शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : पेचिलो बन्दै सभामुख चयन, सुखसयलमा मन्त्रीहरु

शनिबार, २६ पुस २०७६, ०७ : ०७
शनिबार, २६ पुस २०७६

आज पुस २६ गते शनिबार प्रकाशित मुख्य दैनिक पत्रिकाले प्रदेश नं ३ को स्थायी राजधानी हेटौंडा नै तोकिएको विषयलाई प्रकाशित गरेका छन् । त्यसैगरी प्रतिनिधिसभाको सभामुख चयनको विषयले प्राथमिकता पाएको छ । नेपाल ट्रष्टको जग्गा भाडा प्रकरणमा उच्च अदालतले दिएको आदेश र क्रसर डनको विरोध गर्ने युवाको टिपरले पेलेर ‘हत्या’ गरिएको विषयलाई आजका दैनिक पत्रिकाले प्राथमिकता दिएका छन् । 

पेचिलो बन्दै सभामुख चयन

प्रतिनिधिसभा सभामुखविहिन भएको चार महिना बितीसक्दा पनि सत्तारुढ नेकपाका नेताहरुले साझा उम्मेदवार तय गर्न नसकेपछि सभामुख चयनको विषय झनै सकसपूर्ण भएको विषयमा कान्तिपुर दैनिकले मुख्य समाचार लेखेको छ । समाचारमा शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच करिब तीन घण्टा भएको छलफल पनि टुंगोमा पुग्न सकेन । 

‘आइतबार डाकिएको संसद् बैठक भरसक स्थगित गर्न नपरोस् भनेर उहाँहरु छलफलमा जुट्नु भएको थियो,’ अध्यक्षद्वय निकट स्रोतले भन्यो,‘तर सहमति भएन, तत्काल सहमति हुनेगरी अघि बढेको पनि देखिएन ।’ छलफलमा अध्यक्ष दाहालले एकीकरण पूर्वको सहमतिअनुसार पूर्वमाओवादीलाई सभामुख दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । 

‘सचिवालयका नौ सदस्यमध्ये चार जना त हामीलाई सभामुख दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, बादलजी(गृहमन्त्री रामबहादुर थापा)को पनि सभामुख यतै हुनपर्छ भन्ने लाइन हो,’ दहालको भनाइ उद्धृत गर्दै उनीनिकट नेताले भने,‘विषय टुंग्याइहालौं तपाईँले अडान छाड्नुप¥यो ।’ 

प्रधानमन्त्री ओलीले भने सरकार एक जनाले र दल एक जनाले चलाउने गरी सहमति भएपछि सभामुख पनि सरकार सञ्चालन सहज हुनेगरी चुन्नुपर्ने र त्यसका लागि आफैंले रोजेको व्यक्ति चाहिने बताएका थिए । ‘तपाईँले छुट्टछुट्टै भेला गरेर हाम्रा यति टाउका छन् भनेर बार्गेनिङ गर्नुहुन्छ, पछि संसदेबाट सहयोग हुन्छ भन्ने के ग्यारेन्टी छ ?’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मलाई सरकार सञ्चालनमा सजिलो पारिदिनुहोस् ।’ ओलीले दाहालसँग छुट्टै गठबन्धन भेला गरेर राम्रो नगरेको बताएका थिए । ओली र दाहाल आ–आफ्ना कुरामा अडिग रहेपछि सभामुख चयनको विषयमा पेचिलो बन्दै गएको छ ।  

यता सभामुख बन्न उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले संसद्लाई बन्धक नबनाउन आग्रह गर्दै सभामुखबारे छिटो निर्णय लिन आग्रह गरेकी छिन् अन्नपूर्ण पोस्ट्को समाचार अनुसार उनले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग त्यस्तो आग्रह गरेकी हुन् । प्रधानमन्त्री निवास बालुवाटार पुगरे उनले आफूलाई सभामुख बनाउन आग्रह गरेकी थिइन । 

सुखसयलमा मन्त्रीहरु  

अन्नपूर्ण पोस्टको समाचार अनुसार प्रदेश नं सरकारले २२ महिनामा उपलब्धिमूलक काम खासै गर्न सकेको छैन । मन्त्रीहरुले सेवासुविधा र सुखसयलमा भने कुनै कमी राखेका छैनन् । उनीहरुले तीनवटासम्म सरकारी गाडी उपभोग गरिरहेका छन् । केही मन्त्रालयले नयाँ गाडी खरिद प्रक्रियासमेत अघि बढाएका छन् । 

नयाँ गाडी ल्याएपछि पुरानोचाहिँ प्रशासनलाई बुझाउनुपर्ने हुन्छ । तर, उनीहरुले पुराना गाडी पनि छाडेका छैनन् । मुख्यमन्त्री लालबाबु रावतले मात्रै नयाँ किनिएको ज।१ झ ४५६ नम्बारको एउटा गाडी प्रयोग गर्छन् । आर्थिक मामिलामन्त्री विजय यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दुवै गाडी चलाउँदै आएका छन् । उनीहरुले पूरानो गाडी आफन्त, परिवार र कार्यकर्तालाई दिएको खुलेको छ । 

विद्यालय कि धराप ? 

नयाँ पत्रिकाका अनुसार जीर्ण अवस्थामा पुगेका दशकौं पुराना सामुदायिक विद्यालय भवन १२ वैशाख २०७२ को भूकम्पमा बस्नै नमिल्ले गरी खलबलिए । काठमाडौँ, भक्तपुर  र ललितपुरका पुराना सहरी क्षेत्रका अधिकांश त्यस्ता विद्यालय भवन गल्र्याम्मै नढलेपनि जुनसुकै बेला ढल्ने अवस्थामा पुगे । प्रधाविधिकहरुले त्यस्ता भवनमा अध्ययन–अध्यापन गर्न निमिल्ने भन्दै रातो स्टिकर लगाए । भवन जुनसुकै बेला भत्किन सक्ने खतराको सूचक थियो–रातो स्टिकर । तर, विद्यालय भनव न पुनःनिर्माण भए, न पठनपाठन रोकियो । धराप बनेका उपत्यकाका त्यस्ता दर्जनौं विद्यालय भवनमा अहिले पनि सयौं बालबालिकाको जीवन जोखिममा परेर अध्यापन गराइँदै छ । 

काठमाडौँको ढोकाबहालस्थित अरुणोदय आधारभूत विद्यालय, हनुमानढोका निजिकै याटखास्थित कन्या मावि, न्यूरोडस्थित हिमालयमाविलगायत विद्यालय भवनमा भुकम्पले क्षति गरेपछि रातो स्टिकर लगाइएको थियो । यी भवन जुनसुकै बेला भत्किने अवस्थामा छन् । मापदण्डअनुसार नयाँ भवन बनाउन आवश्यक जग्गा पनि छैन । त्यस्तै अन्य विद्यालयको पनि अवस्था त्यस्तै रहेको उल्लेख गर्दै नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । 

साहुकार आतंक उजुरी लेखिदिने  वकिलसमेत पाएनन्

नयाँ पत्रिकाका अनुसार राजपाका केन्द्रीय सदस्य तथा खुंखार साहुकार रामबाबु राय यादव र तत्कालीन नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार सञ्जय रौनियारबाट चरम शोषणमा परेका सर्लाही र आसपासका पीडितहरूले प्रहरीमा जाहेरी लेखिदिने वकिलसमेत पाएका छैनन् । यादव पक्राउ परेपछि पीडितहरू न्याय पाउने आससहित उजुरी दिन मलंगवास्थित जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् । तर, सर्लाहीका वकिलहरू यादव र रौनियारविरुद्ध पीडितको उजुरी लेखिदिन तयार छैनन् बहाना बनाएर पन्छिरहेका छन् ।

‘हामीले जिल्लाका धेरै वकिलसँग सम्पर्क र्गयौँ । कसैले व्यस्त छु भ्याउँदिनँ भन्नुहुन्छ । कोही भने बुढो भइयो, सल्लाह सुझाबसम्म दिन सकिन्छ, लेख्न त गाह्रो हुन्छ भन्नुहुन्छ,’ सर्लाहीका पीडित रवीन्द्र कुशवाहले भने, ‘जाहेरी लेखाउने वकिल नपाउँदा प्रहरीमा उजुरी दर्ता हुन सकेको छैन ।’ बिहीबार जिल्ला प्रहरी कार्यालयबाट घर फर्काइएका पीडितहरू शुक्रबार पनि उजुरी दर्ता नभएपछि निराश भएर फर्किएका छन् । 

लाख ऋण दिएर करोडको कपाली तमसुक बनाउँदै ऋणीको जग्गा आफ्नो नाममा गराउने यादव र रौनियार विरुद्ध जाहेरी दिन शुक्रबार दुई सय १० पीडित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । रामबाबुपीडित एक सय ५० र सञ्जयपीडित ६० जना थिए । अर्का पीडित रामबहादुर घिसिङले पनि जाहेरी लेखिदिने वकिल नपाउँदा उजुरी दर्ता गर्न नपाएको बताए । ‘साहुकारविरुद्ध जाहेरी लेखिदिनुर्पयो भन्दा कतिपय वकिलले कानुनी व्यवसाय नै छाडिसकेको जवाफ दिनुहुन्छ,’ उनले भने, ‘प्रहरी प्रशासनबाट सहयोग भए पनि वकिल नपाउँदा समस्यामा परेका छौँ ।’ बिहीबार प्रहरीले वकिलबाट जाहेरी लेखाई प्रक्रिया र्पुयाएर आउन पीडितहरूलाई भनेको थियो । जाहेरीमा वकिलको नाम र दर्ता नम्बरसमेत उल्लेख गर्नुपर्छ । नाम र दर्ता नम्बर सार्वजनिक हुँदा साहुकारको निशानामा पर्ने डरले वकिलहरू हच्किएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप