बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कसले गर्‍यो जुत्ताको आविष्कार?

मानव सभ्यतामा जुत्ताले फेशनको रुप लिएको पाइन्छ
सोमबार, २८ पुस २०७६, १४ : ३८
सोमबार, २८ पुस २०७६

प्राचीन कालमा शिकार गर्ने क्रममा आदिमानवहरुले नांगो खुट्टाले नै ढुंगाहरुको भूमिमाथि, बन जंगल तथा डाँडा काँडातिर हिँड्डुल गर्न तथा दौडनु पर्ने हुन्थ्यो । त्यसरी नांगो खुट्टाले हिँड्दा, दौड्दा ढुंगा तथा काँडाले घोचेर अति नै पीडा दिन्थ्यो । त्यसैले आदिमानवहरुले आफ्नो खुट्टालाई ढुंगा– काँडाहरुले घोचिनबाट जोगाउनको लागि खुट्टालाई ढाक्नुपर्ने महसूस गरे । त्यसका लागि उनीहरुले घाँसको मुठो, काठको टुक्रा, भुत्लायुक्त छाला जस्ता कुराहरुलाई खुट्टामा बाँध्न थाले । यो नै जुत्ताको प्राचीन रुप थियो ।

खासमा यो प्राचीन जुत्ता आधुनिक जुत्ताजस्तो नभएर चप्पलजस्तो आकारको थियो । पैतलामा बाक्लोगरी घाँस, काठको टुक्रा वा भुत्ला भएको छाला राखेर त्यसलाई खुट्टाको औंलाहरु तथा गोलीगाँठातिर बानिन्थ्यो । गर्मी क्षेत्रमा बस्नेहरुका लागि त यो ठीकै थियो तर जाडो क्षेत्रमा बस्नेका लागि यो पर्याप्त थिएन, त्यसले खुट्टालाई चिसोबाट जोगाउदैनथियो । त्यसैले चिसो क्षेत्रमा बस्ने ती प्राचीन मानिसहरुले सोही पदार्थमा थपथाप गरेर खुट्टाको अझ माथिसम्म ढाक्न थाले । यसरी विस्तारै चप्पल जुत्ताको रुपमा विकास हुन थाल्यो ।

https://upload.wikimedia.org

यो त भयो प्राचीन युगका मानिसहरुको कुरा । पछि मानव सभ्यताको विकास भएपछि जुत्ता बनाउने पहिलो मानव इजिप्टवासी थिए । तिनीहरु छालाको प्याड वा पेपीरस नामक विरुवाको प्याडलाई जुत्ताको रुपमा प्रयोग गर्ने गर्दथे । यो प्याड दुई वटा पट्टीले खुट्टामा बाँधिएको हुन्थ्यो । औंलाहरुलाई जोगाउनका लागि यस्ता जुत्ताहरुमा कहिँलेकाही माथितिर मोडिएको पनि हुन्थ्यो ।

इजिप्टवासीहरुभन्दा अझ अगाडि बढेर रोमनहरुले जुत्तालाई अझ विकसित तुल्याए । रोमनहरुले बनाएको जुत्तालाई calceus भनिन्थ्यो । यो जुत्ताको पछिल्लो छेउमा खुट्टा घुसार्ने खुला भाग हुन्थ्यो भने अगाडि चाहिँ औला छिराउने भाग राखेर गाँठो पारिएको हुन्थ्यो । रोचक त के छ भने, त्यसबेला समाजका विभिन्न वर्गहरुलाई लगाउनका लागि भिन्न भिन्न किसिमका calceus को डिजाइन गरिएको हुन्थ्यो ।

http://www.vroma.org

 

उता चीसो क्षेत्रका वासिन्दाहरुले चाहिँ भिन्नै किसिमका जुत्ताहरु अलग्गै विकसित गरे । उदाहरणको लागि, तिनीहरुले घाँसबाट बनाइएको गद्दादार प्याड भएको थैलो आट्टनो खुट्टामा घुँडासम्म बाँध्ने गर्थे । खुट्टा ढाक्ने यही थैलो समयकालमा पछि गएर एस्किमो तथा आदिवासीहरुले लगाउने जुत्ताको रुपमा विकसित हुन पुग्यो ।

आधुनिक जुत्ताको जन्मदाताको श्रेय चाहिँ योद्धा वर्गहरुलाई जान्छ । योद्धा वर्गहरु लडाईं गर्ने क्रममा लामो यात्रामा जानुपर्ने हुन्थ्यो । यस अवस्थामा आफ्नो खुट्टा जोगाउनको लागि उनीहरुललाई लामो समयसम्म टिक्ने जुत्ता बनाउनु पर्ने जरुरत आइलाग्यो । यही जरुरतले पछि गएर टिकाउ, बलियो र आकर्षक हुने छालाको जुत्ता जन्मिन पुग्यो । यस्ता जुत्ताहरु पहिले इटाली, फ्रान्स र इंग्ल्याण्डमा देखापरे ।

मानव सभ्यतामा जुत्ताले फेशनको रुप लिएको पाइन्छ । उदाहरणको लागि, इंग्ल्याण्डमा सम्राट जेम्स प्रथमको पालामा अग्लो हिल र छोटो छाला भएको जुत्ताको फेशन समाजमा चलेको थियो । वास्तवमा हिँड्डुल गर्नको लागि उक्त जुत्ता अप्ठ्यारो थियो, तर मानिसहरु चल्तीको फेशन भएकोले उक्त जुत्ता लगाउन रुचाउँथे । अग्लो हिल भएका जुत्ताहरु देखापर्नुभन्दा पहिले छोटा हिल भएका जुत्ताहरु पनि समाजमा फेशनको रुपमा प्रचलित थिए । जुत्ता बनाउने कारखाना चाहिँ सबैभन्दा पहिले अमेरिकामा सन् १६२९ मा देखापर्‍यो । त्यसबेला थोमस वियर्डले घुमन्ते कोलनीको लागि जुत्ता बनाउने ठेक्का लिएका थिए ।

स्रोतः Tell Me why

Title Photo: http://www.stylishandtrendy.com

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप