शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा दिलिप हत्या प्रकरणः  ३६ घण्टापछि चार आरोपी सार्वजनिक

शनिबार, २६ पुस २०७६, २३ : ०४
शनिबार, २६ पुस २०७६

जनकपुर । ओमप्रकाश उर्फ दिलीपकुमार महतोको हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई सार्वजनिक गरेको छ ।  शनिबार राति ९ बजे जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो ।

अभियन्ता दिलिपको हत्या गरेको आरोपमा धनुषा मिथिला नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षीय चुरीयामाई बालुवा प्रहोधन केन्द्रका सञ्चालक विपिनकुमार महतो, महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर ९ बस्ने ३४ वर्षीय टिपर चालक मुनिन्द्र महतो, महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय ओनटेस्ट लोडर चालक जितेन्द्रकुमार महतो र धनुषा मिथिला नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षीय रोशनकुमार यादवलाई  पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । 

दिलिपको हत्या क्रसर सञ्चालक लगायतको संलग्नतामा भएको प्रहरीले जनाएको छ । धनुषाको मिथिला नगरपालिकास्थित औरही खोलामा अवैध रुपमा बालुवा गिटी उत्खननको विरोध गर्ने युवक दिलिपलाई  केही व्यक्तिले हत्यापूर्वक समातेर फलामको लिभरले कोखमा घोचेर घाइते बनाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए । 

टिपरले किचेर हत्या गरिएका दिलीपको शवको पोस्टमार्टम शनिवार गरिएको छ । प्रादेशिक अस्पताल जनकपुरका ४ जना चिकित्सकले करिब ३ घण्टा लगाएर दिलिपको शवको  पोस्टमार्टम गरिएको अस्पतालले जनाएको छ ।

दिलिपको शवको मुचुल्का विना नै शवको पोष्टमार्टम गर्न खोज्दा उनका परिवारजनले पोष्टमार्टममा अवरोध गर्दै आएको थियो । पोस्टमार्टममा शवको एक्स–रे र सिटीस्क्यान पनि गरिएको छ । संवेदनशील घटना भएकाले बढी समय लगाएर शरीरको हरेक भाग केलाएर पोस्टमार्टम गरिएको चिकित्सकहरुको भनाई छ ।

शुक्रबार बिहान ४ बजे धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरस्थित घर नजिकै रहेको औरही खोलामा अवैध उत्खनन रोक्न गएको बेला टिपरले किचेर दिलिपको हत्या भएको थियो । तत्कालै ईलाका प्रहरी कार्यालय ढल्केबरको प्रहरी टोली पुगेर घटनास्थलमा मुचुल्का नै नगरी उपचारको नाममा शव पोस्टमार्टमको लागि जनकपुरस्थित अस्पताल ल्याएपछि श्रीपुरका स्थानीयवासीले पूर्व पश्चिम राजमार्ग नै ठप्प पारेका थिए । 

शुक्रबार बिहानै जनकपुर प्रादेशिक अस्पतालमा दिलिपको शव पोस्टमार्टमको लागि ल्याइएपनि घटनास्थलको मुचुल्का र कागजी प्रक्रियामा मृतक परिवारले विरोध गर्दै पोष्टमार्टम गर्नका लागि शव नदिने भनेपछि करिब ३६ घण्टा पछि पोस्टमार्टम भएको छ । घटनास्थलबाटै तत्कालै मुचुल्का बिना नै प्रहरीले शव उठाएको भन्दै परिवारजनले घटनामा प्रहरीको समेत संलग्नता हुन सक्ने आशंका गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप