शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फतुवा विजयपुरको तेस्रो नगरसभाको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

सोमबार, २८ पुस २०७६, ०९ : ०७
सोमबार, २८ पुस २०७६

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको तेस्रो नगरसभाले गरेका निर्णयहरु कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको छ । नगरपालिकाको गत पुस ११ गते नगर सभा सम्पन्न भएको थियो । अदालतले विपक्षी रहेका नगरप्रमुख गोपालप्रसाद यादवको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालतका न्यायाधीश जनक पाण्डेका अनुसार आइतवारको आदेशअनुसार नगरसभाले गरेका निर्णयहरु, नीति, कार्यक्रम तथा योजना कार्यान्वयन नगर्न भनी उच्च अदालतको नियमावली २०७३ को नियम ४२ बमोजिम अल्पकालिन आदेश जारी गरिएको छ ।

साथै मेलमिलापको लागि छलफल र सहमती गर्न अगामी माघ ९ गते दुुवै पक्षलाई उच्च अदालतको ईजलासमा पेस गर्न आदेशमा उल्लेख रहेको छ ।

नगरपालिकामा मेयर र उपमेयरबीच विवाद रहेको छ । नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख यादवले गत ११ गते बहुमतका साथ तेस्रो नगरसभा पारित गराएको भन्दै दावी गर्दै आएका छन् । तर, नेकपाबाट निर्वाचित उपमेयर कान्तिदेवी महतोले भने कार्यपालिकामा बहुमत आफूसँग रहेकोले अप्लमतमा रहेका नगरप्रमुख यादवले नगरसभा पारित गर्न नसक्ने जिकिर गर्दै आएकी छिन ।

नगरपालिकाको आन्तरिक आम्दानीसहित १५ करोड रुपैयाँभन्दा बढी विकास बजेट रहेकोमा आठ करोडको मात्र विकास योजना बनाएर बाँकी सात करोड दुुरुपयोग गर्ने मनसाय राखेर मेयर यादवले कार्यपालिकाको सहमतिबिना निर्णय गरेको आरोप लगाउँदै नगरसभा बदर गर्न मागसहित उपमेयर महतोले उच्च अदालतमा लिखित उजुुरी दिएककी थिइन् ।

नगरपालिका अन्तरगत २१ जनाको कार्यपालिका बोर्डमा मेयरतर्फ ६ जना मात्र रहेको र उपमेयरतर्फ १५ जनाको बहुमत रहेको वडा १ का वडा अध्यक्ष सञ्जय साहले जानकारी दिएका छन् ।

नगरप्रमुख र उपप्रमुखबीचको विवादले सम्पूर्ण विकास निर्माणको काम ठप्प भएको छ । नगरसभा नहुँदा नगरक्षेत्र अन्तरगतका शिक्षा, स्वास्थ, कृषी, तथा करार सेवामा रहेका सैयौँ कर्मचारीले गत साउनदेखि हालसम्म तलब पाउनसकेका छैनन् ।

तलब नपाएपछि कर्मचारीहरुले नगरपालिकाको मूलगेटमा नै ताला लगाएका थिए । मेयर यादवले माघ १० गतेभित्र तलब दिलाउने लिखित सहमती गरेपछी मात्र ताला खोलिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप