शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पैदलयात्रुलाई बाटो काट्न सिकाउँदै सडकमा ट्राफिक (फोटोफिचर)

जथाभावी बाटो काट्नेलाई अब सडकमै कक्षा : ट्राफिक प्रहरी
बुधबार, २३ पुस २०७६, ०८ : ३०
बुधबार, २३ पुस २०७६

काठमाडौँ । जथाभावी बाटो काट्दै हुनुहुन्छ ? सावधान ! ट्राफिक सचेतना कक्षा लिनुपर्ला ।

ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काटिरहनुभएको छ, तोकिएको जेब्राक्रसबाट बाटो काट्नुभएको छैन, आकाशे पुल प्रयोग गर्नु भएको छैन भन्ने अब सचेत रहनुहोला ।

ट्राफिक प्रहरीले अब तपाईलाई त्यतिकै छाड्नेवाला छैन । अब पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेलेजस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्नेछ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालका अनुसार  पैदलयात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे त्यस्ता बटुवाले २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था आजदेखि शुरू गरेका हौँ ।

एसएसपी ढकालले भने, ‘सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ । साथै, उनीहरूकै माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिनेछ ।’

‘ट्राफिक नियम पालना नगरी जेब्राक्रस र आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रीलाई ट्राफिक नियमबारे सचेतना कक्षा हाललाई भोटाहिटी र वीर अस्पताल अगाडीमा सञ्चालन गरेका छौँ,’ महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले भने, ‘बाटो काट्दा नियम पालना नगर्नेलाई तत्काल सोही स्थानमै २० मिनेटको कक्षा दिनेछौं । आजमात्रै करिव १,००० पैदलयात्रीलाई सचेतना कक्षा दिइएको छ ।’

ट्राफिक प्रहरीले उपत्यकामा दुर्घटनामा पैदलयात्रीको धेरै ज्यान जान थालेपछि नै ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पैदलयात्री सुरक्षा अभियान सञ्चालन गरेको हो । 

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीले जथाभावी बाटो काट्दा हुने सवारी जाम हटाउनको लागि पनि यो अभियान प्रभावकारी देखिने प्रवक्ता श्रेष्ठले भने ।

यस आर्थिक वर्ष मात्रै उपत्यकामा ७६ मध्ये ३२ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको छ । गत वर्ष भने २५४ मध्ये ९३ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप