बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दाउरे

शनिबार, २६ पुस २०७६, १४ : ०४
शनिबार, २६ पुस २०७६

-जितबहादुर कटुवाल

जिल्ला कारागारको अघिल्तिरको पान पसलमा बजरङ्गीलाई भेटेँ । जाडोको मौसम भएकाले बाक्लो स्विटर लगाएर कानमा गलबन्दी बेरेको थियो । उसको पहिरनका कारण हत्तपत चिनिनँ । उसैले बोलाएपछि म झसङ्ग भएँ । मलाई देखेर ऊ फिस्स हाँस्यो । मैले उसको काँधमा धाप मार्दै एकै सासमा सञ्चो सुबिस्ताको र यहाँ आउनको कारण सोधेँ ।

 “यहाँको पुरुष कारागारमा रहेको कैदी नं चार सय एक्काइसलाई भेट्न आएको । ऊ मेरो अलिक टाढाको आफन्त हो । अपराधी भए पनि सहर आएको बेला एकपल्ट भेटूँजस्तो लागेर आएको । हुन त अपराधीलाई भेटेर पनि अगति नै परिन्छ होला तर पनि मन मानेन ।” उसले सुनायो । कारागारमा अनेक प्रकारका थुनुवा आउँछन् । कोही ज्यान मार्ने, केही चोरी गर्ने, कोही लागूपदार्थ सेवन गर्ने, कोही बलात्कारी । पोहोर एकजना अचम्मको अपराधीलाई देखेँको थिएँ । आगो लाएर आफ्नै घर जलाउने । मान्छेको स्वभाव पनि थरिथरिको हुन्छ । कुन बेला के सोच्छ के गर्छ ? पत्तै नपाइने ।

मैले उसको अपराधको बारेमा जान्न चाहेँ । मानौँ म अपराध विज्ञानमा अनुसन्धान गर्दैछु । उसले यहाँ आउनुको कारणको बेलिबिस्तार लगायो ।

 गोरे साइलाको घरमा मान्छेको भीड छ । आँगनमा उसकी श्रीमतीको लास पहेँलो रङको पातलो रामनामीले छोपिएको छ । शिरतिर गोरे सुँक्सुकाउँदै अँध्यारो मुख लगाएर बसेको छ । उसको छेवैमा दुईजना छोरी र एउटा छोरो भक्कानी भक्कानी रोइरहेका छन् । उनीहरूको क्रन्दनले दर्शक महानुभावहरूको हृदयको पातलो आवरण छेडेर नराम्ररी घोचिरहेको थियो, कोही हेरेर फर्किंदैछन् । कोही हेर्न जम्मा हुँदैछन् । च्वच्व कठै के देख्नु पर्‍यो भन्दै शब्द सहानुभूतिको ओइरो लगाइरहेका मानिसहरुको पनि कमी थिएन ।

“ए गोरे ! यो सब कसरी भो ? कसरी त्यति टाढाको पोखरीमा साहिँली डुब्न पुगिन् ? भन् ।” माइला मुखिया कड्के ।

यो पीडाको पहाडले थिचेको बेला किन यस्तो प्रश्न गरेर मुुटुकलेजोमा नुन छर्केको भन्दै सन्तुकी आमाले असन्तुष्टि पोखिन् । कोही अलिक पर बसेर मुखामुख गर्दै थिए ।

गोरे साहिँलाले शुष्क आँखा चारैतिर फिँजायो । उपस्थितमध्ये धेरैजसोका आँखाका डिलमा विषादका थोप्पा टलपलाएका थिए । उसले बताएको विवरण यस प्रकारको थियो ।

गोरे साहिँलाको सनातन पेसा दाउरा चिर्नु थियो । त्यसैले गाउँलेहरूले उसको नाम दाउरे जुराएका थिए । बन्चराको बिँडले उसका हात गोहोराको छालाभन्दा खस्रा भएका थिए । ठेला उठेर निस्केका पाप्रा उप्काएर हात हेरिनसक्नुको थियो । ऊ बिहान सबेरै उठ्यो । सिमलीको टुक्रो भाँचेर दतिवन गर्दै शौच गर्न गयो । आएर हातमुख धोयो । दुईवटा बाख्रालाई खोले बसाउन आगो बाल्यो । अनि अघिल्लो दिन जङ्गलबाट ल्याएको वन तरुल पोल्न हाल्यो । खोले पनि पाक्यो तरुल पनि पाक्यो । हातले खरानी टक्टक्यायो । अनि भाँचेर मुखमा हाल्यो । छोराछोरी उठेकै थिएनन् । बुढी उठेर सिकुवा बढार्न थाली । गोरे भने काँधमा बन्चरो राखेर वनतिर लाग्यो ।

उसका मनमा अनेक कुरा खेलिरहेको थियो,                                                                                                                                                                                                                                                                                                                                                                                                        “यो ” “यो खप्परमा दुःख पनि कति लेख्या रै छ । रातोदिन बन्चरो चलाएर पालिनुपर्ने, पाल्नुपर्ने । कहिले हुने खाने होइएला । जिन्दगी यसै बित्ने भो । एउटा गतिलो घर पनि बनाउन सकिएन ।”

 मनमा कुरा खेलाउँदै ऊ वनको छेउमा पुग्यो । उसका पाइला लम्किरहे, पूर्वतर्फ । एउटा बाँदरले एउटा रूखबाट अर्काे रूखमा हाम्फालेर उसलाई तर्सायो । उसले बन्चरो उज्यायो । बाँदर कुरा बुझेझैँ कुलेलम ठोक्यो ।

“गतिलो घर त के कुरा गर्नु ? दुई छाक टार्न पनि बाह्र लन्ठा गर्नुपर्ने कुनै दिन बिरामी हुन पाइँदैन । अल्छी लाग्यो भन्न पाइँदैन । काम गर्न अल्छी गर्‍यो भने हात मुख जोरिँदैन । आफू त जसोतसो बसुँला ती कलिला लालाबालाको आन्द्रा नै सुक्छ । सबैभन्दा साह्रो ढुङ्गा भन्छन् यो ढुङ्गाभन्दा नि साह्रो गरिब हुनु रहेछ ।” उसले अघिको सोचाइको क्रमलाई पुनः जोड्यो ।

अब त वन पनि पातलिसक्यो । पहिलेको जस्तो घना छैन । यस्तै हो भने कुनै दिन यो वन सबै मासिन के बेर । यी वन्यजन्तु कहाँ बस्लान् ? चराचुरुङ्गी कहाँ जालान् ? ऊ भावुक भयो । आकासमाथि हेर्‍यो । सूर्य कलिलो रश्मि पुञ्जका साथ पूर्व आकासमा रातो भकुण्डोझैँ थिए ।

वनको मध्य भागमा अवस्थित पोखरीमा वन्यजन्तु र चराचुरुङ्गीको तिर्खा मेटाउने थियो । ऊ पोखरीको नजिक पुग्यो । पोखरीको उत्तरतर्फ एउटा बाङ्गे सखुवाको रूखका हाँगा सुकेका देख्यो । रूख पोखरीतिर पैँतालीस डिग्री कोण पारेर ढल्केको थियो । आज त्यहीँ सुकेका रूखका हाँगाको दाउरा बनाउने विचार गर्‍यो । उसले बन्चरो रूखमा ठुङ्यो । अनि दुवै हातमा थुक लगाएर दल्यो । त्यसपछि दुवै हात रूखमा लगाएर बल गरेर चढ्यो । अलिकति माथि पुगेर हाँगो समायो अनि फटाफट टुप्पातिर लाग्यो । एउटा हाँगोमा अडेस लागेर सुकेका हाँगा काट्न थाल्यो । खुबै होस् गर्नुपर्ने । बल पनि लगाउनुपर्ने, सावधानी पनि अपनाउनुपर्ने एकै साथ । काटेका दाउरा होसियारसँग पानीमा खस्न नदिई बाहिर निकाल्दै थियो । अलिकति दाउरा काटेको थियो । हातबाट बन्चरो फुत्किएर छ्वात्ल्याङ्ग पानीमा खस्यो । ऊ जिल्ल पर्‍यो । मुख अँध्योरो भो । पानी निकै गहिरो थियो । पस्न सकिने थिएन । पसेर पनि के गर्नु कहाँ डुबेर छाम्नु । आधा अँगालो दाउरा पनि भएको थिएन । अब के गर्ने होला उसको मनले ठम्याउनै सकेन । एक्कासि रुन आएछ उसलाई । ऊ बिलौना गरेर रुन थाल्यो । उसको रुवाइले एका बिहानै अरण्य शान्ति भङ्ग निकै बेरपछि पोखरीको पानी सल्बलाउन थाल्यो । पानीमाथि एकजना देखिए ।

“ए दाउरे, तिमी किन रोएको ?” पानीमा आधा शरीर देखाएर जलदेवताले भने ।

“मेरो बन्चरो पानीमा पस्यो । अब केले दाउरा चिर्नु ?” ऊ फेरि बिलौना गर्न थाल्यो । जलदेवताले दाउरेको शिरदेखि पाउसम्म सूक्ष्म निरीक्षण गरे । उसको वदनमा देखापरेको कारुणिक भाव र शब्दमा व्यक्त क्रन्दनले जलदेवतालाई पगाल्यो ।

देवता पानीमा डुबे अनि एकछिनमा एउटा सुनौलो बन्चरो हातमा लिएर देखापरे । उनले दाउरेलाई बन्चरो देखाउँदै सोधे, “तिम्रो बन्चरो यो हो ?”

 दाउरेले होइन भन्यो । फेरि अर्काे चाँदीको बन्चरो लिएर देवता देखा परे । दाउरेले त्यो पनि होइन भन्यो । फेरि देवताले फलामको बन्चरो देखाउँदै सोधे । दाउरे आफ्नो बन्चरो चिनेर मुसुक्क हाँस्यो । “भगवान मेरो बन्चरो यही हो”, उसले भन्यो । उसको इमानदारी देखेर जलदेवता प्रसन्न बने । उनले तीनवटा बन्चरो दिए ।

दाउरे तीनैवटा बन्चरो लिएर खुशी हुँदै घरतिर लाग्यो । आज उसले दाउराका साटो काँधमा तीनवटा बन्चरो बोकेको थियो । उसको शरीरका स्फूर्तिको सञ्चार थियो । खुशीले भित्रैदेखि छचल्किएको थियो । उसका खुट्टा भुइँमा थिएनन् । ऊ हतारिँदै घर पुग्यो ।

कहिलेकाहीँ दाउरा चिर्न गएको गोरे जुम्ली कान्छाको घरमा बिहानभरि पापी पानी धोकेर अबेर रित्तो हात घर फर्किन्थ्यो । पति रित्तै घर आएको देखेर उसकी पत्नीले त्यहीँ ठानेर परैबाट कराई । उसले पत्नीलाई मधुर मुस्कानका साथ एकै स्वरमा सबै बेलिबिस्तार लगायो । दाउरेकी पत्नी पतिको कुरा विश्वास गर्न सकिरहेकी थिइनँ । ऊ कहिले लोग्नेको झुस्स परेको दारीले आधाउधी ढाकेको मुहार त कहिले उसका हातका तीनवटा बन्चरो नियालिरहेकी थिई । दाउरेले सुनको बन्चरो उसको हातमा राखिदिएर विश्वास दिलायो । ऊ अकल्पनीय वैभवकी स्वामिनी हुन पाएकोमा खुसी भई । उसका मनमा एकाएक अनेक आकाङ्क्षाका छाल उर्लिन थाले । छ माना दूध दिने भँैसी, दुईतले घर, जमिन, राम्रो रातो सारी, सुनको तिलहरी, चुरा, नौगेडी शिरफूल आदि उसका चाहनाका प्राथमिक सूची मनमनै तयार भए ।

उसले ओल्टाइपल्टाइ सुनको बन्चरो हेरी । छातीमा लगाई ।

दिउँसो गारेले अलिकति सुन लिएर बजार गयो । उसले निकै पैसा हात पार्‍यो । पैसाले नुन तेल चामल, चिनी, छोराछोरीलाई लुगा, पत्नीलाई साडी, आफूलाई कमिज अनि केही भाँडाकुँडा किन्यो । एकै पटकमा उसको घरमा त्यतिका सामान अहिल्यै प्रवेश गरेका थिएनन् । साँच्चिकै उसकी पत्नी दङ्ग भई । उसले फर्‍याक फुरुक गर्दै मीठो भान्सा तयार पारी । गोरे पनि मनमनै भावी योजनाको गुराँस फुलाएर मख्ख थियो । बेलुका अबेरसम्म दुई जोईपोइ कुराकानी गरेर बसे ।

बिहान छोराछोरी खाना खाएर हिजो बाले किनिदिएका नयाँ लुगा लगाएर फुरुक्क पर्दै विद्यालयतिर लागे ।

लोग्नेलाई थालमा खाना पस्किँदै उसकी पत्नीले जिज्ञासा प्रकट गरी, “यो सुनको बन्चरो कहाँ भेटेको हो ?”

 “मैले मध्य वनको पोखरीको किनारको बाङ्गे रूखमा दाउरा काट्दा बन्चरो पानीमा खसेको थियो । त्यहीँ भेट्टाएको” थाल आफूतिर तान्दै दाउरेले सुनायो ।

“एकपल्ट हेर्न जाऊँ न, त्यो ठाउँ ।” गोरे साहिँलाकी पत्नीले बडो अनौठा इच्छा सुनाई ।

“स्वादिलो आँप खान पाएपछि बोट जस्तोसुकै होस्, किन चाहियो ?” दाउरेले असन्तुष्टि जनायो ।

दाउरेकी पत्नीले जिद्दी गर्न थाली । पत्नीको इच्छा पूरा गरिदिनु पतिको कर्तव्य थियो । उसले घरधन्दा सकेर जाउँला भनेर चित्त बुझायो ।

दुवैले खाना खाए । मिलेरै जुठोचुलो गरे । त्यसपछि गोरे पत्नीलाई लिएर जङ्गलतिर हिँड्यो ।

नजिकै पुगेर ऊ परको त्यो बाङ्गो रूख भनेर देखायो । पत्नीले रूखमै चढ्ने इच्छा गरी । दाउरे रूखमा चढ्यो अनि पत्नीको हात समातेर तान्यो । दुवैजना बन्चरो खसेको ठाउँनिर पुगे । पत्नी चाहिँ चिप्लिएर पानीमा खसी ।

पत्नी पानीमा डुबेपछि ऊ रुन थाल्यो । निकैबेरमा जल देवता देखा परे । उसले बेलिबिस्तार लगायो । देवता पानीमा डुबे । दाउरे डुबेकी पत्नी बचाइदिने आशामा बसिरह्यो तर जलदेवता निस्केनन् । सूर्य पश्चिम पहाडबाट मधुरो प्रकाशका साथमा आकासको पर्दा उघारेर लुप्त भए । त्यसपछि ऊ निरास भएर रुँदै घर फक्र्याे ।

दाउरेले सबैका सामु यस्तै कहानी सुनायोे ।

दाउरेको कुरा नजिकै बसेर सुनिरहेको एउटा मान्छे बुरुक्क उफ्रियो ।

“यसले भनेको कुरा पछिल्लो चाहिँ असत्य हो । यसकी पत्नी आफै खसेकी होइन । उसले ठेलेर झारिदिएको हो । म केही पर बसेर हेरिरहेकी थिएँ । वनमा चराउन छोडेको गाई बेलुका बास बस्न घर नआएकाले खोजी गर्न वनमा आएको थिएँ । त्यही बेला मैले रूखमा चढ्दै गरेका दुई बूढाबूढीलाई देखे । किन बूढाबूढी रूख चढे भनेर विचार गरेँ । हेर्दाहेर्दै बाङ्गे रूखबाट धकेलेर यसले पत्नीलाई झारिदिएको हो । त्यसैले यो दाउरे उसकी पत्नीको हत्यारा हो । यसलाई सजाय दिनुपर्छ ।”

त्यस मान्छेले गोरे साहिँलालाई झुटको खेती गर्ने ठहर्‍यायो । बेइमानको घण्टका रूपमा प्रस्तुत गर्‍यो ।

हेर्दाहेर्दै गोरेको मुहार झन् सडियो । उसलाई के गरूँ कसो गरूँ भयो । ओठमुख सुकेर आयो । छोराछोरीको मुहारमा हे¥यो । उनीहरू घोप्टो परेर रोइरहेका थिए । त्यति नै बेला कसैले लासको अनुहार हेर्न रामनामी उघार्‍यो । गोरेले मृत स्वास्नीलाई पुलुक्क हेर्‍यो । आफ्नै पत्नीलाई कसरी पानीमा डुबायो होला र ? कसैले गोरेप्रति सहानुभूति प्रकट ग¥यो ।

“ए गोरे ! तैँले हामीलाई ढाँटे पनि भगवानलाई ढाँट्न सक्दैनस्, आफ्नै आत्मालाई ढाँट्न सक्दैनस् । चाइने साँचो कुरा के हो ? भन् ।” माइला मुखियाले गोरेलाई हेर्दै भने ।

गोरे चुप थियो । सबैको ध्यान ऊतिर थियो । उसले के भन्ला भन्ने जिज्ञासा व्याप्त थियो ।

“मुखिया बा, मेरै कारण सन्तेकी आमा पोखरीमा खसी । म दोषी छु ।” उसले रुँदै भन्यो ।

“चाइने कसरी यस्तो भयो ? साँचो कुरा बता ।” माइला मुखियाले अलिक ठूलो स्वरमा हपारे ।

“सुनको बन्चरो पाएको पोखरी देखाउन पत्नीलाई वनमा लिएर जाँदा मेरो मनमा अनेक कुरा सल्बलाए । धनी हुन्छु, ठूलो घर हुनेछ । सुनचाँदीका गहनाले पत्नीलाई माथिदेखि तलसम्म ढाकिदिनेछु । यस्तै सोचेँ । पत्नीको अनुहार हेरेँ । ऊ गरिबी र कुपोषणले बैसमै चाउरी परेजस्ती थिई । म अब गोरे साहिँलोबाट गोरे साहु बन्नेछु । तर मसँग अब यस्ती पत्नी कसरी सुहाउली ? कन्पारो पनि भासिएजस्तो । अनुहार कुच्चिएको प्लास्टिकको बट्टाजस्तो । खाली खुट्टा हिँडेर फुटेका कुर्कुच्चा देख्दा मेरो मन अमिलो भो । मलाई उसको शिरदेखि पाउसम्मको शरीर देखेर घिन लाग्यो । जे भए नि पत्नी आफ्नै हो, मेरो अर्काे मनले भन्यो । रूखमाथि चढेपछि फलामको बन्चरो पानीमा खस्दा सुन र चाँदीको पनि बन्चरो पाएझैँ पत्नी पानीमा खसी भने उमेर छँदैछ अझै राम्रा पत्नी पाउनेछु भन्ने लाग्यो । अनि उसलाई ठेलेर खसाएँछु । मेरा लागि दिलोज्यान दिने पत्नीलाई गुमाउनु परेकोमा म अहिले पश्चातापको ज्वालामा पिल्सेको छु । तर के गर्नु हुने कुरा भइसक्यो । फर्केर आउने हैन रैछ । मेरो कुकर्म देखेरै पानीका भगवानले पनि सहयोग नगरेका होलान् ।”

“ल हेरहेर यस असत्तिको बुद्धि । अब परेन के फसाद । दुःखमा साथ दिने पत्नीलाई सुख हुँदा मार्ने तँ राक्षस होस् । अब तँसँग जति नै धन भएर के भो ? तैले अब अपराधको प्रायश्चित जेलमा बसेर गर्नुपर्नेछ ।” छेवैमा बसेकी पल्लाघरकी ठूली भाउजूले धारे हातले गाली गरिन् ।

“यसले त आफ्नो भविष्यै सको । बालखा छोराछोरीको बिचल्ली पारो । थुक्क बजिया तेरो बुद्धि !” मनमती दिदीले उसलाई हेरेर आकाशतिर थुकिन् ।

“मलाई माफ गर्नुहोस ।” सुँक्कसुँक्क गर्दै गोरे साँहिलाले बिस्मत गर्‍यो । त्यसभन्दा बढ्ता बोल्ने हिम्मत ऊसँग थिएन ।

“पाप धुरीबाट कराउँछ भन्या साँच्चो हो । किन पाप लुक्थ्यो र ?” कसैले भन्यो ।

 त्यतिन्जेलमा प्रहरी आइपुगे । हत्कडी लगाएर उसलाई लगे । हेर्दाहेर्दै गोरेको साहुजी अभिलाषा साँगुरो गन्दे कोठाको चार दिबारभित्र कैद भो ।

गोरे दाउरेको अपराध कथा बजरङ्गीले सुनायो । चोक्टा खान गएको बूढी झोलमा डुबेझैँ लाग्यो । आत्मग्लानिमा डुबेको गोरेको नियाउरो अनुहारको काल्पनिक चित्र मेरो मनमस्तिष्कमा कोरियो । ऊ मबाट बिदा भएर गयो म भने गोरेको बुद्धिलाई धिक्कार्दै टोलाई रहेँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप