शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीबाट चोरी भएको १ करोड कैलालीमा भेटियो

मङ्गलबार, २९ पुस २०७६, १६ : ३२
मङ्गलबार, २९ पुस २०७६

काठमाडौँ । भारतको नयाँदिल्लीबाट चोरी गरी ल्याएको ६५ लाख भारतीय रुपैयाँ कैलाली प्रहरीले बरामद गरेको छ । जसको नेपाली रुपैयाँ १ करोड ३ लाख हुन आउँछ । 

बरामद रकमसँगै प्रहरीले तीन जनालाई समेत पक्राउ गरेको छ । यस्तै उनीहरूबाटै थप एक लाख नेपाली रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ । 

बाजुरा बूढीगङ्गा नगरपालिका–१, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापा पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार जहरसिंह र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए ।

मंसिर ४ गते नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट उनीहरूले उक्त रकम चोरी गरेर फरार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी बस्नेतले बताए । 

चोरी भएको रकमबारे भारतीय राजदूतमार्फत नेपाल प्रहरीलाई पत्रमार्फत जानकारी गराइएको थियो । सोही आधारमा कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्डो खनेर टिनको बाकस गाडिएको अवस्थामा रकम फेला परेको हो ।

पक्राउ परेका तीनै जनालाई कैलाली प्रहरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप