मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

शिक्षा नीति र उदारीकरणले निम्त्याएको व्यापारीकरणका विरुद्ध आन्दोलन गर्नुपर्नेछ : राजेश्वरी सुवेदी

बिहीबार, ०८ भदौ २०७४, १० : ४३
बिहीबार, ०८ भदौ २०७४

कक्षा ६ मा पढ्दादेखि नै मेरो मस्तिष्कमा राजनीति चेतनाले घर गरी सकेको थियो । विभिन्न कार्यक्रममा बाहिर हिँड्दा छिमेकीहरूले– तपाईंकी छोरी केटी मान्छे भएर पनि कति बाहिर जान दिएको भनेर बुबालाई भन्दा रहेछन् । बुबा राजनीतिक रूपले जनमोर्चामा सङ्गठित हुनुहुन्थ्यो । बुबामा राजनीतिक चेतना भएर नै हो, बुबा छोरीले राजनीति बुझोस् र सकेसम्म राजनीतिमै सक्रिय होस् भन्ने चाहनुहुन्थ्यो । जुन कुरा मलाई निकैपछि थाहा भयो । 

त्यसैले मेरो राजनीतिको पहिलो गुरु मेरा बुबा हुन् । हाम्रो घरमा बुबा जनमोर्चामा तर दिदीहरू भने माओवादीमा सङ्गठित हुनुहुन्थ्यो । त्यसैले हामीलाई समाजले हेर्ने तत्कालीन दृष्टिकोण सायद त्यति सकारात्मक थिएन । तर त्यसको परिणाम यो पनि होइन कि उनीहरूले हामीलाई कहिलै साथ दिएनन् । 
बुबाको लामो राजनीतिक जीवन वामपन्थी आन्दोलनमा बितेको हुनाले उहाँमा छोरीहरूलाई पढाउनुपर्छ भन्ने स्पष्ट सोच थियो । जसको परिणाम स्वरूप मैले पढ्न पाएँ । हाम्रो घरदेखि अलिक पर एउटा सुकुम्बासी बस्ती थियो । त्यहाँको सामाजिक माहौल जल्यलै उराँठ जस्तो देखिन्थ्यो । तर हाम्रोतिर जहिल्यै गुल्जार । त्यहाँको सुकुम्बासी बस्तीमा बुबा कहिले के पर्यो भनेर त कहिले के पर्यो भनेर जाने गर्नुहुन्थ्यो । 

मलाई आज पनि सम्झना छ, त्यहाँका मान्छे गरिब र हाम्रोतिरका मान्छे धनी कसरी भए भन्ने प्रश्न मेरो मनमा लामो समयसम्म रहिरह्यो । धनी र गरिब बीचको रेखा मेटाउन पर्छ भनेर बुबा र उहाँका साथीहरू बारम्बार छलफल गरिरहनुहुन्थ्यो । मैले राजनीतिको पहिलो कखरा त्यहीँ सिकेको हो ।
त्यही कखराले मलाई धनी र गरिब बीचको खाडल पुर्न आफ्नो जीवन लगाउनु पर्छ भन्ने महशुस भयो । सानो छँदा धेरै कुरा स्पष्ट भइसकेको हुँदैन । मलाई लाग्छ निकै थोरै मानिस होलान्, जसले राजनीतिका ठेली पढेर राजनीतिमा प्रवेश गरेका होऊन । मैले राजनीतिको दर्शन, आचरण र यसको महत्वबारे यही आन्दोलनमा लागेर सिकेकी हुँ । जहाँ म अहिले सक्रिय छु । 

राजनीतिलाई सिक्ने क्रम मैले विद्यार्थी आन्दोलनबाट थालेकी हुँ । जहाँ मैले जीवनका १५ भन्दा धेरै वर्ष बिताएँ । आज त्यही विद्यार्थीहरूको सङ्गठन अखिल (क्रान्तिकारी)को सम्मेलन चल्दैछ, जहाँ म सङ्गठित छु । तर यी १५ वर्षमा मैले सानो छँदा सुनेको वैज्ञानिक र जनवादी शिक्षा जसलाई व्यवहारवादी शिक्षा पनि भनिन्थ्यो, आज पनि त्यही सुनी रहेकी छु । जबकि हाम्रै पार्टीको नेतृत्व कति पटक शिक्षा मन्त्रालयको नेतृत्व गर्न पुगिसक्यो । 

त्यति बेला मैले सुनेको समानताको नारा जसका लागि माओवादी पार्टीले बन्दुक बोकेर विद्रोह गर्यो । धेरै हदसम्म सफलता समेत प्राप्त गरेको थियो । आज ती अधिकांश विषय फेरि उल्टो गतिमा पछाडि फर्कंदै छन् । हामी मुकदर्शक भएका छौँ । हामी अर्थात् विद्यार्थी सङ्गठन । जसले समाजको चेतनालाई आलोचनात्मक ढङ्गले सोच्ने, प्रश्न गर्ने र सङ्घर्ष चलाउने गर्छ । त्यो सङ्गठन के हामीले सोचेको सङ्गठन भएको छ ? भनी आफैलाई प्रश्न गर्नुपर्ने भएको छ । 
प्रश्नको औँला म मेरो नेतृत्वतिर पनि उठाउन सक्छु तर एक पटक त्यो औँला मैले मैतिर फर्काउनुपर्ने भएको छ । हामीले पढ्ने ०३६ सालको विद्यार्थी आन्दोलन र आजको विद्यार्थी आन्दोलन जसले सङ्गठन चन्दा सङ्कलनका लागि सक्रिय बनाइराखेको छ, त्यसप्रति प्रश्न उठाउनुपर्ने भएको छ ।

हामीले प्रश्न, हाम्रो सङ्गठनको प्रणाली, हाम्रो सङ्गठनको सोच, हाम्रो सङ्गठनको दिशा र हाम्रो देशको विद्यार्थी आन्दोलन तथा वास्तविक अर्थमा शिक्षा प्रणालीतर्फ गर्नुपर्ने भएको छ । विद्यार्थी आन्दोलन, जसले देशमा प्रजातन्त्र र लोकतन्त्रका लागि लामो सङ्घर्ष गर्यो । आज त्यो आन्दोलन शैक्षिक व्यापारीकरण, शिक्षा नीति, पाठ्यक्रम तथा समान र सीपमूलक शिक्षाका लागि गर्नुपर्ने भएको छ । 

विश्वव्यापी रूपमा शिक्षाको व्यापारीकरणका विरुद्ध आन्दोलन उठेका छन् । विश्वव्यापी रूपमा शिक्षाबाट उत्पादन गर्ने जनशक्ति कस्तो हुने भनेर बहस उठेका छन् । विश्वभरी भूमण्डलीकरणले हाम्रो शिक्षामा पारेको प्रभावका बारेमा आन्दोलन उठेका छन् तर हामी भने मौन छौँ । जुन बेला हामीले हाम्रो शिक्षा नीति, पाठ्यक्रम र उदारीकरणले निम्त्याएको शिक्षाको व्यापारीकरणका विरुद्ध आन्दोलन गर्नुपर्ने थियो, हामी मौन छौँ । 

यही मौनताको बीच अखिल क्रान्तिकारीको भइरहेको राष्ट्रिय सम्मेलनले यी विषयमा बहस सिर्जन गर्न सक्नुपर्छ । हाम्रो सङ्गठनमा महिलालाई हेर्ने दृष्टिकोण अन्य पार्टीहरूको तुलनामा निकै सहज र सकारात्मक रहे पनि हाम्रो बीचमा पनि पितृसत्ताले निकै जरो गाडेको छ भन्नेमा मलाई शङ्का छैन । 

पितृसत्ताको जाँतोमा पिल्सिर जीवन गुजारा गरिरहेका महिलाले हिजो जसरी खेतमा हलो, हातमा बन्दुक र गाउँमा सत्ता खेलाएर विद्रोह गरेर आए ती अधिकांश महिला आजको शान्तिपूर्ण तर डरलाग्दो समयमा फेरि त्यही ठाउँमा पुगिसकेका छन् । जहाँबाट उनीहरू हिजो उठेका थिए । हिजोको सामन्तवाद र पितृसत्ता आजको शून्यतामा झनै दरिलो गरी ‘के गरिस् त खै ?, तँ जाबीले के गर्न सक्छेस् !’ भन्ने शैलीमा टाउको उठाइ सकेको छ । 

तर हामी मौन छौँ । हाम्रो विद्यार्थी आन्दोलन मौन छ । हाम्रो राजनीति मौन छ । के यो मौनताका बीच हुँदै गरेको अखिल (क्रान्तिकारी)को सम्मेलनबाट हामीले नयाँ सोच, दिशा र आन्दोलन दिनुपर्दैन ? कति साथीहरूलाई लाग्न सक्ला यति धेरै आन्दोलन गरिसक्यौँ, अब पनि कति आन्दोलनको कुरा गरेको होला । तर आन्दोलन सधैँ सडकमा हुँदैन । आन्दोलन मष्तिष्कमा, चेतनामा, सोचमा, टेबुलमा, सडकमा जहाँ पनि हुन सक्छ । मात्र त्यसका लागि हामीसँग हाम्रो उद्देश्य जिउँदो हुनु पर्छ ।

म कुरा गर्दै थिएँ हिजो सेनामा, सङ्गठनमा, आन्दोलनमा लागेका महिलाका बारेमा । ती कहाँ छन् र तीनको वास्तविक अवस्था के छ भनेर के पार्टीले, विद्यार्थी आन्दोलनले चिन्ता गर्यो ? मलाई लाग्छ तिनीहरूको अवस्था र उदाहरण हेर्न कुनै गाउँ, कुनै गल्ली छिरिराख्नु पर्दैन । 

हामी माओवादीहरूले त्यसको रूप हाम्रो केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिमा हेरे पुग्छ । त्यसैले अखिल (क्रान्तिकारी)को यो सम्मेलनले पार्टीको गल्तीलाई पुनः सुदृढीकरण गर्ने होइन कि पार्टीलाई नयाँ उदाहरण पेश गर्ने गरी अगाडि बढ्न आवश्यक छ । 

यो सम्मेलनले शैक्षिक आन्दोलनको, सङ्गठात्मक ढाँचाको (जहाँ महिलालाई सक्रिय रूपमा सहभागी गराउने गरी), पाठ्यक्रमको, शैक्षिक नीतिलगायतका विषयहरूमा बहस र आन्दोलन निम्त्याउने गरिको काम गरोस् भन्ने शुभकामना दिन चाहन्छु । 

लेखक परिचय ः राजेश्वरी सुवेदी अखिल (क्रान्तिकारी) की सचिव तथा छात्रा विभाग प्रमुख हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश्वरी सुवेदी
राजेश्वरी सुवेदी

राजेश्वरी सुवेदी अखिल (क्रान्तिकारी) की सचिव तथा छात्रा विभाग प्रमुख हुन् । 
 

लेखकबाट थप