शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बससँग ट्रक ठोक्कियो, २० जनाको मृत्यु

शनिबार, २६ पुस २०७६, १३ : ०९
शनिबार, २६ पुस २०७६

भारतमा भएको सवारी दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ । 

विपरित दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक शुक्रबार राती एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएका छन् ।  

देशको उत्तरप्रदेश राज्यमा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीहरुले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका छन् । दुवै साधन एक आपसमा ठोक्किएपछि बसमा आगलागी भएको थियो । 

बसमा झण्डै ५० जना यात्रु रहेका थिए । उत्तर प्रदेशको कान्नौज जिल्लाबाट राजस्थान राज्यको राजधानी जयपुरतर्फ जाँदै गरेको बससँग ट्रक ठोक्किएको हो ।

प्रारम्भिक अनुसन्धानले ट्रक चालकको लापर्वाहीका कारण दुर्घटना भएको देखिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । ट्रक चालकले उल्टो दिशामा तिव्र गतिले ट्रक चलाएको उनीहरुको भनाई छ । 

प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार बस र ट्रक एक आपसमा ठोक्किएपछि कम्तीमा दुईभन्दा बढी इन्धन ट्याङ्की विस्फोटन समेत भएका थिए । विस्फोटनसँगै आगलागी पनि भएको उनीहरुले बताएका छन् । 

दुर्घटनामा परी घाइते भएकाहरुलाई स्थानीय विभिन्न अस्पतालहरुमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

दुर्घटनाको खबर थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली र मृतकका आफन्तमा समवेदना व्यक्त गर्नु भएको जनाइएको छ । उनले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको समेत कामना गरेका छन् । 
 
त्यसैगरी उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले पनि दुर्घटनाप्रति दुुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहतको घोषणा गरेका छन् । उनले मृतकका परिवारजनलाई प्रति परिवार २ लाख रुपैया र घाइतेहरुलाई प्रतिव्यक्ति ५० हजार रुपैया राहतको घोषणा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप