बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा गरेका आधाले गरेनन् नवीकरण

आइतबार, २७ पुस २०७६, १३ : ४२
आइतबार, २७ पुस २०७६

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको उत्साहजनक सहभागिता भए पनि नवीकरण गर्नेको सङ्ख्या कम देखिएको छ । चितवनमा बीमा गरेका ४९ प्रतिशतले नवीकरण गरेका छैनन् । जिल्लामा करिब साढे चार लाखले बीमा गरेको सरकारी तथ्याङ्क छ । तमध्ये दुई  लाख  ३६ हजार २२३ जनाले मात्र नवीकरण गरेको स्वास्थ्य बीमा बोर्ड चितवनका दर्ता अधिकारी निर्मला भट्टराईले जानकारी दिए ।

उनले बीमा गर्नेको दर भने बढेको बताए । २०७३ साल असार १ गतेदेखि चितवनमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । झापापछि सबैभन्दा धेरै स्वास्थ्य बीमा गर्ने जिल्लामा पर्छ चितवन । सेवा प्रदायकको झन्झटिलो स्वास्थ्य सेवा, बीमामार्फत सबै औषधि नपाइनु, जनचेतनाको कमी, बीमा बोर्डको झन्झटिलो प्रक्रियालगायतका कारण पनि नवीकरण कम भएको स्वास्थ्यकर्मी बताउँछन् । 

गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले बीमा कार्यक्रम लागू गरेको थियो । दिनप्रतिदिन बीमाप्रति नागरिकको आकर्षण बढेको तर नवीकरण कम भएको भरतपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक नारायणप्रसाद सापकोटाले बताए । उनले नवीकरणका लागि पनि गाउँगाउँमा जनचेतना फैलाउनुपर्ने बताए । कतिपयले थाहा नपाएका कारण पनि नवीकरण नगरेको उनको भनाइ छ । 

‘स्वास्थ्य बीमा कार्यक्रमबाट नागरिकको आशा धेरै छ’, उनले भने, ‘त्यही अनुसारको सेवा सुविधा दिन सकिएको छैन ।’ भरतपुर अस्पतालमा उपचार गराउन आउनुभएका कालिका नगरपालिका–२८ का चेतकान्त अधिकारीले बीमाले निकै राहत मिलेको बताए । ‘मैले बीमाबाटै रु पचास हजारसम्मको उपचार गराइसकेँ’, उनले भने, ‘म जस्ता धेरै बिरामीलाई ठूलो राहत मिलेको छ ।’ बीमाको प्रक्रिया झन्झटिलो र अस्पतालमा पनि सेवा लिन घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । उहाँले सरकारी अस्पतालबाट सहजरूपमा स्वास्थ्य सेवा लिने वातावरण मिलाइदिन आग्रह गरे ।

चितवनको भरतपुर अस्पताल, रत्ननगरको बकुलहर अस्पताल, माडीको बघौँडा अस्पताल तथा शिवनगर, जुटपानी र खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रलाई मात्र स्वास्थ्य बीमा कार्यक्रमको प्रथम सेवा विन्दु तोकिएको छ । अस्पतालमा बीमा गरिसकेका सदस्यले सरकारले तोकेको अस्पतालबाट रु एकदेखि दुई लाखसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्नेछन् । चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र मनकामना अस्पतालमा रिफरल अस्पतालका रूपमा बीमा कार्यक्रम लागू भएको छ । विशेषज्ञ चिकित्सक नभएका अस्पताल र स्वास्थ्य केन्द्रमा बीमा कार्यक्रम लागू हुँदैन ।

चितवनमा शुरुमा दुई मेडिकल कलेजलाई पनि प्रथम सेवाविन्दुको स्वास्थ्य बीमाको कार्यक्रम दिइएको थियो । दुरुपयोग भएपछि प्रथम सेवाविन्दुबाट हटाइएको हो । रिफरलबाट पनि धेरै बिरामी निजी अस्पतालमा जाने गरेको भए पनि सीमित मात्रामा रहेको सापकोटाले बताए । जिल्लामा १२१ जना अभिकर्तामार्फत बीमा गराउने र नवीकरणको काम भइरहेको छ । 

बीमा कार्यक्रमअन्तर्गत परिवारका पाँचजनासम्मले रु तीन हजार ५०० तिरेर एक वर्षका लागि बीमाअन्तर्गत उपचार सेवा लिन सक्छन् । यसअघि रु दुई हजार ५०० को प्रिमियम तिरेर पाँचजनाको परिवारले स्वास्थ्य बीमाअन्तर्गत रु ५० हजार बराबरको स्वास्थ्य सेवा पाउने प्रावधान थियो  । यसलाई बढाएर सरकारले एक लाख पु¥याएको छ ।

परिवारको एकजनाले बर्सेनि स्वास्थ्य बीमाबापत रु २० हजार बराबरको उपचार सुविधा पाउनेछन् । एउटा परिवारमा पाँचजनाभन्दा बढी सदस्य भए प्रत्येक सदस्यबापत रु ७०० तिर्नुपर्छ । सदस्य सङ्ख्या थपिँदा एउटा परिवारले अधिकतम रु दुई लाखसम्मको बीमा गराउन पाउँछ ।

सरकारले ७० बर्ष नाघेका वृद्धवृद्धा, एचआइभी पिडित, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति, टिभी र कुष्ठरोगीलाई निःशुल्क बीमाको व्यवस्था गरेको छ । यस्तै स्वास्थ्य स्वयंसेविकाको परिवारलाई ५० प्रतिशत छुटको व्यवस्था सरकारले गरेको छ । 

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रियालगायतका उपचार प्राप्त गर्न सक्नेछ । सरकारले तोकेको निःशुल्क औषधि प्राप्त गर्न सकिन्छ । तर व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, लागु तथा मादकपदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा पाइँदैन ।

दैनिक पाँच सय बीमाका बिरामी

स्वास्थ्य बीमा कार्यक्रममार्फत भरतपुर अस्पतालबाट दैनिक पाँच सयजनाले सेवा लिएका छन् । अस्पतालका सूचना अधिकारी लीला पौडेलका अनुसार बीमा प्रयोग गर्दै अस्पताल आउनेको सङ्ख्या बढ्दो छ । ‘दैनिक अस्पताल आउने बिरामीको आधा बिरामी बीमा प्रयोग गर्छन’, पौडेलले भने, ‘अस्पतालमा बिरामीको चापले यो कार्यक्रम निकै प्रभावकारी देखिएको छ । सरकारी स्वास्थ्य संस्थामा भरतपुर अस्पतालबाट सबैभन्दा धेरै जानाले स्वास्थ्य सेवा लिएका छन् । यति धेरै सेवा लिने यो नेपालको नै पहिलो अस्पताल हो’, पौडेलले भने । 

अस्पतालको फार्मेसीबाट ५० प्रतिशत बीमाको औषधिमात्र दिने गरिएको उनले बताए । मासिक रु ७० देखि ८० लाखसम्मको बीमाको औषधि फार्मेसीबाट वितरण हुने गरेको छ । ‘बीमा नहुँदा अस्पतालमा दैनिक सात सयको हाराहारीमा बिरामी आउँथे’, उनले भने, ‘अहिले दैनिक एक हजारदेखि एक हजार २०० बिरामी उपचारका लागि आउने गरेका छन् ।’ भरतपुर अस्पतालमा अधिकतम एकै दिन दुई हजार २०० सम्म बिरामीले ओपिडी सेवा लिएको पौडेलले बताए । बीमामार्फत सेवा लिन आउने बिरामीमा धेरै निम्न र मध्यमवर्गका नागरिक भएको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप