शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिबाट बहादुरी पुरस्कार पाएका शीर्ष प्रहरी अधिकारी कश्मीरमा विद्रोहीसँगै पक्राउ

सुरक्षा संयन्त्र तरङ्गित
सोमबार, २८ पुस २०७६, १२ : ३६
सोमबार, २८ पुस २०७६

एजेन्सी । एक वरिष्ठ भारतीय प्रहरी अधिकारी जम्मु सहरमा दुई विद्रोहीलाई सघाइरहेको अवस्थामा पक्राउ परेका छन् । द्वन्द्वग्रस्त कश्मीरमा लामो समयदेखि सेवारत डीएसपी दभिन्दर सिंह शनिबार राति तीव्र गतिमा कुदाइएको गाडीलाई रोकेर चेकजाँच गर्दा विद्रोहीसँग भेटिएका थिए ।

प्रहरी प्रमुख विजय कुमारले सिंहको पक्राउलाई ‘ठूलो अपरेसन’को संज्ञा दिए र सिंहसँग पक्राउ परेका नवीद मुस्ताक बाबा कश्मीरको सबैभन्दा ठूलो विद्रोही समूह हिजबुल मुजाहिद्दिनको शीर्ष कमाण्डर रहेको जानकारी दिए ।

‘हामीले सिंहविरुद्ध हातहतियार, विस्फोटक पदार्थ र गैरकानुन गतिविधिमा संलग्न भएको मुद्दा दर्ता गरेका छौँ,’ विजय कुमारले भने, ‘यो संवेदनशील मुद्दा हो । हामी कुनै पनि छिद्रबाट उनलाई उम्कन दिदैनौँ ।’

उनले सिंहलाई विद्रोही सरह व्यवहार गरिने र गुप्तचर एजेन्सीमार्फत संयुक्त सोधपुछ हुने बताए । सिंहसँगै पक्राउ परेका मुस्ताक पनि सन् २०१७ सम्म जम्मु–कश्मीर प्रहरीमा कार्यरत थिए । मुस्तकमाथि ११ स्याउ व्यापारी, गाडी चालक र श्रमिकको हत्या गरेको आरोप छ ।

को हुन् दविन्दर सिंह ?

दविन्दर सिंह कसरी र किन विद्रोही सँगसँगै यात्रारत थिए भन्ने स्पष्ट भएको छैन । तर यो मुद्दाले कश्मीर क्षेत्रको निगरानी गर्ने भारतीय सुरक्षा संयन्त्रलाई भने तरङ्गित गरेको छ । सिंह सुरक्षा सयन्त्रभित्र एक सम्मानित सदस्य थिए । उनले लामो समय प्रहरीको विशेष अपरेसन ग्रुपमा काम गरे ।

आतङ्कवादी विरोधी यो समूहमाथि कश्मीरी र मानव अधिकारवादी समूहले हत्या, यातना र बलात्कारदेखि नागरिकलाई अपहरण गरेर फिरौती माग्ने कार्यमा संलग्न भएको आरोप लगाउने गरेका छन् । 

केही अघि सिंह एक प्रहरी अपरेसनमा घाइते भएका थिए र त्यसका लागि उनलाई सन् २०१९को भारतीय राष्ट्रपति बहादुरी पुरस्कार पनि दिइएको थियो ।

पछिल्लो समय सिंह श्रीनगर विमानस्थलको अपहरण–विरोधी इकाइमा काम गरिरहेका थिए ।

अघिल्लो हप्तामात्रै भारतमा रहेको १५ राजदूतको कश्मीर भ्रमणको सुरक्षा व्यवस्था मिलाउने कार्यमा दविन्दर पनि सहभागी थिए ।

सुरक्षाकर्मीले विद्रोहीलाई सघाएको पहिलो घटना होइन

भारत प्रशासित कश्मीरमा पछिल्लो तीस वर्षमा चर्केको विद्रोहलाई सघाउ पुर¥याएको आशंकामा यस अघि पनि प्रहरी अधिकारी पक्राउ परेका छन् ।

सन् २०१२ मा भारतीय प्रहरीले दुई गुप्तचर अधिकारी तथा दुई तल्लो तहका प्रहरी अधिकारीलाई कश्मीर क्षेत्रका विद्रोहीसँग साँठगाँठको आशंकामा पक्राउ ग¥यो ।

त्यस अघि सन् २००६ मा, तीन भारतीय सेना र दुई प्रहरी अधिकारीको एउटा विद्रोही समूहसँग सम्बन्ध रहेको पाइएपछि पक्राउ गरिएकोे थियो ।

पक्राउ परेका दुई प्रहरीलाई सेवाबाट हटाइएको थियो भने सँगै पक्राउ परेका सैनिकमाथि केकस्तो कारबाही भयो अहिलेसम्म खुलेको छैन । 

सन् १९९२ मा दुई प्रहरी र एक जना अर्धसैनिक सदस्यलाई विद्रोही समूहलाई श्रीनगर प्रहरी मुख्यालयमा बम आक्रमणमा सघाएको आरोपमा पक्राउ गरिएको थियो । उक्त बम हमलामा एक अधिकारी मारिएका थ्एि भने अन्य कैयौं घाइते भएका थिए ।

हुनतः कश्मीर विभाजित भएदेखि त्यहाँको प्रहरीले प्रतिरोधको सामना गरिरहनु परेको छ तर सन् १९८९देखि सुरु भएको विद्रोहले प्रहरीको तनाव बढाउँदै आएको छ ।

विद्रोह सुरु भएपछि विद्रोहीले प्रहरीमात्र होइन, तिनको परिवारलाई पनि तारो बनाउन थाले । त्यसपछि प्रहरी र तिनको परिवार ब्यारेकमा बस्न थाले ।

समय समयमा आम सर्वसाधरण पनि विद्रोहीहरुको समर्थनमा सडकमा उर्लिदा प्रहरीको कठिनाई झनै बढ्ने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप