शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरानः ओलम्पिककी एक्ली पदक बिजेताले किन देश छोडिन् ?

सोमबार, २८ पुस २०७६, ०८ : ५७
सोमबार, २८ पुस २०७६

इरानकी महिला आलम्पिककी एक्ली पदक बिजेता किमिया अलीजादेहले देश छोड्ने निर्णय गरेकी छिन् ।

२१ वर्षकी किमियाले सोसल मिडियामा यसबारे घोषणा गरेकी छिन् । जसमा उनले अब आफू इरानमा पाखण्ड, झुट, अन्याय र चापलूसीको हिस्सा बन्न नचाहने बताएकी छिन् ।

 उनले आफूलाई इरानमा सताइएका लाखौं महिलामध्ये आफू पनि एक भएको बताएकी छिन् । किमिया यतिबेला कहाँ छिन्, यसबारे उनले कुनै जानकारी दिएकी छैनन् तर इरानी मिडियाको खबर अनुसार उनी तालिमको सिलसिलामा नेदरल्याण्डमा हुन सक्छिन् ।

उनले सन् २०१६ मा रियो ओलम्पिकमा तेक्वान्दोमा कास्य पदक जितेर इरानका लागि इतिहास रचेकी थिइन् ।

आफ्नो सोसल मिडिया पोष्टमा उनले आफ्नो सफलतालाई इरानका अधिकारीले प्रोपोगान्डाका लागि प्रयोग गरेको बताएकी छिन् ।

इरानमा अत्यधिक विरोध प्रदर्शन भइरहेका बेलला किमियाले इरान छोड्ने निर्णय गरेकी हुन् । बुधबार युक्रेनको एक यात्रुवाहक विमानलाई गल्तीपूर्वक मिसाइलले हमला गरेर खसालेको र घटनाको दुई दिनसम्म झुटो बोलेर मानिसहरुलाई भ्रममा पार्न खोजेको भन्दै इरानका जनता सडकमा उत्रिएर आफ्नो सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ ।

यसबाहेक इरान र अमेरिकाबीच संघर्षको स्थिती चरम अवस्थामा पुगेको छ ।

अधिकारीले गरे अपमानः

किमियाले सोसल मिडिया पोष्टमा लेखेकी छिन्, ‘म इरानमा सताइएका लाखौं  महिलामध्ये एक हुँ जसले वर्षौंसम्म देशका लागि खेलिरहेँ । अधिकारीले जे भने, मैले त्यो मानिरहेँ । हरेक आदेशको पालना गरेकी छु तर उनीहरुका लागि हामीमध्ये कोही पनि महत्वपूर्ण छैनन् । हामी उनीहरुद्वारा प्रयोग गरिने हतियार मात्र हौं ।’

किमियाले उनको सफलतालाई राजनीतिकरण गरेको तर आफूलाई भने अधिकारीले सधैं अपमानित गरेको बताएकी छिन् । अधिकारीले आफूलाई ‘कुनै पनि महिलाले आफ्नो खुट्टा तन्काउनु पुण्यको काम होइन’ भनेर टिप्पणी गर्ने गरेको पनि जानकारी दिइन् ।

आफूलाई युरोपले आकर्षक प्रस्ताव गरेको कुरा किमियाले अस्विकार गरेकी छिन् । उनले अब कहाँ जाने भनेर जानकारी पनि दिएकी छैनन् ।

गत हप्ता उनी गायब भएको खबर सार्वजनिक भएपछि इरानका जनताले झट्का लागेको भन्दै प्रतिक्रिया दिएका थिए ।

इरानका राजनेता अब्दुलकरीम हुसेनजाहेदले जनशक्तिले देश छोड्नका लागि अयोग्य अधिकारीलाई जिम्मेवार बताएका थिए ।

गत बिहिबार इरानको समाचार एजेन्सी इसनाको एक रिपोर्टमा भनियो, ‘इरानी तेक्वान्दोलाई झट्का । किमिया अलिजादेश नेदरल्याण्डमै बसिन् ।’

उक्त रिपोर्टमा किमियाले सन् २०२० को टोकियो ओलम्पिकमा पनि भाग लिने तर त्यहाँ उनले इरानका लागि नखेल्ने बताइएको छ ।

इरान छोड्ने आफ्नो इच्छाबारे घोषणा गर्दै किमियाले आफ्नो भविष्यको योजनाबारे जानकारी त दिएकी छैनन् तर उनले जहाँ बसेपनि इरानकी छोरी बनेर बस्ने बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप