउनेछिन् ।’
भारतको बिहार सुपौल जिल्लामा राघोपुर थाना क्षेत्रको बेरदह गाउँमा बस्ने रंजीत पासवान आफ्नी श्रीमतीलाई हेर्दै यसो भनिरहेको थिए । जसको हत्याको आरोपमा उनले आफ्ना वृद्ध आमा–बुवासँग ६ महिना जेलमा बिताउनु पर्यो ।
पुलिसको अनुसन्धान रिपोर्ट अनुसार सोनिया यादव सन् २०१८ मे २४ तारिखमा माइती जान घरबाट निस्किएकी थिइन् । त्यसपछि उनीबारे केही अत्तोपत्तो लागेन । दुई दिनपछि पुलिसले अज्ञात शव भेट्यो ।
सोनिया हराएको भन्दै परिवारका सदस्यले पुलिसलाई रिपोर्ट गरेका थिए । पुलिसले सोनियाका पिताको बयानको आधारमा शवको पहिचान सोनियाको रुपमा गरेको थियो । त्यसपछि श्रीमान् रंजीत, ससुरा विशुन देव पासवान र सासु गीता देवीमाथि हत्याको मुद्दा दर्ता गरे ।
सुपौलका तत्कालीन एसपी मृत्युंजय कुमार चौधरीले पत्रकार सम्मेलन गरेर ४८ घण्टाभित्र हत्याको रहस्य सुल्झाउने बताएका थिए ।
रंजीत र उनको परिवारसहित कुल ४ व्यक्तिमाथि हत्याको आरोप ठहर गरियो ।
मुद्दाको ट्रायल चलिरहेको थियो । पुलिसले चार्जशीट फाइल गरिसकेको थियो । साढे पाँच महिनापछि सन् २०१८ नोभेम्बर २१ मा सोनिया पुलिसको अगाडि उभिइन् ।
तर त्यतिबेला पुलिसले उनलाई सोनिया मान्न नै अस्विकार गर्यो । किनभने पुलिसले सोनियाको शव घरपरिवारलाई दिइसकेको दाबी गरिरहेको थियो ।
सोनियाले अदालतको ढोका ढक्ढकाइन् । थुप्रै पटक बयान दर्ता गराइन् र यसैको आधारमा रंजीत र उनका आमा–बुवाले करिब ६ महिनापछि जमानत पाए ।
अब अदालतको निर्णय आइसकेको छ । सुपौल सिभिल कोर्टमा अपर जिल्ला एवं सत्र न्यायधीश तृतीय रवि रंजन मिश्रले तीन अभियुक्तलाई हत्याको आरोपबाट मुक्त गरिदिए ।
अदालतले रंजित र उनको परिवारलाई ‘पीडित प्रतिकार योजना’ अनुरुप कम्तीमा ६ लाख रुपैयाँ क्षतीपूर्ती दिन आदेश दिएको छ । उक्त क्षतीपूर्ती अनुसन्धान अधिकारीको तलबबाट काटेर दिने आदेश दिइयो ।
रंजीत अब आफ्नी श्रीमती, बालबच्चा र आमा–बुवासँग बसिरहेका छन् ।
आखिर यत्तिका दिनसम्म कहाँ थिइन् सोनिया ?
सोनियाले आफ्नो बयानमा भनेकी छिन्ः
‘म माइती जान घरबाट निस्किएकी थिएँ तर बीच बाटोमा पुगेर कता जाने नै बिर्सिएँ । चिन्तित भएर म रुन थालेँ । मलाई एक महिलाले घर छोडिदिने आश्वासन दिएर आफ्नो गाडीमा बसालिन् र मलाई गाजियाबाद लिएर गइन् ।’
सोनिया थप्छिन्, ‘मलाई लगिएको ठाउँमा पहिलेदेखि नै १४–१५ जना महिला थिए । मलाई त्यहाँ पुर्याउने महिलाको नाम किरण देवी हो । उनकी छोरीको नाम कामिनी हो । उनीहरु महिला बेचबिखनको धन्धा गर्छन् । एउटै कोठामा सबै महिलालाई बन्द गरेर राख्थे ।’
‘जब म त्यहाँ बसेँ, थुप्रै महिला आए–गए । केही महिला त्यहाँबाट भाग्न सफल भए । उनीहरुले मलाई केही पनि गरेका थिएनन् र म चाहेर पनि त्यहाँबाट भाग्न सकिरहेको थिइनँ । किनभने त्यतिबेला मैले बच्चा जन्माएकी थिएँ ।’
सोनियाका अनुसार जब उनलाई बच्चा लिएर भाग्न सक्छु जस्तो लाग्यो तब उनले त्यहाँबाट भाग्ने योजना बनाउन थालिन् । यसबारे सोनिया भन्छिन्, ‘एक दिन केही बेरका लागि घरको ढोका खुलेको थियो । म बाहिर निस्किएँ । अरुको फोनबाट श्रीमानलाई फोन गरेँ । फोन स्विच अफ थियो । मानिसहरुलाई सोध्दै सोध्दै स्टेशनसम्म पुगेँ र त्यहाँबाट रेल चढेर यहाँ आएँ ।’
रंजितकी आमा
तर सोनियाको समस्या यत्तिमा मात्रै सिद्धिएन । जब उनी गाउँ पुगिन् तब परिवारका तीनजना जेलमा बन्द थिए ।
सोनियाका अनुसार उनले जेलमा श्रीमानलाई भेट्ने कोसिस गरिन् तर कसैले पनि भेट्न दिएनन् । त्यसपछि उनी सुपौल सदर थानामा पुगिन् तर त्यहाँ पनि पुलिसले उनको कुरा मान्न अस्विकार गरिरहेको थियो ।
रंजितका अनुसार अनिल कुमार सिंह नामका एक सामाजिक कार्यकर्ताले सोनियाको मद्दत गरे । उनलाई अदालतसम्म पुर्याए । उनकै प्रयासले उनीहरु दोषमुक्त हुन सके र न्याय पाउन सके ।
कुनै फिल्मको पटकथाजस्तो लाग्ने यो घटनाले पुलिसको कार्यशैलीमा गम्भीर प्रश्न उठाएको छ ।
नीरज प्रियदर्शी /बीबीसी