बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

म किङ मेकर !

शनिबार, २६ पुस २०७६, १० : ०२
शनिबार, २६ पुस २०७६

चलचित्र क्षेत्रको सर्वोच्च पद अर्थात् चलचित्र विकास बोर्डको अध्यक्ष पद अहिले खाली छ । करिब एक महिना अगाडि चलचित्रकर्मी केशव भट्टराईको निधन भएपछि उक्त पद रिक्त रहेको हो । करिब एक दर्जन चलचित्रकर्मी अहिले उक्त पदका लागि शक्ति केन्द्रहरु धाउनेदेखि विभिन्न सङ्घ संस्थाबाट सिफरिस गराउनेसम्मको चलखेलमा क्रियाशील छन् ।

विकास बोर्डमा सरकारमा भएको पार्टीले राजनीतिक रूपमा आफ्ना कार्यकर्ता नियुक्ति गर्दै आएको छ । सोहीअनुसार यसअगाडि सरकारले नेकपाको भ्रातृ सङ्गठन चलचित्रकर्मी सङ्घबाट केशव भट्टराई नियुक्ति गरेको थियो । जसको सिफरिस चलचित्रकर्मी सङ्घको संयोजकको हैसियतले कलाकार, निर्देशक तथा सञ्चारकर्मी दिनेश डीसीले गरेका थिए ।

हुन त केशव भट्टराई अगाडि विकास बोर्ड नेतृत्वका लागि डीसीको नाम चर्चामा थियो । उनले त्यो पदमा जाने चाहना नदेखाएपछि केशवले अवसर पाएका हुन् । अहिले पनि डीसीको नाम पहिलो नम्बरमा आउने गरेका छ । नेकपाको चलचित्रकर्मी सङ्घको संयोजकको हिसाबले उनको नाम पहिलो नम्बरमा आउनु स्वाभाविक पनि हो । तर उनी बोर्डको नेतृत्वमा जानेभन्दा पनि योग्य सक्षम र इमानदार व्यक्ति पठाउने कसरतमा छन् ।

करिब एक सय हाराहरीको फिल्म अभिनय, आधा दर्जन पुग नपुग फिल्म निर्देशकको अलवा विभिन्न सानो पर्दाको टेलिचलचित्र, म्युजिक भिडियो र विज्ञापन चलचित्र लगायत थुप्रै कार्यक्रममा निर्देशनका अलवा लामो समयदेखि मिडियाको अनुभव सँगालेका दिनेशको नजरमा किन बोर्डतिर परेन, उनी बोर्डमा कस्तो व्यक्ति सिफारिस गर्छन् र चलचित्र बनाउने नबनाउने उनको आगामी दिनको योजना के छ ? यस विषयमा केन्द्रित रहेर उनीसँग गरिएको कुराकानी उनकै शब्दमा ।

बोर्डमा आउने सोच छैन ?

बोर्डको नेतृत्व गर्ने चाहना ममा कहिल्यै भएन । चाहना भएको भए मैले यसअगाडि पनि अवसर पाएको थिएँ । स्वर्गीय केशव भट्टराईलाई बोर्ड नेतृत्वका लागि नेकपाको चलचित्रकर्मी सङ्घको संयोजकको हिसाबले मैले नै सिफरिस गरेको हो । म अहिले रेडियो कान्तिपुर जस्तो स्वतन्त्र प्राइभेट संस्थाको  इन्टेन्सन म्यानेजर पदमा छु ।

त्यसैले विकास बोर्डमा आफू जानुभन्दा पनि धेरै अगाडिदेखि पार्टीका लागि खटिएका योद्धा र चलचित्र क्षेत्रका लागि केही गर्छु भन्ने मानिस जानुपर्छ भन्ने मेरो भावना हो । मलाई अहिले बोर्ड अध्यक्षको आकाङ्क्षा छैन । पहिले पनि म त्यही भएर नगएको हो ।

अहिले पनि नेकपाको चलचित्रकर्मी सङ्गठन प्रमुखका हिसाबले के छ भन्दा मैले पहिलेकै अडान दोहोर्‍याए । बाहिर बसेर मार्ग निर्देशन गर्छु । सीधैभन्दा रेडियो कान्तिपुर नछोड्न चाहेको कारण विकास बोर्डको इच्छा नभएको हो । अहिले कुनै राजनीतिक नियुक्तिको लोभ छैन ।

बोर्ड अध्यक्ष को ?

बोर्ड अध्यक्षका लागि अहिले धेरै साथीहरु आकाङ्क्षी छन् । नेकपाको चलचित्रकर्मी सङ्घको प्रमुखका हिसाबले कसलाई सफरिस गर्ने भन्ने कुराले मलाई प्रेसर महसुस भएको छ । अरूभन्दा आफू हुनुपर्छ भनेर धेरै साथीहरुले लबिङ गरिरहेका छन् । नाम उल्लेख नगरी भन्नुपर्दा अहिले करिब १० जना त्यो पद हत्याउने दौडमा छन् ।

तर पार्टी पद्धतिको नियम, पाटीमा भएको छविको अनुसार सिफारिस हुन्छन् । काम गर्ने मानिसले अवसर पाउँछ र अवसरवादी सोच भएको मानिस थन्किन्छ । पार्टीको अलवा चलचित्र क्षेत्रमा विगतमा ती व्यक्तिले खेलेको नेतृत्वदायी भूमिका र योगदान पनि हेर्नुपर्छ ।

मेरो विचारमा विकास बोर्ड कुनै स्टारडम देखाउने ठाउँ होइन । यो ठाउँमा प्रशासकीय कामको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । हरेकसँग एउटा मिसन, भिजन र लक्ष्य हुने गर्छ । तर त्यो लक्ष्य लिडरले मात्र पूरा गर्नसक्छ । त्यो लिडरसिप क्वालिटी भएको मानिस सिफरिसमा पर्छन् ।

विवाद बाहिर आएन

जब बोर्डको नेतृत्वको कुरा उठ्छ । महत्त्वकाङ्क्षी धेरै देखिन्छन् । धेरै महत्त्वकाङ्क्षी भएपछि विवाद र झमेल हुन्छ । यस अगाडि पनि विवाद भएको थियो । तर बाहिर आएन । सक्षम र सबैभन्दा योग्य व्यक्ति छनौट भएपछि विवाद सेलाउने गर्दछ । स्वर्गीय केशव भट्टराई छनोटमा पनि त्यही भएको थियो । अहिले पनि पहिलेझँै निर्विवाद मानिस जान्छन् ।

त्यो आरोप झुट हो ?

केही पहिले निर्देशक समाजको अध्यक्षमा मलाई साथीभाइले अगाडि सारेका थिए । सोहीअनुसार मेरो नाम अगाडि आयो । धेरैले दिनेश पछिल्लो समय मिडियाबाट ओझेल छ । चर्चामा आउन अध्यक्ष उठ्ने भनेर स्क्यान्डल गर्‍यो भनेरसमेत भने । तर मलाई समाचारका लागि त्यस्तो गर्नु पर्दैन ।

राम्रो र सक्षम अध्यक्ष उठ्ने व्यक्ति नदेखेर मैले चाहना गरेको थिए । रक्षासिंह राणा आउने भएपछि म उठ्न र उहाँलाई सघाएँ । उहाँलाई जितायौँ पनि । निर्देशक समाजको अध्यक्षमा मैले एक कार्यकाल निर्वाचित भएर पूरा गरिसकेको छु । त्यहाँ जानुपर्ने आवश्यकता तत्काललाई नदेखेर रक्षालाई नै सघाएको हो । धेरै कम साथीहरु भएको त्यो संस्थामा अरूले पनि आफू नेतृत्वमा जाने, लिडरसिप गर्ने क्षमता विकास हुनुपर्छ भन्ने मेरो मान्यताअनुसार नेतृत्व आयो । म त्यसमै खुसी छु ।

किङ मेकर होइन

निर्देशक समाजमा हाम्रो अनुरूपमा नेतृत्व आएपछि धेरै साथीहरु पछि पर्नुभयो । उहाँले निर्देशक समाजमा दिनेश डीसीले चलखेल गर्‍यो । केही अगाडि कलाकार सङ्घमा पनि त्यस्तै गरेको थियो भनेर आरोपसमेत लगाए । विकास बोर्डमा नेकपा चलचित्रकर्मी सङ्घ प्रमुखका हिसाबले पनि मेरो सिफरिस चल्छ ।  यी सबै कुरा जोडेर दिनेश किङ मेकर बन्न खोज्यो भनेरसमेत भन्न थालेका छन् । ती सबैलाई म किङ मेकर होइन भन्न चाहन्छु ।

समयका कारण नेकपाले उसको सांस्कृतिक सङ्गठनको अभिभार अहिले मलाई दिएको छ । त्यसैले हाम्रो संस्कृतिक मान्यतालाई स्थिापित गर्न चलचित्र क्षेत्रमा र सञ्चार जगतको नीति नियममा बोल्न र उनीहरुले दिएको नीति नियम लागू गर्नका लागि हाम्रा मानिस हुनु जरुरी छ । नत्र जति हुनुपर्ने प्रोसस थियो । त्यो हँुदैन भनेर सबै साथीहरुको सहयोगमा हाम्रा र राम्रा व्यक्ति सङ्घ सङ्गठनमा ल्याउने कसरत गरेको हो । यसमा सबै राजनीतिक विचारधार भएका साथीहरुको पनि सहयोग रहेको थियो ।

मेरो राजनीतिक करियर २०३७ सालदेखिको हो । त्यो समयदेखि अहिलेसम्म जारी छ । अहिले सरकारको नेतृत्व गरिरहेका पूर्व माओवादीका नेता हुन् वा पूर्व एमालेका । नेता वा मन्त्रीमण्डलमा रहेका व्यक्तिहरुको नजिकमा रहेको मलाई कला, संस्कृति र साहित्यका कुरा सोध्नुहुन्छ । उहाँहरुका लागि म भरपर्दाे सोर्स पनि हुँला । किनभने २७ वर्षदेखि म यो फिल्ममा छु । को के हो भन्ने मलाई स्पष्टछ ।

अर्काे कुरा धेरै समय बिताएको र मिडियामा पनि भएको कारणले कलाकार सङ्घ, निर्देशक समाज र बोर्डमा कुन प्रकारका मानिस आउँदा राम्रो हुन्छ भन्ने थाहा छ । मेरो यो क्षमताले कसैले मलाई किङ मेकर जस्तो देखेका होलान् । तर म आफूलाई किङ मेकर मान्दिन । म सबैको सहयोगी हुँ । म कनेक्टर हुँ भन्न रुचाउँछु ।

तत्काल फिल्म गर्दिनँ

दिनेश डीसी फिल्म बनाउँदैन राजनीति गर्छ भन्ने पनि छन् । तर कुरा त्यो होइन । मैले अहिले फिल्म निर्माण आवश्यक ठानिनँ । ४ वर्ष अगाडि मैले ‘फूलै फूलको मौसम’ बनाएको थिएँ ।

अर्काे कुरो रेडियो कान्तिपुर मैले तीन वर्ष अगाडि ज्वाइन गरेको हो । यो संस्थामा फुलटाइम जब होल्डिङ गरिसकेपछि फिल्म निर्देशन गर्नका लागि लामो समय बिदा लिनका लागि केही पावबन्दी आफैले महसुस गरेँ । किनभने एउटा निर्देशनका लागि घटीमा पनि छायाङ्कनका लागि ३ महिना पूरा र अर्काे तीन महिना हाफटाइम दिनुपर्छ । मेरो विचारमा एउटा फिल्मका लागि निर्देशकले कम्तीमा पनि ९ महिना समय छुट्याउनु नै पर्छ ।

९ महिना म बिजी हुँदा कान्तिपुर मिडिया ग्रुपले दिएको त्यो अभिभारा पूरा गर्न सक्दिन कि भनेर फिल्म नगरेको हो । फिल्म अभिनय गरिरहेको छु । म्युजिक भिडियो, विज्ञापन निर्देशन गरिरहेको छु । अवार्ड सो गर्छु । केही फिल्मका अफर आइरहेका छन् विदेश सुटिङ गर्ने भनेर । तर तक्काल फिल्म गर्ने योजना छैन ।

मेरो पहिचान बन्यो

जतिबेला रेडियो कान्तिपुरको एकदमै क्रेज थियो । त्यो समय कान्तिपुरमै थिए म । ‘आवाजको दुनियाको यो साथी’ भन्ने मेरो नाम यसले नै दिएको हो । धेरैले मलाई दिनेश डीसीका रूपमा पनि चिन्नुका कारणमध्ये एक रेडियो पनि हो । त्यसपछि टीभीमा केही समय काम गरेँ । बाहिर मैले यो रेडियो र टीभीले दिएको फेस र आवाज बेचेर आफ्नो करियर बनाएको हो ।

अर्काे कुरो म एकै प्रकारको काम मननपराउने मानिस पनि हुँ । फरक फरक काम गर्न रुचाउने भएका कारणले म सिफ्ट हुँदै रहेँ । कहिले रेडिायो, कहिले टेलिभिजन र कहिले फ्रिलाइन्सर   एक समय ट्वाक्क टुक्क भन्ने हास्य शृङ्खला बनाएँ । यो सुपरहिट हुँदाहँुदै छोडेर, विमान चालक भन्ने बनाएँ । त्यो पनि सुपरहिट भयो । त्योपछि छोडेर अन्य केही रियालटी सो गरेँ । क्विज कन्टेस्ट गरेँ । निर्देशक समाजको अध्यक्षको जिम्मेवारी सम्हालेँ । अहिले कान्तिपुर मिडिया ग्रुपले स्टेसन हेडका रूपमा जिम्मा पाएको छु । अहिले यो रेडियो जस्तो लेबलको अर्काे प्राइभेट रेडियो स्टेसन पनि छैन ।

अहिलेसम्मको जीवन यात्रामा मैले जागिर खाएकै थिइनँ । पहिलो जागिर नै यो हो । उमेरले ५० कट्दै गर्दा रेडियोको यो जागिर छोड्न मन लागेन । एउटा कुरा जागिरमा विभिन्न सुविधा पनि छ, अर्काे कुरो एउटा प्राइभेट अर्गनाइजेसनमा कुनै मानिस फर्किएर आउँछ र राम्रो पोस्ट पाउँछ भने त्यो मानिस सक्षम छ भन्ने बुझाउँछ । यो मेरो करियरमा रेडियो कान्तिपुरले देखाएको छ ।

यो मेरो सपना

म अहिले रेडियो कान्तिपुरमा मात्र बिजी छु । तर कसैले पत्याउँदैन । केही न केही फरक काम गरिरहनुपर्ने मानिस भएकाले दिनेश कहाँ एउटामा अल्झिएर बस्छ भनेर साथीभाइले भन्छन् रे । कतिले त डीसीको ठूलो प्लानिङ र काम गरिरहेका छन् पनि भन्ने गरेका छन् । मैले मिडिया सेक्टरमा अहिले कुनै ठूलो काम गर्न खोजेको छैन ।

सहिद भक्ति थापाको विषयमा चलचित्र बनाउँछु भनेको १० वर्ष भयो होला । यो मेरो जीवनको सपना हो । यो सपना कुनै दिन पूरा गर्छु । त्यसका लागि विभिन्न गृहकार्य भइसकेका छन् ।

नेपालमा जब नेकपाको दुई तिहाइ सरकार बन्यो, त्यसपछि केही काम सामाजिक हिसाबले गर्न साथीभाइले थालेका छन् । त्यसमा म फ्यासिलेटेर र कनेक्टरको रूपमा सक्रिय छु । विद्युतीय बस जो अहिले सुचारु छ । त्यसमा काम गरिरहेको छु । कृषिको क्षेत्रमा पनि एउटा ठूलो काम र नयाँ स्मार्ट डिजिटल नेपालको पनि कनेक्टर भएर काम गरिरहेको छु । यो मेरो फिल्डभन्दा केही फरक काम पक्कै हो । त्यो बाहिर आएपछि सबैलाई फाइदा मिल्छ । पछिल्लो समय सरकार र समाजलाई फाइदा पुग्ने काममा म छु ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप