श्याखको लेख
चाङ् छङ्सुन
कक्षामा पढाउँदा अध्यापक मिखाइको अनुहार सधैंजसो भावशून्य नै रहेको देखिन्थ्यो । “श्याख, तिमीले लेख लेखिसक्यौ त ?” अध्यापक मिखाइले कक्षामा विद्यार्थीमध्येका श्याखसँग सोधे । पहेंलो अनुहारबीच थ्याच्च नाक, नाकमाथि गोलगोल चश्मा, चश्माभित्रबाट झिमझिम गरिरहेका साना आँखा, आँखामुनि पोका जस्तै झुण्डिएका गाला । अध्यापक मिखाइको भावशून्य व्यक्तित्व तरोताजा र सहज देखिने खालको थिएन ।
अध्यापकले सोधेपछि श्याम हडबडायो । हत्तपत्त हात प्याण्टका खल्तीमा घुसार्यो र त्यहाँ भएको कागजको टुक्रा माडिरह्यो । यसै पनि उसको हात धेरैजसो खाली हुँदैनथ्यो । “ए तिम्रो ध्यान फेरि अन्तै कतै गएजस्तो छ नि ? ” अध्यापक मिखाइ अगाडि नै उभिन आइपुगे र भने, “हात देखाउ त ” । श्याख अनकनायो । उसका आँखामा डर भरिएर आयो । अनुहार सोहोरियो । अध्यापकले आप्नो दुब्लो पातलो हात अघि बढाएर श्याखको खल्तीमा छिराए । खल्तीको पुरै तलासी लिए । माडिएको रद्दी कागजको टुक्राबाहेक अरु केही फेला परेन । अध्यापकले झोक्किदै ती कागजका टुक्रा डस्टविनतिर फ्याँकिदिए र व्यङ्ग्य गर्दै भने – “ठिकै भयो तिम्रो खल्तीमा त्यस्तो केही भेटिएन । नत्र म आज छोड्नेवाला थिइनँ !”
अध्यापक फन्किदै अगाडिको शिक्षण मञ्चमा पुगे र त्यतैबाट श्याखलाई आदेश दिए – “ल आफ्नो निबन्ध पढेर सुनाउ ।” श्याख अलि अनकनाउँदै संकोच मान्दै उठ्यो । नोटबुक खोलेर डेस्कमाथि राख्यो । बोधिसत्वको जस्तै गम्भीर अनुहार बनायो र एक एक अक्षर गरी पढ्न लाग्यो । पढाइको आवाज बनायो र एक एक अक्षर गरी पढ्न लाग्यो । पढाइको आवाज अलि मधुरो थियो । गर्मीमा कानमा लामखुट्टे भुनभुनाएजस्तै ।
“मलाई मेरो बाको माया लाग्छ ।” आवाज एक्कासी उच्च पार्दै पढ्यो “मेरा बा प्रौढ हुनुहुन्छ । वहाँ धेरै अग्लो हुनुहुन्छ, मोटो पनि हुनुहुन्छ । बहाँ कारखानामा एउटा वर्कसपको नाइके काम गर्नुहुन्छ । मलाई मेरा अहिलेका बाको धेरै माया लाग्छ । पहिलेका बाको त्यस्तो माया लाग्दैन ।” अध्यापक मिखाइले आँखा झिमझिम गर्न छोडे । विद्यार्थीका लेख सुन्दा आँखा झिमिक्क पनि नगरी ध्यान दिएर सुन्ने उनको बानी थियो । श्याखले आँखा कर्काएर मिखाइतिर हेर्यो र लेख पढ्दै गयो ।
“दुई वर्ष अगाडिको कुरा हो । त्यतिबेला म पहिलेकै बासित थिएँ । बा मोटाएर मासुको लोथडोजस्तै हुनु हुन्थ्यो । दिनभरी खेल्ने र खानेबाहेक अरु कुनै काम थिएन । वहाँसित खेल्ने वहाँजस्तै वहाँका दौतरीहरु थिए । आमालाई खाना बनाउने खुवाउने र भाँडामाझ्ने कामबाट एक मिनेट फुर्सद थिएन । त्यति गर्दा पनि बा कहिल्यै जस दिनु हुन्नथ्यो । कहिलेकाहीँ खाँदाखाँदै मात्तिएर आमालाई कुट्नुहुन्थ्यो । घरको काम सघाउन त वहाँले जानेकै थिएन । घरमा ५/६ ओटा झ्याउँकिरी पालेको थियो । जाडो मौसममा चाहिँ धेरैजसो समय त्यही झ्याउँकिरी हेरेर बसिरहनु हुन्थ्यो । मेरो पढाइ के छ कस्तो छ कहिल्यै केही सोध्नुहुन्नथ्यो । वहाँको व्यवहार देखेर म मनमनै दिक्क हुन्थेँ । केही भनूँ भनूँ लाग्थ्यो, भन्न सक्याथिइनँ ।”
श्याखको धाराप्रवाह पढाइ सुनेर अध्यापक मिखाइ बिस्तार बिस्तार टाउको हल्लाउन थाले । यो देखेर श्याख अरु हौसियो । आहा ! अध्यापकलाई मेरो लेख मन पर्यो । उनी दङ्ग परे !! अहा कति मज्जा !!! खुसीले श्याखको आवाज अरु उँचो भयो । ऊ धाराप्रवाह किसिमबाट पढ्दै गयो ।
“बासित एउटा जब्बरको झ्याउँकिरी थियो । त्यसका तीखा तीखा दुइटा दाँत मुखबाहिर निस्केका थिए । एक पटक बा छिमेकीको झ्याउँकिरीसित आफ्नो झ्याउन्किरी जुधाउन बस्नुभयो । बाको झयाउँकिरीले छिमेकीको झ्याउँकिरीलाई एकै पटकमा उचालेर फ्याँकिदियो । छिमेकीको झ्याउँकिरी डराएर छेउ लाग्यो । झीं झीं गर्दै बाको झ्याउँकिरीले आफ्नो जीत मनायो । जीतको त्यस गीतले चारै दिशा गुञ्जायमान भयो ।”
“के रे ? के रे ?” अध्यापक मिखाइले आँखीभौं उचाल्दै अचानक रोके र भने, “तिम्रो त्यो पछिल्लो वाक्य एक पटक दोहोर्याउ त ।”
“उसको जीतको गीतको आवाजबाट चारै...........चारै” श्याख अलमलियो । टेबलमाथिको खुला नोटबुकमा आँखा अड्याएर श्याख भक्भकाउँन थाल्यो । उसको आवाज स्पष्ट हुन सकेन । “उसको आवाज स्पष्ट हुन सकेन । “किन ? त्यो तिमीले नै लेखेको लेख होइन र ? आफैंले लेखेको लेख पढ्न पनि किन त्यस्तो अलमल ?”
श्याख निलो भयो । उसको मुखबाट बोली फुटेन ।
“खै हेरुँ” मिखाइ कदम बढाएर श्याखको अगाडि पुगे र नोटबुक उठाएर हेर्न लागे । श्याख मूर्तिजस्तै भयो । उसले आँखा उठाएर कतै हेर्न सकेन । मिखाइ एकछिन् वाल्ल परे । अनि एक्कासि हा हा हा गर्दै खित्का छाडेर हाँसे र भने — “गजव ल गजब ! मिस्टर श्याख, मैले तिम्रो प्रतिभालाई मानें । तिमी त एउटा सफल अभिनेता नै रहेछौ ! खप्पीस अभिनेता ! तिमीलाई बधाई !! ” मिखाइले नोटबुक दुबै हातले माथि उठाए र क्लासभरिलाई देखाए । नोटबुकका पाना पुरै खाली थिए । श्याखले त्यहाँ एक अक्षर पनि लेखेको थिएन ।