शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेरो छोरा ट्रायलमा ४ पटक फेल भयो, पीएसओसँग नक्कली लाइसेन्स थियो : दिनानाथ शर्मा

मङ्गलबार, २९ पुस २०७६, १७ : १०
मङ्गलबार, २९ पुस २०७६

काठमाडौं । राष्ट्रियसभामा नेकपाका तर्फबाट संसदीय दलका नेता दिनानाथ शर्माले नक्कली लाइसेन्सका कारण सवारी दुर्घटना बढेको बताएका छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको दीगो विकास र सुशासन समितिको बैठकमा बोल्दै सांसद शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले हेर्न चाहने हो भने नक्कली लाइसेन्सधारी १५/२० जना युवा समितिमा ल्याउन सक्ने बताए ।

उनले आफ्नो जेठो छोराले लाइसेन्स लिन ४ पटक प्रयास गर्दा पनि ट्रायल फेल भएको बताउँदै आफ्नो पूर्व-पीएसओसँग भने गाडी चलाउन नजानेपनि सवारी चालक लाइसेन्स रहेको बताए । उनले भने, ‘अहिले धेरै सडक दुर्घटना फर्जी लाइसेन्स लिने चालकका कारण भएको छ । मेरो जेठो छोराले लाइसेन्स लिन ४ पटक सम्म गाडीको ट्रायल दियो तर फेल भयो । तर मेरो पहिलाका पिएसओसँग लाइसेन्स थियो, उसले गाडी चलाउन जानेको थिएन । जनमुक्ति सेनाबाट आएको पीएसओले गाडी चलायो, तीन चार ठाउँमा ठोक्यो, पैसा पनि उसैले तिर्‍यो ।’

सांसद शर्माले आफ्नो छरछिमेकमै ५० जना नक्कली लाइसेन्स भएका व्यक्ति देखाउन सक्ने भन्दै सरकारी तबरबाट ड्राइभिङ स्कूल सञ्चालन गर्न मन्त्री नेम्वाङलाई आग्रह गरे ।  उनले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयले ड्राइभरलाई तालिम दिने स्कूल बनाउनुपर्छ मन्त्रीज्यू । त्यो स्कूलबाट पास भएका व्यक्तिहरुलाई यातायात व्यवस्था विभागले लाइसेन्स दिने व्यवस्था भयो भने मात्रै सडकमा परिवर्तन आउन सक्छ ।’

छोरीको बिहे गर्नुपर्‍यो, यातायात व्यवस्था विभाग सरुवा पाउँ

सांसद शर्माले यातायात व्यवस्था विभागमा सरुवा मिलाउन कर्मचारी नेताहरुको घर घर धाउने गरेको सुनाए । उनले भने– ‘छोरालाई इन्जिनियरिङ पढाउनुपर्नेछ, छोरीको बिहे गरिदिनु छ, यातायात व्यवस्था विभागमा सरुवा मिलाइदिनुपर्‍यो भन्दै दर्जनौ साथीहरु हामीकहाँ आउँछन् । नेताहरुकहाँ उनीहरु सिफारिसको लागि किन आउँछन् ? यातायात व्यवस्था विभागमा के छ ? अमेरिकामा लाइसेन्स भएका पाँच दश बसेका बाउछोरी यहाँ आएपछि उनीहरुले पनि लाइसेन्स लिनुपर्ने । तिम्रो लाइसेन्स तुरुन्त बनाइदिन्छु भन्छन् बाउछोरीको ८० हजार रुपैयाँ लियो । बिचौलिया मान्छेबाट बुझे अनि लाइसेन्स बनाएर दिए । उसले लाइसेन्स पनि लिएर गयो तर पछि नवीकरण गर्न जाँदा त्यो लाइसेन्स फर्जी रहेछ । फर्जी भएको भन्दै फेरि पैसा थप अर्को बनाइदिन्छु भन्ने । यसकारण यातायात व्यवस्था विभागलाई गुणात्मक रुपमा परिवर्तन गर्नुपर्छ ।’

यातायात व्यवस्था विभागमा सरुवा मिलाइदिनुस् भन्दै आउने कर्मचारीलाई आफूले हप्काएर पठाएको सांसद शर्माले बताए । उनले समितिको बैठकमा सहभागी मन्त्री नेम्वाङलाई यातायात व्यवस्था विभागमा नीतिगत सुधार गर्नका लागि आग्रह गरे । 

उनले स्थानीय तहमा जनप्रतिनिधिलाई डोजर किन्न रोक लगाउन समेत माग गरे । डोजर चलाउने तरिका नभएको बताउँदै सडक सुरक्षा विधेयक छिट्टै ल्याउन माग समेत गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप