बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सीमा रक्षाको सवालमा कसैसँग सम्झौता हुँदैन: रक्षामन्त्री पोखरेल

शनिबार, २६ पुस २०७६, २२ : ०३
शनिबार, २६ पुस २०७६

बुटवल । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको सीमा रक्षाको सवालमा कहिं कसैसँग सम्झौता नगरिने दृढता ब्यक्त गरेका छन् । उनले राष्ट्रिय अखण्डता र सर्वभौमिकताको रक्षाको विषयमा सरकार सँधै संवेदनशील रहेको बताउँदै ऐतिहासिक तथ्य प्रमाणहरुको आधारमा सिमा रक्षा गर्न नेपालीहरु एकजुट रहेको उदघोष समेत गरे ।

राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाको मध्यपश्चिम पृतना हेडक्र्वाटर बुटवलले म्याराथुन प्रतियोगिताको पुरस्कार प्रदान कार्यक्रममा बोल्दै उनले  सेनाले जितगढी जस्तो ऐतिहासिक किल्लाको रक्षा गर्नु आफ्नो दायित्व रहेको बताए ।

उनले देशको स्वाभिमान र सिमा रक्षाका लागि जसरी  बीर पुर्खाहरुले बलिदानी दिए त्यसैगरी राष्ट्र र राष्ट्रियताको रक्षाका लागि अहिले पनि हरेक नेपालीहरु एकताबद्ध रहेको बताए ।  मुलुकको स्वाभिमान संसारसामु उचो राख्न म र मेरो भन्ने भावना त्यागेर सबैले हामी भन्ने भावनाको विकास गर्नुपर्नेमा जोड दिए ।

सेनाले आयोजना गरेको म्याराथुन प्रतियोगिता आज बुटवलको बुटवल बहुमुखी क्याम्पसबाट सुरु भई जितगढी किल्लामा पुगि समापन भएको थियो । नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलले राष्ट्रिय एकताको सन्देश दिदै ऐतिहासिक जीतगढी किल्लाको प्रबद्र्धन तथा नेपाल भ्रमण बर्ष २०२० को प्रचार गर्ने उद्देश्यले भिक्ट्री म्याराथन एण्ड युनिटी रन प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीसहित सर्वसाधारण नागरिकहरुले समेत भाग लिएका थिए ।

नेपाली सेनाको मध्यपश्चिम पृतना हेड क्वाटरले आयोजना गरेको भिक्टर म्याराथुन युनिटी रनमा प्रदेश ५ सरकारका मुख्यमन्त्री, मन्त्रीहरु सहित संघीय सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल बुटवलमा ५ किलोमिटरको दुरी पैदल हिँडेर पार गरेका थिए । ५, १०, २१ र ४२ किलोमिटर म्याराथुन प्रतियोगितामा रक्षामन्त्री पोखरेलसहित मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसी, पर्यटनमन्त्री लिला गिरीले ५ किलोमिटरको दुरी पैदल हिँडेर जितगढी किल्ला पुगेका थिए ।

अंग्रेजलाई पराजित गर्ने लडाईमा नेपाली सेनाको कमाण्ड गर्ने कर्णेल उजिर सिंहको सम्मान तथा सरकारको भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउन नेपाली सेनाले म्याराथुनको कार्यक्रम राखेको मध्यपश्चिम पृतना हेड क्वाटरका पृतनापति सिताराम खड्का बताए  ।

को–कोले पार गरे म्याराथुन ? 

सेनाले आयोजना गरेको म्याराथुनमा ४२ किलोमिटर अन्तर्गत पुरुषतर्फ हरिकुमार रिमालले २ घण्टा ३१ मिनेटमा दुरी पार गरि प्रथम भएका छन् भने २ घण्टा ३२ मिनेटमा पार गर्दै राजन रोकाया दोस्रो भएका छन् । त्यस्तै कल्याण बानिया २ घण्टा ३५ मिनटमा दुरी पार गरि तेस्रो भएका छन् । महिलातर्फ कान्छीमाया कोँजु २ घण्टा ५६ मिनेटमा पार गरि प्रथम, रमिता बासी ३ घण्टा १२ मिनेटमा दोस्रो र कृष्णेश्वरी सिम्ता ३ घण्टा ३२ मनिटमा पार गरि तृतीय भएकी छिन् ।

२१ किलोमिटर दौडमा गजेन्द्र राई प्रथम, रामजी बस्नेत द्धितीय र मिलन कार्की तृतिय बनेका छन् भने महिलातर्फ विश्वरुपा बुढा प्रथम, पुर्णलक्ष्मी न्यौपाने दोस्रो र रेखा बिष्ट तृतिय बनेकी छिन् । १० किलोमिटर पुरुषतर्फ शिव रायमाझी प्रथम, विकास राई द्धितीय र गणेशसिंह ठकुरी तेस्रो भएका छन् भने महिलातर्फ सानुमाया कार्की प्रथम, सिता श्रीस द्धितीय र सिता चौधरी तृतिय भएकी छिन् ।
विजयी धावकहरुलाई बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसी तथा संघीय सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नगद, शिल्ड तथा प्रमाणपत्र वितरण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप