मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्ध गोलीकाण्डमा नयाँ ट्वीस्ट : गुण्डा नाइकेलाई घरमा समातेर डाँडामा लगेर गोली प्रहार !

घुँडामा पेस्तोल राखेर हानिएको थियो लामामाथि गोली
सोमबार, २८ पुस २०७६, १५ : ०६
सोमबार, २८ पुस २०७६

काठमाडौँ । आइतबार बौद्धको जोरपाटीस्थित जम्बुडाँडामा प्रहरीले गुण्डा नाइके भनेर चिनिएका सिन्धुपाल्चोकका विष्णु लामालाई गोली चलाएको प्रकरणमा नयाँ ट्वीस्ट आएको छ ।

लामाले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाइएको प्रहरीले दावी गरेपनि हाल उपचार गराइरहेका लामाले भने प्रहरीले घरमा समातेर योजनाबद्ध रुपमा जम्बुडाँडा लगेर गोली हानेको दावी गरेका छन् ।

सोमबार रातोपाटीसँगको कुराकानीमा लामाले यस्तो दावी गरेका हुन् ।

लामालाई महानगरीय प्रहरी वृत्त, बौद्धबाट खटिएका प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा खटिएको टोलीले गोली हानेर नियन्त्रणमा लिएको थियो ।

गोली लागेर घाइते भएका लामा राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् । अस्पतालमा महानगरीय प्रहरी वृत्तका सादा पोसाकमा खटिएका एक जवानले लामाको निगरानीमा छन् ।

लामाको दुवै खुट्टामा गोली लागेको छ । लामाको लागि प्रहरीले एउटा गोली खर्चेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले नै लामामाथि एउटा गोली खर्च भएको बताए ।

घरबाटै समातिएका थिए लामा

प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको भनिएका लामालाई सादा पोसाकमा पुगेको प्रहरी टोलीले बौद्धस्थित मेडिकल कलेज नजिकै रहेको कोठाबाट समातेको पाइएको छ । 

ट्रमा सेन्टरमा उपचार गराइरहेका लामाले रातोपाटीसँगको कुराकानीमा भने, ‘सादा पोसाकमा पुगेको टोलीले ३ बजे घर नजिकैको खाजापसलमा खाजा खाइरहेको बेला मलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।’

घरबाट नियन्त्रणमा लिने बित्तिकै हत्कडी लगाएर ट्याक्सीमा राखिएको लामाले बताए । ‘२ घण्टा बौद्ध आसपासमै ट्याक्सीमा घुमाएर ५ बजेतिर मात्र जम्बुडाँडा पुर्याइएको थियो,’ लामाले दावी गरे ।

‘त्यतिबेला अँध्यारो भएको थियो । कोही कसैले देख्दैनथे । मलाई ट्याक्सीबाट झर्न आग्रह गरे,’ लामाले अगाडि भने, ‘ट्याक्सीबाट झर्ने बित्तिकै घुँडामा पेस्तोल राखेर गोली हानियो । दुवै खुट्टामा लाग्यो ।’

गोली लाग्ने बित्तिकै लामा भुँइमा ढले । लगत्तै प्रहरीले उनलाई अस्पताल लैजानुको साटो बौद्ध वृत्त लगेको थियो । त्यसपछि मात्रै लामालाई उपचारको लागि भन्दै ट्रमा सेन्टर पुर्याएको थियो ।

लामाले भने, ‘नजिकै प्रहरी भ्यान राखिएको रहेछ । त्यही भ्यानमा राखेर बौद्ध वृत्तमा ल्याइयो । मलाई त्यसपछि अर्को प्रहरी भ्यानमा राखेर अस्पताल ल्याइएको हो ।’

लामाको भनाइ जस्ताको तस्तैः–

६ महिनाअघि भारतबाट नेपाल आएको हुँ । म माथि जुन आरोप छ, त्यही घटनालाई सुल्झाउन नेपाल आएको हुँ । नेपाल भन्दा बढी भारतमै बस्दै आएको छु ।

एक वर्षअघि सिन्धुपाल्चोककी १७ महिने बच्चीको चिर्पटले लागेर मृत्यु भयो । जानी–जानी हानेको होइन् । अरुसँग झगडा परेको थियो । अरुलाई हान्दा बच्चीलाई लागेको हो ।

बच्चीको घर र मेरो घर नजिकै हो । बच्चीको परिवारसँग सल्लाह गरेर नै नेपाल आएको थिएँ । सुनेको छु, बच्चीको परिवारले मविरुद्ध सिन्धुपाल्चोक प्रहरीमा उजुरी दिएको ।

त्यहि भएर म सिन्धुपाल्चोक पनि गएको थिइँन । काठमाडौँ बसेरै नै केस सल्टाउँछु भन्दै बसेको थिए । बच्चीको परिवारसँग कुराकानी भइरहेको थियो ।

अर्को कुरा – मेडिकल कलेजमा झगडा पर्दा खुकुरी हानेको कुरा चाहिँ सत्य होइन । झगडा चाहिँ भएको हो । कुटाकुट भएको हो । खुकुरी हानेर कसैलाई घाइते बनाएको छैन् ।

शनिवार अचानक प्रहरी आयो । लिएर पनि गयो । ठिकै छ । म माथि गोली नै हान्नुपर्ने कुनै कारण थिएन । मैले प्रहरीमाथि आक्रमण पनि गरेको छैन् ।

दिनभरी घर नजिकै साथीभाइहरुसँग थिए । मलाई नियन्त्रणमा लिनुअघि म मेडिकल कलेज नजिकै एउटा खाजापसलमा खाजा खाइरहेको थिए ।

सादा पोसाकमा आएको प्रहरीले मलाई देख्ने बित्तिकै तपाईविरुद्ध ज्यान मार्ने मुद्दामा जाहेरी परेको छ । हामीसँग हिँड्नु भन्नुभयो ।

उहाँहरुसँगै गएँ । मेरो हातमा हत्कडी लगाइएको थियो । ट्याक्सीमा चढाए । करिब–करिब २ घण्टाभन्दा बढी बौद्ध आसपास क्षेत्रमा ट्याक्सीमै घुमाए ।

५ः३० बजेतिर मलाई ट्याक्सीबाट निकालियो । त्यतिबेला लोकेशन जम्बुडाँडाको नयाँबस्ती थियो । रात पर्न लागेको थियो । कोही कसैले देख्दैनथे ।

ट्याक्सीबाट झर्ने बित्तिकै मेरो घुँडामा पेस्तोल राखियो । लगत्तै गोली चल्यो । म भुँइमा ढलें । त्यसपछि एउटा प्रहरी भ्यान आयो ।

प्रहरीमा भ्यानले मलाई बौद्ध वृत्तमा पुर्यायो । त्यतिबेला डीएसपी रमेश बहादुर सिंह पनि कार्यालयमै थिए । लगत्तै डीएसपी सिंहले फोनमार्फत कसलाई पो हो घटनाबारे ब्रिफिङ गराउनुभयो ।

ब्रिफिङ सकेलगत्तै डीएसपी सिंहले मलाई अस्पताल लैजान आदेश दिनुभयो । तत्कालै मलाई अर्को प्रहरीको भ्यानमा राखेर ट्रमा सेन्टर ल्याइयो । गाडी नम्बर थाहा भएन ।

अहिले उपचार गराइरहेको छु । एकजना भाइ सँगै छ ।

ढुङ्गा हानेपछि गोली चलाउन बाध्य : प्रहरी

यता, प्रहरीले भने लामालाई समाएको २ घण्टापछि गोली हानिएको आरोपको खण्डन गरेको छ । महानयरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले अभियुक्त लामाले प्रहरीमाथि आक्रमण गर्न खोजपछि प्रहरी टोलीले गोली चलाउन बाध्य भएको दावी गरे ।

प्रहरीकै कुरा बाझियो

डीआईजी पोखरेलले आक्रमण गर्न खोजेपछि लामामाथि गोली चलाएको दावी गर्दैगर्दा यता बौद्धका डीएसपी रमेश बहादुर सिंहले भने भाग्न खोजिएकाले लामामाथि गोली चलाउनुपरेको बताए ।

यसले पनि प्रहरीले लामामाथि गोली चलाएको प्रकरणमा शङ्का पैदा गरेको छ ।

‘प्रहरीले समाउन खोज्दा लामा भाग्न खोजेपछि गोली हानेर नियन्त्रण लिइएको हो,’ बौद्धका डीएसपी सिंहले भने, ‘उसँगै अरु पनि फरार अभियुक्त थिए । उनीहरुलाई समाउन खोज्दै थियौं । लामा भाग्ने खोजेपछि प्रहरीले गोली हानेको हो ।’

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार लामाको अवस्था खतरामुक्त छ ।

लामामाथि ज्यान मार्ने उद्योगमा सिन्धुपाल्चोक प्रहरीमा उजुरी छ ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप