बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विमान अपहरणको एउटा कथा : जसले अमेरिकालाई हल्लाएको थियो

शनिबार, २६ पुस २०७६, १० : २३
शनिबार, २६ पुस २०७६

काठमाडौँ । अहिलेको समयमा विश्वास गर्न कठिन हुन्छ तर सन् १९६० को दशकमा यस्तो समय पनि थियो, जतिबेला औसत प्रत्येक ६ दिनमा एउटा विमान अपहरण हुन्थ्यो ।

एउटा रिपोर्टअनुसार पाँच दशकअघि राफेले मिनिचिलो नाम गरेका व्यक्तिले विश्वमै सबैभन्दा लामो समयसम्म चलेको ‘हाइज्याकिङ’ अर्थात् विमान अपहरणलाई सफल तुल्याएका थिए ।

२१ अगस्ट, १९६२

दक्षिण इटलीको पहाडी क्षेत्र अर्थात् नेपल्सबाट उत्तरपूर्व अचानक जमिनमा हलचल भयो । स्थानीयबासीका लागि यस्तो हलचल अनौठो थिएन किनकि भूकम्पका दृष्टिमा त्यो युरोपको सबैभन्दा बढी संवेदनशील क्षेत्र मानिन्थ्यो । त्यहाँका बासिन्दालाई भूकम्प झेल्ने आदत नै भइसकेको थियो ।

साँझको समयमा आएको उक्त भूकम्पको तीव्रता ६.१ रेक्टर स्केल थियो । उक्त भूकम्पपछि आएका दुई ठूला झट्काले बढी नोक्सान गरेको थियो ।

भूकम्पको केन्द्रबिन्दु रहेको क्षेत्रबाट २० किलोमिटरको दूरीमा राफेले मिनिचिलोको परिवार बस्दै आएको थियो । त्यतिबेला राफेले केवल १२ वर्षका थिए । भूकम्पको तेस्रो झट्काले राफेलेको गाउँ मिलिटो इरपिनो करिब करिब निर्जन भइसकेको थियो । राफेलेको परिवारसँग केही बाँकी थिएन । उनीहरुको मद्दतका लागि पनि सरकारी स्तरबाट कोही आएन ।

उक्त भूकम्पबाट गाउँ नै ध्वस्त भयो र सिङ्गो गाउँ खाली गरेर फेरि नयाँ बस्ती बसाउनु परेको थियो । पुनर्निर्माणसँग कयौँ परिवार आफ्नै गाउँमा बसे । तर, राफेलेका परिवार भने सुखद् भविष्यका लागि अमेरिकातर्फ लाग्यो ।

३१ अक्टोबर, १९६९

सैन्य पोशाक लगाएका राफेले मिनिचिलो एउटा विमानभित्र प्रवेश गरे । उनको हातमा लस एन्जलसबाट सान फ्रान्सिस्को जानका लागि १५.५० डलरको एउटा टिकट थियो ।

ट्रान्सवल्र्ड एयरलाइन्सको फ्लाइट ८५ का लागि यो अमेरिकाकै अन्तिम गन्तव्य थियो । उक्त विमानले त्यसअघि बाल्टीमोरबाट कयौँ घण्टाको उडान गरेको थियो । उक्त विमान सेन्ट लुइस र कानसास सहर हुँदै लस एन्जलस पुगेको थियो ।

ककपिटमा चालक दलका तीन सदस्य थिए । उनीहरुको मद्दतका लागि चार जना ‘फ्लाइट एटेन्डेन्ट’ थिए । तीमध्ये अधिकांशले केही महिना अघिमात्र विमान सेवामा प्रवेश पाएका थिए । चारैमध्ये सबैभन्दा अनुभवी थिइन् चार्लेनी डेलमोनिको ।

मिजोयरी निवासी २३ वर्षीया डेलमोनिकोको कपाल ‘बब कट’ थियो । उनी तीन वर्षदेखि विमान सेवामा काम गर्दै थिइन् । उनले ‘हेलोभिन’ मनाइने रात बिदा बस्नका लागि आफ्नो ड्युटी परिवर्तन गरेर त्यस दिन काम गरेकी थिइन् ।

त्यसदिन कानसास सहरबाट उडान भर्नु ३१ वर्षीय क्याप्टेन डोनाल्ड कुकले फ्लाइट एटेन्डेन्टलाई आम प्रचलनभन्दा बेग्लैखालको एउटा सूचना जारी गरेका थिए । उनले ककपिटमा आउनका लागि ढोका ढक्ढक्याउनको सट्टा ढोका बाहिर रहेको घण्टी बजाउन सूचना जारी गरेका थिए ।

उक्त विमान लस एन्जलसमा अबेर राति पुगेको थियो । केही यात्री जहाजबाट उत्रिए भने केही यात्री सान फ्रान्सिस्कोसम्मको छोटो उडानका लागि विमानमा चढे । विमानमा बसिरहेका अन्य यात्रीको निन्द्रामा बाधा नपरोस् भनेर विमानभित्रको प्रकाश मधुरो पारिएको थियो ।

विमानभित्र प्रवेश गरिरहेका नवयात्रीका लागि फ्लाइट एटेन्डेन्टहरुले टिकट जाँच गर्दै उनीहरुको सिट देखाउने काम गरिरहेका थिए । यत्तिकैमा डेलमोनिकोको ध्यान एउटा यात्री, खासगरी उनको बोकेको ब्यागमा केन्द्रीत भयो ।

ती यात्री सैन्य पोशाक लगाएका राफेले थिए । लामो र खैरो कपाल भएका उनी केही नर्भस पनि देखिन्थे । उनको ब्यागको एउटा भाग केही असुहाउँदो गरी बाहिर उछिट्टिएको थियो ।

डेलमोनिकोले आफ्ना सहयोगीहरुसँग ती यात्रीको ब्यागमा के छ भनेर सोधिन् । जवाफ आयो– माछा मार्ने रड ।

जवाफ सुनेपछि डेलमोनिकोको मनमा रहेको डर अन्त्य भयो । उनी विमानको पछिल्लो भागतर्फ गइन्, जहाँ उनले ड्युटी सम्हाल्नुथियो ।

विमानमा धेरै भीड थिएन । केवल ४० यात्रीमात्र सवार थिए । ती यात्रीमा पप समूह ‘हार्पर बिजायर’ का शीर्ष पाँच कलाकार पनि थिए । उनीहरु त्यही साँझ एउटा कन्सर्ट गरेर थकित भएका थिए ।

गिटारवादक तथा गायक डिक स्कोपेटोने र ड्रमर जोन पेटेरसन विमानको बायाँतर्फ आफ्नो सिटमा आराम गरिरहेका थिए । उनीहरुले चुरोट पनि सल्काएका थिए ।

३१ अक्टोबर, १९६९ को बिहान स्थानीय समयानुसार १ः३० बजे ‘टीडब्ल्युए ८५’ ले लस एन्जलसबाट सान फ्रान्सिस्कोका लागि उडान भ¥यो । १५ मिनेटपछि नै उक्त विमान ‘हाइज्याक’ को प्रक्रिया सुरु भयो ।

विमानभित्र अँध्यारो थियो किनकि उडान भरेको केहीबेरमा फ्लाइट एटेन्डेन्टले सबै बत्ती निभाइदिएका थिए । चार्लेनी डेलमोनिको विमान यात्रीका लागि दिइने ‘रिफ्रेसमेन्ट’ का सामान मिलाउन व्यस्त थिइन् । २१ वर्षीय ट्रेसी कोलमेन उनलाई सघाइरहेकी थिइन् ।

सैन्य पोसाक लगाएका यात्री राफेले उनीहरु नजिकै आएर उभिए । उनको हातमा ‘एम १’ राइफल थियो । डेलमोनिकोले शान्त र पेसेवर ढङ्गले उनलाई भनिन्, ‘तपाईको हातमा यस्तो हुनु हुँदैनथ्यो ।’

जवाफमा राफेलेले ७.६२ एमएमको एउटा गोली उनको हातमा राखिदिए । उनले आफ्नो हातमा राइफलमात्र नभएर गोलीसमेत लोड भएको संकेत गरेका थिए । उनले ककपिटमा गएर चालक दललाई उक्त गोली देखाउन भने ।

डिक स्कोपेटोन निदाउने प्रयास गरिरहेका थिए । तर विमानभित्रको हल्लीखल्लीले उनी ब्युँझिए । डेलमोनिकाको पछि–पछि एक मानिस हिँडिरहेको थियो, जसले डेलमोनिकाको पिठ्युँमा बन्दुक सोझ्याएको थियो । डिक स्कोपेटोनका साथी जोन पीटरसन केही अगाडिको सिटमा थिए । उनले पनि पछाडि फर्किएर हेरेँ, अनि ट्वाल्ल परे ।

विमानको पछाडि बसेका जिम फिंडले नाम गरेका एक यात्रीले राफेलेलाई चुनौती दिने प्रयास गरे । राफेलेले पछाडि फर्किएर हेरे अनि डेलमोनिकोलाई रोकिन निर्देशन दिए ।

डेलमोनिकोले राफेले एक सैनिक भएको अनुमान गरिन् ।

राफेलेले फिंडलेलाई आफ्नो सिटमा बस्न भने । त्यसपछि डेलमोनिको र राफेले क्याबिनतर्फ बढे । पर्दा उठाएर डेलमोनिको पहिलो श्रेणीको कम्पार्टमेन्टतर्फ प्रवेश गरिन् । उनको खुट्टा लर्बराइरहेका थिए ।

उनले आफ्नो बाटोमा रहेका दुई फ्लाइट एटेन्डेन्टलाई भनिन्, ‘मेरो पछाडि बन्दुक बोकेको एउटा मान्छे छ ।’ त्यसपछि ती दुवै फ्लाइट एटेन्डेन्टले बाटो छाडिदिए ।

केही यात्रीले डेलमोनिकोलाई राफेलेले गाली गरेको पनि सुने । राफेले ककपिटको ढोकामा पुग्नासाथ बढी आक्रामक हुन थाले । उनीभित्रको उन्माद प्रकट भइरहेको थियो ।

डेलमोनिकोलाई विमानका क्याप्टेनको निर्देशन याद थियो । ढोका ढक्ढक्याउने होइन, घण्टी बजाउनुपर्छ भनेर उनले क्याप्टेनको निर्देशन सम्झिइन् । उनले आफ्नो हात घण्टीतर्फ बढाउँदै गर्दा राफेलेले उनलाई रोके । घण्टी बजाएर कुनै चाल चल्न थालेको उनको सोच हुन सक्थ्यो ।

परिणामस्वरुप डेलमोनिकोले ढोका ढक्ढक्याउनै प¥यो । ढोका ढक्ढक्याउँदा पाइलट सचेत हुन्छन् कि भन्ने झिनो आशा पनि उनलाई लाग्यो । तर क्षणभरमै ढोका खुल्यो । उनले चालक दललाई भनिन्, ‘मेरो पछाडि बन्दुक बोकेको मान्छे छ ।’

यत्तिकैमा राफेले ककपिटभित्र प्रवेश गरिसकेका थिए । उनले क्याबिनभित्र रहेका तीनै पाइलट क्याप्टेन कुक, फस्र्ट अफिसर वेनजेल विलियम्स र फ्लाइट इन्जिनियर लोयड होलराहमाथि राइफल तेस्र्याए ।

विलियम्सलाई राफेले निकै प्रशिक्षित र सशस्त्र लाग्यो । जब डेलमोनिको ककपिटबाट बाहिरि निस्किइन्, राफेलेले चालक दललाई ठूलो स्वरमा अंग्रेजी भाषामा भने, ‘विमानलाई न्यूयोर्कतर्फ लैजाऊ ।’

विमानभित्रका सबै यात्रीले केही गडबड भइरहेको आँकलन गरे । हार्पर्स बिजायर ग्रुपका सबै सदस्य राफेले त्यहाँबाट क्याबिनतर्फ अघि बढेलगत्तै एकैठाउँ भेला भइसकेका थिए ।

विमानभित्र उसले कसरी राइफल पायो भन्नेबारे चर्चा सुरु भयो । विमान कता जाँदैछ, के होला भन्नेबारे यात्रुहरु आ–आफ्ना अनुमान सुनाउन थाले ।

विमानमा एसीयाली फ्लाइटमा लगातार ८ दिन काम गरेर बिदामा घर फर्किदैँ गरेकी जूडी प्रोवेन्स पनि थिइन् । टीडब्ल्युएको फ्लाइट एटेन्डेन्ट रहेकी उनले वार्षिक रुपमा आपतकालिन परिस्थितिको सामना गर्ने तालिम लिँदै आएकी थिइन् । यस्तोमा उनले तालिममा आफूले सिकेका ज्ञान र अपनाउनुपर्ने सावधानीबारे यात्रुहरुलाई जानकारी दिइन् ।

यसअघि नै राफेलेलाई चुनौती दिने प्रयास गरेका जिम फिंडले पनि टीडब्ल्युएका पाइलट रहिसकेका थिए । तर, अहिले उनी यात्रीका रुपमा विमानमा सवार थिए । उनले अपहरणकारीको झोला पत्ता लगाए, केही सुराक फेला पर्छ कि भनेर उनले झोला निरीक्षण गरे ।

यत्तिकैमा क्याप्टेन कुकको आवाज स्पिकरमा सुनियो । उनी भनिरहेका थिए, ‘हाम्रो सामु एक त्रसित युवक आएका छन्, हामी उनले जहाँ चाहेका छन्, त्यहाँ विमानलाई लैजादैँ छौँ ।’

विमान जब सान फ्रान्सिस्कोबाट टाढा हुँदै गयो, यात्रीहरुले अनेक अनुमान गर्न थाले । कसैले विमान अब इटली जाने भयो भनेर अनुमान गरे भने कसैले डेनेवर या कायरोतर्फ जाँदै गरेको अनुमान गरे ।

ककपिटभित्र रहेका चालक दललाई पनि ज्यान जान सक्ने त्रासले घेरिरहेको थियो । केही यात्रीका लागि भने यो ‘एडभेन्चर’ जस्तै अनुभव थियो ।

विमानमा सवार केही यात्रीले विमान क्यूबा लैजाने सम्भावना पनि आँकलन गरे । किनकि लामो समयदेखि हाइज्याकरहरुका लागि क्यूवा आकर्षक गन्तव्य बनिरहेको थियो ।

१९६० को दशकको शुरुवातमा कयौँ अमेरिकीहरु मोहभङ्ग भएर तथा कम्युनिस्ट आदर्शलाई स्वीकार नगरिएका कारण र फिडेल क्यास्ट्रोको क्रान्तिका कारण पनि क्यूवा गएका थिए । उक्त द्वीपबाट अमेरिकी विमानले उडान भर्दैनथे । यस्तोमा अपहरणमार्फत नै त्यहाँ विमान लगिन्थ्यो । किनकि अमेरिकी विमान अपहरणकारीलाई क्यास्ट्रोले स्वागत नै गर्दथे ।

१९६१ को तीन महिनामा विमान अपहरण शृङ्खला सुरु भएको थियो । १ मे, १९६१ मा अन्तुलियो रेमिरेज आर्टिज नाम गरेका व्यक्ति नेशनल एयरलाइन्सको विमानमा मियामीबाट नक्कली नामबाट चढे । उनले एउटा चक्कुको मद्दतमा क्याप्टेनलाई धम्क्याएर विमानलाई नियन्त्रणमा लिए । उनले विमानलाई क्यूवा लैजान माग गरेका थिए ।

त्यसको दुई महिनाभित्र अन्य दुई विमान अपहरणमा परे । ब्रेन्डन आई कोर्नरले आफेनो किताब ‘दि स्काइज बिलोङ्ग टू अस– लभ एन्ड टेरर इन दि गोल्डेन एज अफ हाइज्याकिङ्ग’मा लेखेअनुसार ११ वर्षमा अमेरिकामा १५९ व्यावसायिक उडानलाई अपहरण गरिएको थियो ।

विमान अपहरण गरेर क्यूवा लैजाने चलन यति सामान्य भइसकेको थियो कि ब्रेन्डनले आफ्नो पुस्तकमा लेखेका छन्, ‘एक समय यस्तो थियो जब अमेरिकी एयरलाइन्सका क्याप्टेनहरुलाई क्यारेबियन द्वीप समूहका नक्सा र स्पेनिश भाषाको गाइडहरु दिइन्थ्यो किनकि उनीहरुले हवानातर्फको उडान भर्नुपर्ने अवस्था पनि आउन सक्थ्यो । यतिमात्र होइन, फ्लोरिडा एयर ट्राफिक कन्ट्रोलर्स र क्यूवाका बीच एक सोझो फोन लाइन स्थापित गरिएको थियो । यस्तो पनि प्रस्ताव राखिएको थियो कि हवाना विमानस्थलकै नक्कल गरेर एउटा विमानस्थल फ्लोरिडामा बनाउनु पर्छ ताकि अपहरणकारीलाई झुक्याएर क्युवा लैजाने भनेर विमानलाई फेलोरिडामै राख्न सकियोस् ।’

हाइज्याकिङका सुरुवाती चरणमा यात्रीहरुका ब्याग राम्रोसँग चेकजाँच हुँदैनथ्यो । किनकि विमानसेवा कम्पनीहरु यस्तो गर्दा यात्रीले नराम्रो सोच्छन् भन्ने मान्यता राख्थे ।

यसैको परिणामस्वरुप राफेलेले राइफललाई विमानभित्र ल्याउन सफलता पाएका थिए ।

टीडब्ल्युए ८५ विमान अपहरण हुँदासम्म सन् १९६९ मा ५४ विमान अपहरण भइसकेको रिपोर्ट त्यतिबेला एपी समाचार एजेन्सीले प्रकाशित गरेको थियो । अर्थात् हरेक ६ दिनमा एउटा विमान अपहरणमा परिरहेको हुन्थ्यो । यद्यपि त्यतिबेलासम्म अपहरणमा परेको कुनै पनि विमानलाई अर्को महाद्वीपमा लैजान सम्भव भएको थिएन ।

टीडब्ल्युए ८५ विमानका चालक दलका कुनै पनि सदस्यसँग अन्तर्राष्ट्रिय उडानको अनुभव थिएन । विमानमा इन्धन पनि सान फ्रान्सिस्कोसम्मका लागि मात्र पर्याप्त थियो । विमान कहाँ जान्छ भन्नेबारे एक प्रकारको अन्योल थियो ।

यसैबीच क्याप्टेन कुक केबिनले यात्रीहरुलाई भने, ‘यदि तपाईहरु विमान सान फ्रान्सिस्को जाँदैछ भन्ने ठानिरहनु भएको छ भने त्यो गलत हुनेछ किनकि हामी न्यूयोर्क जाँदैछौँ ।’

केही समयको वार्तापछि राफेलेले विमानलाई डेनवरमा उतार्न अनुमति दिए । कोलोराडोको आकाशबाट कुकले ट्राफिक कन्ट्रोललाई विमान अपहरणमा परेको पहिलो जानकारी गराए ।

तर राफेलेले आफ्नो योजना परिवर्तन गरे । उनी ३९ यात्रीलाई डेनवर विमानस्थलमा उत्रन दिन राजी भए पनि एक फ्लाइट एटेन्डेन्टलाई विमानमै राख्नुपर्ने अडान लिए । विमानमा को बस्ने भन्नेबारे केहीबेर चर्चा भयो । राफेले डेलमोनिकोलाई रोक्न चाहन्थे, जसका माध्यमबाट उनले ककपिटको ढोका खुलाउन सफल भएका थिए । तर क्याप्टेन कुक भने रोबर्टा जोनसनलाई विमानमै राख्न चाहन्थे किनकि चारै फ्लाइट एटेन्डेन्टमध्ये उनले रोबर्टालाई राम्ररी चिनेका थिए ।

डेलमोनिकोले विमानमा सवार सबै यात्रीको विवरण लेख्न सुरु गरिन् । त्यतिबेला नै ट्रेसी कोलमेन ककपिटमा चालक दलका सदस्यका लागि कफी लिएर गइन् । उनी त्यहाँबाट फर्कन लाग्दा डेलमोनिकोलाई भनिन्, ‘म जान चाहन्छु ।’

कोलमेनका प्रेमी न्यूयोर्कमा बस्थे । उनी प्रेमीलाई भेट्न चाहन्थिन् । तर डेलमोनिकोलाई विमानको अन्तिम गन्तव्य न्यूयोर्क हुँदैन भन्ने अन्दाज थियो । उनले कोलमेनलाई भनिन्, ‘तिमी न्यूयोर्कमा बस्न पाउने छैनौ, किनकि त्यहाँ अपहरणकारीले आफूलाई सुरक्षित महसुस गर्नेछैन, उसले विमानलाई कहाँ लैजान्छ भन्ने ठेगान छैन तर न्यूयोर्कमा पक्कै बस्ने छैन भन्ने मलाई थाहा छ ।’

राफेलेले डेनवरमा विमान अवतरण हुनासाथ सबै बत्ती निभाउनुपर्ने माग गरे । आफूलाई कुनै अप्ठ्यारो परिस्थिति सामना गर्नु नपरे सबै यात्री सुरक्षित रहने बाचा उनले गरे ।

बिदामा यात्रा गरिरहेका पाइलट जिम फिंडले बाहिर निस्कने बेलामा ‘हेलोविन’को ड्रेस विमानभित्रै छाडेछन् । उनले राफेलेलाई आफ्नो ड्रेस विमानभित्रै छुटेको जानकारी दिए । अनि सोधे– म ड्रेस लिन जान सक्छु ?’

राफेलेले नम्र आवाजमा जवाफ दिए– ‘निश्चित रुपमा ।’

सबै यात्री विमानबाट ओर्लिए । जाडो मौसम थियो । सूर्योदयका लागि दुई घण्टा बाँकी थियो । यात्रीहरुले विमानस्थलमा ओभरकोट लगाएका एक एफबीआई एजेन्टलाई भेटे, जसको मुहार कठोर खालको थियो ।

यात्रीहरुलाई टर्मिनलको एउटा अँध्यारो करिडोरको बाटोबाट लगियो । एउटा कोठामा उनीहरुलाई राखियो । सबै जना बयान लिइने प्रतीक्षामा थिए ।

तीनै फ्लाइट एटेन्डेन्टले आफ्नो बयान एफबीआइसामु टिपाए । डेलमोनिकोले १३ पाना लामो लिखित विवरण दिइन् ।

विमानस्थलमा पत्रकार तथा फोटोग्राफरहरुले यात्री तथा फ्लाइट एटेन्डेन्टहरुको तस्वीर लिए, घटनाको विवरणबारे सोधे ।

नसुतिकन रात बिताएकी डेलमोनिको आफ्नो घरमा थिइन् । साँझ उनको घरमा टेलिफोनको घण्टी बज्यो । एफबीआइ एजेन्टले फोनमा सोधे, ‘हामी अहिले भेट्न आउन सक्छौँ ?’

राति ११ बजे उनीहरु डेलमोनिकोको घरमा आए । उनीहरुले एउटा तस्वीर देखाए । त्यो तस्वीर राफेलेको थियो । उनले तत्कालै भनिन्, ‘यो त्यही मान्छे हो ।’

उता अपहरणमा परेको विमानको डेनवरबाट तीन घण्टाको उडान शान्तिपूर्ण ढंगबाट पूरा भयो । राफेले फस्र्टक्लास कम्पार्टमेन्टमा बसेका थिए । उनको छेउमा बन्दूक राखिएको थियो । उनले आफ्ना लागि एक असामान्य खालको ककटेल ड्रिङ्क बनाए–क्यानाडेली क्लव ह्वीस्की र जिनलाई मिलाएर ।

टीडब्ल्युए ८५ मा केवल पाँच जना थिए–क्याप्टेन कुक, फस्र्ट अफिसर वेंजेल विलियम्स, फ्लाइट इन्जिनियर लोयढ होलाराह, फ्लाइट एटेन्डेन्ट ट्रेसी कोलमेन र अपहरणकारी राफेले आफैँ ।

प्लेन बिहान जोन एफ केनेडी विमानस्थलमा अवतरण ग¥यो । विमानलाई टर्मिनलबाट टाढै पार्क गरियो । डेनवरमा जस्तै ककपिटबाट आदेश दिइयो कि विमानतर्फ कमभन्दा कम मानिस आउन् । तर त्यहाँ एफबीआइले पूरा तयारी गरेको थियो, उनीहरु अपहरणकारीलाई रोक्ने प्रयासमा थिए । एउटा घरेलु उडानलाई अपहरण गरेर अर्को महाद्वीपमा लैजाने चलन सुरुवात नहोस् भन्नेमा एफबीआइ डटेर लागेका थिए ।

विमान नजिकै करिब १०० एजेन्ट प्रतीक्षा गरिरहेका थिए । केही प्राविधिक कर्मचारीको भेषमा समेत थिए ।

विमानमा इन्धन भर्ने प्रक्रिया सुरु हुनै लाग्दा एफबीआइ एजेन्टहरु विमानतर्फ अघि बढ्न थाले । ककपिटको झ्यालबाट क्याप्टेन कुक एक एजेन्टसँग कुरा गरिरहेका थिए । उनी राफेलेसँग कुरा गर्न चाहन्थे तर राफेले त्यसका लागि तयार भएनन् ।

वेंजेल विलियम्सले यस घटनाको ५० औं वर्ष पूरा भएको अवसरमा बीबीसीसँग कुरा गर्दै भने, ‘राफेले मिनिचिलो विमानभित्र यताउता हिँडिरहेका थिए ताकि एफबीआइका एजेन्टहरुले झ्यालबाट राम्ररी हेर्न नसकुन् ।

अचानक विमानभित्र  गोली चल्यो । उक्त अपहरणसँग सम्बन्धित स्वीकृत दस्तावेजअनुसार राफेलेको राइफलबाट गोली चलेको थियो । उनको उद्देश्य भने गोली चलाउनु थिएन । आक्रामक स्थितिमा ककपिटको ढोका बाहिर उनको औँलाले राइफलको ट्रिगर थिचिएको थियो ।

गोली छतबाट माथि अक्सिजन ट्याङ्कमा ठोक्कियो । तर ट्याङ्कलाई हानी भएन । नत गोलीले विमानलाई नै कुनै असर प¥यो ।

गोली गल्तीले नै चलेको भए पनि यसले चालक दल र बाहिर रहेका एफबीआइ एजेन्टहरुको सातो लियो । उनीहरुले मानिसको जीवन दाउमा रहेको महसुस गरे ।

क्याप्टेन कुकले गोली नियोजित रुपमै चलाइएको अनुमान गरे । उनी झ्यालबाट एजेन्टहरुलाई कराउन थाले । इन्धन भर्ने काममा व्यवधान खडा गरेमा यत्तिकै विमान लिएर जाने चेतावनीसमेत उनले दिए ।

यसैबीच दुई क्याप्टेन बिली विलियम्स र रिचर्ड हेस्टिङ्ग्सले एफबीआइ एजेन्टकाबीचबाट ठाउँ बनाउँदै विमानमा चढे । रिचर्ड अन्तर्राष्ट्रिय उडानका लागि अनुभवी थिए ।

विमानमा अब दुई नयाँ पाइलट थपिएका थिए, जो अपहरणकारीका साथ मजाक गर्ने मुडमा पटक्कै थिएनन् । विमान त्यहाँबाट उड्यो ।

तर रोमसम्म पुग्नका लागि इन्धन थिएन । क्याप्टेन कुकले राफेलेलाई केनेडी विमानस्थलमा भएको घटनामा चालक दलको भूमिका नरहेको सम्झाउन खोजिरहेका थिए ।

उक्त विमान एकघण्टा भित्रै अमेरिकाको उत्तरपूर्वी सीमास्थित बेंगोरमा उत्रियो । त्यहाँ एटलान्टिक महासागर पार गर्नका लागि चाहिने पर्याप्त इन्धन भरियो ।

विमानमा दुई नयाँ पाइलटले जिम्मेवारी सम्हालेपछि क्याप्टेन कुक केही फुर्सदिला भए । उनी राफेलेसँग बसेर गफ गर्न थाले ।

एटलान्टिक महासागर पार गर्ने क्रममा ट्रेसीले पनि राफेलेसँग कुरा गर्न थालिसकेकी थिइन् । उनी पहिलो पटक अमेरिका बाहिर उडानमा थिइन् ।

मध्यरात उक्त विमान शेनोन विमानस्थलमा इनधनका लागि अवतरण ग¥यो । विमानमा खानेकुरा केही थिएन । बन्दुकको नालमा बसेको मानिसलाई त्यसै पनि भोक निद्राको वास्ता हुँदैन ।

विमान आयरल्यान्डमा करिब आधा घण्टा लगाएर इन्धन भरेपछि फेरि उडान भ¥यो । ११ हजार किलोमिटर लामो यात्राको यो अन्तिम चरण थियो ।

बिहान रोमको फ्युमिसिनो विमानस्थलको आकासमा उक्त विमानले चक्कर लगायो । राफेलेले विमानलाई टर्मिनलबाट टाढा राख्न लगाए । उनी हतियारविनाका प्रहरीसँग भेट्न चाहन्थे । साढे १८ घण्टा अघि क्यालिफोर्नियाको आकासमा सुरु भएको अपहरणको कथा अन्तिम चरणमा पुगेको अनुभूति सबैले गरिरहेका थिए ।

५ बजे बिहान विमानस्थलमा एउटा कार विमानतर्फ आयो । कारबाट पेएट्रो गुली नाम गरेका डेपुटी कस्टम अधिकारी थिए । उनले अपहरणकारीसँग भेट गर्ने प्रस्ताव गरे । उनी हात उठाएर विमानमा आए । राफेलेले बाहिर निस्किएर उनलाई स्वागत गरे ।

न्यूयोर्क टाइम्सले त्यतिबेला लेखेको थियो, ‘यो नै विश्वको सबैभन्दा आकर्षक र लामो समयसम्म चलेको हाइज्याकिङ थियो ।’

विलियम्सका अनुसार अपहरणकारीले विमानबाट उत्रिनासाथ चालक दललाई होटलमा जान प्रस्ताव गरेका थिए । तर चालक दलले उनको प्रस्तावलाई विनम्रतापूर्वक अस्वीकार गरिदिए । क्याप्टेन कुकलाई राफेलेले भने, ‘मैले तपाईहरुलाई धेरै दुःख दिएँ ।’

जवाफमा कुकले भने, ‘केही छैन, हामीले यसलाई व्यक्तिगत रुपमा लिएका छैनौँ ।’

जाँदाजाँदै राफेलेले क्याप्टेनलाई भने, ‘यति लामो समयसम्म मैले तपाईहरुमाथि जे गरेँ, यसका लागि मलाई खेद छ ।’ राफेलेले क्याप्टेन कुकको सम्पर्क ठेगानासमेत नोट गरे ।

अनि पेएट्रोका साथ राफेले उक्त विमानबाट ओर्लिए । चालक दलका ६ सदस्यले ठूलो राहत महसुस गरे । उनीहरुले हाइज्याकिङको अर्को चरणमा अर्थात् राफेले र उनका नयाँ बन्धकका लागि सुरक्षित रुपमा अन्त्य होस् भन्ने कामना गरे ।

लस एन्जलस, डेनवर, न्यूयोर्क, बेंगोर, शेनोन, रोमपछि राफेलेका लागि एउटौ गन्तव्य बाँकी थियो । उनले पिएट्रोलाई नेपल्स लैजान भने ।

प्रहरीको चारवटा कारले उनीहरुको कारलाई पिछा गरिरहेको थियो । प्रहरी अधिकारीहरुको आवाज पिएट्रोको रेडियोमा गुञ्जिरहेको थियो । राफेले भने पछाडीको सिटमा थिए ।

रोमबाट करिब ६ माइल टाढा उक्त कारले आफ्नो पछाडि आइरहेका प्रहरीका कारलाई चक्मा दियो । उक्त कार एउटा सानो गल्लीको बाटो अघि बढ्यो । एउटा ठाउँ पुगेपछि बाटो अन्त्य भयो । अनि दुवैजना कारबाट ओर्लिए । राफेलेले अब थोरैमात्र विकल्प रहेको महसुस गरे । अनि दुवैजना त्यहाँबाट तीव्र रफ्तारमा दौडिए ।

राफेलेले लस एन्जलसबाट विमान चढेको २३ घण्टापछि आफ्नो गन्तव्य फेला पारे । यद्यपि उनको व्यापक खोजी भइरहेको थियो । पाँच घण्टाभन्दा लामो समयदेखि हेलिकप्टर, कार, कुकुरको सहायतामा उनको खोजी भए पनि रोम प्रहरीले उनलाई फेला पार्न सकेको थिएन । अन्त्यमा एक पादरीले उनलाई फेला पारे ।

१ नोभेम्बर शनिबारको दिन थियो । यस दिन पादरीहरुले ‘अल सेन्ट्स् डे’का रुपमा मनाउने परम्परा छ । सेन्चुरी अफ डिवाइन लभ चर्चमा बिहानै ठूलो भिड थियो । राम्रा र सुकिला लुगा लगाएका मानिसहरुको भिडमा राफेले बेग्लै देखिन्थे । उनी चर्चमा जानुअघि आफ्नो सैन्य पोशाक र राइफल अन्तै लुकाएर गएका थिए । तर उनको अनुहार प्रख्यात भइसकेको थियो । आखिर चर्चका उप पादरी डन पास्कले सिलाले उनलाई चिने ।

चर्च वरिपरि प्रहरीले घेरा हालिसकेको थियो । राफेलेले सोधे, ‘मेरा आफ्नै मानिसहरु मलाई किन गिरफ्तार गर्न खोजिरहेका छन् ?’

पछि उनलाई पत्रकार सम्मेलनमा उपस्थित गराइयो । एक पत्रकारले सोधे, ‘तपाईले किन यस्तो गरेको ?’

उनको जवाफ थियो– मलाई थाहा छैन ।

अपहरण गरिएको विमानका बारेमा अर्का पत्रकारले प्रश्न सोधे ।

राफेलेको जवाफ थियो– कुन विमान ? तपाई के कुरा गर्दै हुनुहुन्छ, मलाई केही थाहा छैन ।

पछि राफेलेले विमान अपहरणको कारण खोले । 

राफेले गिरफ्तार भएको खबर विश्वमा फैलियो । यो समाचार क्यालिफोर्नियामा मरिन ब्यारेकमा बसेर खाजा खाइरहेका ओटिस टर्नरले टेलिभिजनमा देखे ।

टेलिभिजनमा देखाइको तस्वीर राफेलेको रहेको उनले चिने । कुनै बेला राफेले र उनी भियतनाममा एउटै सैन्य टोलीमा तैनाथ थिए ।

विमान अपहरण हुँदा अमेरिकी सेना भियतनामको जमिनमा पुगेको साढे चार वर्ष भएको थियो । अमेरिकाले आफ्नो मिसन असफल भएपछि भियतनाम छाड्नु परेको थियो । यस युद्धमा ५८ हजार अमेरिकी सैनिक र लाखौं भियतनामी मारिएका थिए ।

सन् १९६९को अन्त्यतिर अमेरिकाभित्र यस युद्धलाई लिएर व्यापक विरोध भइरहेको थियो । २० लाख मानिस सडकमा निस्किएर भियतनाम युद्ध रोक्न माग गरिरहेका थिए ।

मे १९६७मा १७ वर्षका राफेलेले सिएयटललाई छाडेका थिए, जहाँ उनी इटलीबाट आएर परिवारसँग बस्दै आएका थिए । उनी मरिनमा सामेल हुन सान डियागो गए । उनी मुस्किलले अंग्रेजी बोल्थे । उनलाई अमेरिकाप्रति गर्व थियो र देशका लागि युद्धमा भाग लिन चाहन्थे ताकि उनलाई पूर्ण रुपमा अमेरिकी नागरिक मानियोस् ।

ओटिस टर्नर पनि त्यतिबेला नै भियतनाम पुगेका थिए, जतिबेला राफेले पुगे । दुवै एउटै पल्टनको अलग अलग टुकडीमा तैनाथ थिए ।

टर्नरका अनुसार उनको र राफेलेको पल्टनमा कयौं सदस्य ‘पोस्ट ट्रामेटिक डिसअर्डर’का बिरामी थिए । टर्नर आफैँ पनि पीडित थिए । भियतनाममा तैनाथ ३० प्रतिशत सेना कुनै न कुनै समय यसबाट पीडित रहे ।

राफेले पनि यसबाट अछुत रहेनन् । सन् २००८ सम्म पनि उनले यसको उचित उपचार गराउन पाएका थिएनन् । किनकि सेनाबाट अवकाश हुँदा उनले कम उपदान पाए । यसका विरुद्ध उनले लामो कानुनी संघर्ष पनि गरे ।

विमान अपहरण गर्नुको अर्को एउटा कारण पनि प्रकाशमा आयो । भियतनाममा तैनाथ रहँदा राफेलेले बचत योजनाअन्तर्गत ८०० डलर जम्मा गरेका थिए । उनी क्यालिफोर्नियास्थित बेस क्याम्प पुग्दा आफ्नो खातामा ६०० डलरमात्र रहेको पाए । उनले वरिष्ठ अधिकारीहरुलाई गुनासो गरे । आफ्नो २०० डलर खाताबाट गायब भएको उनको गुनासोलाई कसैले महत्व दिएन ।

उनी उक्त रकम लिएर मरणासन्न आफ्ना पितालाई भेट्न इटली जान चाहन्थे । रकम अपुग भएपछि उनले २०० डलर बराबरको सामान चोरी गर्ने योजना बनाए । ८ बोटल बियर पिएर उनी चोरीका लागि गए । तर एउटा स्टोरभित्र चोरी गर्न गएका उनी त्यहीँ ढलेर निदाए । बिहान उनी पक्राउ परे ।

विमान अपहरण गर्नुभन्दा एक दिन अघि उनी कोर्ट मार्शलका लागि उपस्थित हुनुपर्ने थियो । तर उनी त्यहाँ नगएर राइफलसहित भागेका थिए । उक्त राइफल उनले भियतनाम वार ट्रफीका रुपमा दर्ता गराएका थिए ।

पछि उनलाई अमेरिकाले प्रत्यर्पण गर्नका लागि इटलीलाई आग्रह गरेको थियो । तर इटलीकै कानुनअनुसार उनलाई दोषी ठहर गरी सजाय दिइयो । उनलाई इटलीको वायुक्षेत्रमा गरेको गल्तीमा मात्र दोषी ठहर गरी सजाय तोकिएको थियो । उनी सन् १९७१ मा रिहा भए । (बीबीसी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप