बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पठनसंस्कृतिलाई जीवनशैलीमा बदल्न किताब जात्रा

मङ्गलबार, २९ पुस २०७६, १७ : ५०
मङ्गलबार, २९ पुस २०७६

पठन संस्कृतिको बृहत्तर विकासको उद्देश्य राखी १८ माघमा ‘किताब जात्रा २०२०’ हुने भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा हुने एक दिने जात्रा किताब यात्रा फाउन्डेसनको आयोजना र अनलाइनमार्फत घरमै किताब पु¥याइरहेको किताब यात्रा प्रा.लि.को सह–आयोजनामा हुन लागेको हो । 

पठन संस्कृतिलाई जीवनशैलीमा बदल्ने अभियान चलाउन फाउन्डेसनको स्थापना भएकाले त्यसैअनुरुप किताबलक्षित महोत्सव आयोजना गरिएको अध्यक्ष ऋषिराम अधिकारीले बताए ।
 ‘राज्यको समूल संस्कृतिमा पठन संस्कृतिले ठूलो प्रभाव पार्छ । त्यसलाई मध्यनजर गरेर पठनलाई जीवन–व्यवहारमा जोड्ने अनेकन अभियान गर्दैछौँ,’ उनले भने, ‘किताब जात्रा त्यसमध्येको अभियान हो । जसले पठन संस्कृतिको सैद्धान्तिक विमर्शमात्र गर्दैन, त्यसलाई व्यवहारसँग जोड्दै जीवनमा त्यसको महत्व स्थापित गर्न सघाउ पुर्याउँछ ।’

जात्रामा पठन संस्कृतिका विविध आयाममाथि तीन सत्रमा बहस हुने उनले जानकारी दिए । जसमा साहित्य, कला, उद्यम, राजनीतिलगायत क्षेत्रमा पठनले कसरी प्रभाव पार्छ भन्ने सन्दर्भमा सम्बन्धित क्षेत्रमा व्यक्तित्व सहभागी हुँदैछन् । जात्राका संयोजकसमेत रहेका अधिकारीले भने, ‘समाजमा अझै शैक्षिक योग्यता मापनका लागि वा साहित्यिक लेखनको उर्जाका लागि मात्रै पठन आवश्यक छ भन्ने मान्यता पाइन्छ । तर हरेक क्षेत्रमा पठनले गहिरो प्रभाव पार्छ । त्यो प्रभाव कस्तो हुन्छ भन्ने अनुभूति बहसमा सहभागी हुने विविध क्षेत्रका व्यक्तित्वबाट सुन्नेछौं । जसले पठन संस्कृतिको प्रचलित आयामलाई बदल्नेछ भन्ने विश्वास हाम्रो छ ।’

बहसमा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’, लेखक तथा पत्रकार नारायण वाग्ले, सुधीर शर्मा, आख्यानकार नयनराज पाण्डे, बैंकर अनिल केशरी शाह, अशोक शेरचन, कलाकार दयाहाङ्ग राई, कवि मनु मन्जिल, सरस्वती प्रतिक्षा, पत्रकार टिकाराम यात्रीलगायत विविध क्षेत्रका व्यक्तित्व वक्ताका रूपमा सहभागी उनले बताए । 

जात्राको काव्य शिविर सत्रमा गजलकार बाबु त्रिपाठी, कवि नवराज पराजुलीलगायतको प्रस्तुति रहने फाउन्डेसनले जानकारी दिएको छ ।
साहित्यकार, लेखक, कलाकार, प्रकाशनगृहका प्रतिनिधि, कर्पोरेट क्षेत्रका व्यक्तित्व, उद्यमी, राजनीतिकर्मी, विद्यार्थीलगायतको उपस्थितिको अपेक्षा गरिएको जात्रामा पाँच हजारभन्दा बढीको सहभागिता हुने आयोजकको अनुमान छ । निःशुल्क सहभागी हुन सकिने जात्रामा किताबजात्रा डटकममार्फत अग्रिम दर्ता गरेर प्रवेश कार्ड प्राप्त गर्न सकिनेछ । सोही दिन उपस्थित भएर कार्यक्रमस्थलमै पनि प्रवेश कार्ड प्राप्त गर्न सकिने संयोजक अधिकारीले बताए । 

जात्रामा नेपाली र विदेशी गरी सयभन्दा बढी प्रकाशनका किताब विशेष छुटसहित उपलब्ध हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप