शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण फाइदाजनक छ बिहानको सूर्यको किरण

शनिबार, २६ पुस २०७६, ०८ : १९
शनिबार, २६ पुस २०७६

बिहान सबेरै उठेर सूर्यको न्यानो प्रकाशमा बस्न अति नै रमाइलो हुन्छ । सूर्यको प्रकाशले गर्दा रातको अन्धकारको अन्त्य हुन्छ । यसले संसारलाई नै उज्यालो बनाइदिन्छ । सूर्यकै प्रकाशले हाम्रो वरपरको वातावरणलाई निकै रमाइलो बनाइदिन्छ । सूर्य नै पृथ्वीमा ऊर्जाको प्रमुख स्रोत हो । सूर्यकै उर्जाको कारण कारण पृथ्वीमा जीवन सम्भव भएको हो । त्यही भएर सूर्य हामी सबैलाई प्यारो लाग्छ ।

तर सूर्यको प्रकाशले पृथ्वीमा जीवन मात्र प्रदान गर्दैन, यो हाम्रोे लागि अरु कुरामा पनि लाभदायक छ । सूर्यको प्रकाशले हाम्रो शरीरमा औषधीको काम गर्ने गर्छ । हामीले हाम्रो शरीरलाई सूर्यको प्रकाशमा राख्यौँ भने हाम्रो स्वास्थ्य राम्रो हुन्छ । त्यसले हाम्रो छालामा रहेका फन्जाई (Fungi)  र ब्याक्टेरिया (Bacteria)  लाई नष्ट गर्छ । त्यसले  हाम्रो रगतमा रहेका सेता रक्तकोषहरुलाई सक्रिय बनाउने काम पनि गर्छ । सेता रक्तकोषहरुको कारणले हाम्रो शरीरको प्रतिरोधात्मक शक्ति बढ्छ । ती कोषहरुले हाम्रो शरीरमा रहेका किटाणुहरुलाई मार्ने र शरीरलाई स्वस्थ राख्ने काम गर्छ ।

जब सूर्यको प्रकाश हाम्रो छालामा पर्छ, हाम्रो रगतमा एउटा विशेष प्रकारको तत्व पुग्ने गर्छ । त्यो तत्वले हाम्रो माशंपेसीलाई नयाँ लय प्रदान गर्ने काम गर्छ । त्यसले गर्दा हाम्रो माशंपेसीहरु पहिले भन्दा अझ फुर्तीका साथ काम गर्न सक्छन् । अझ भनौं, सूर्यको प्रकाशले हाम्रो स्नायुप्रणालीमा नयाँ जोस भरिदिन्छ । त्यही भएर हामी छुट्टीको समयमा अझ विशेष गरेर केही बेर घाममा बस्दा निकै फुर्तिलो भएको महसूस गर्छौं । त्यति बेला हामी सँधै खेलहरु खेल्न वा घुम्न लालायित हुने गर्छौं ।

सूर्यले हाम्रो शरीरमा भिटामिन ‘डि’ को उत्पादन गर्ने पनि काम गर्छ । सूर्यको प्रकाशमा भएको परावैजनी किरणले हाम्रो छालामा भएको एर्गोस्टेरोल (Ergosterol)   नामक तत्वलाई भिटामिन ‘डि’ मा परिणत गर्छ । वैज्ञानिकहरुका अनुसार सूर्यको प्रकाशमा हाम्रो शरीरलाई राख्नु भनेको हेरक ५ मिनेटमा एक चम्चा औषधी खानु बराबर हो ।

तर सूर्यको प्रकाशका केही नकारात्मक पक्षहरु पनि छन् । धेरै बेरसम्म सूर्यको प्रकाशमा बस्दा यसले हाम्रो शरीरको रक्तचापलाई बढाउँछ । त्यसैले मुटु र फोक्सोमा खराबी हुने मानिसहरुले सूर्यको प्रकाशमा धेरै समय बस्नु हुँदैन । नत्र यसले ठूलै दुर्घटना निम्त्याउन पनि सक्छ । वास्तवमा मुटु र फोक्सोका बिरामीहरुले मात्र होइन, हामी सबैले घाम ताप्दा निकै सजग हुनु जरुरी छ । एक अध्ययनका अनुसार एक पटकमा शरीरको केही भाग मात्र प्रकाशमा राख्नु पर्छ ।  अनि हरेक पाँच मिनेटमा त्यो बदली रहनुपर्छ । एकै दिनमा धेरैबेरसम्म घाममा बस्नु हुँदैन । एकै पटकमा धेरै समयसम्म घाममा बस्दा टाउको दुख्ने जस्ता समस्याहरु देखापर्न सक्छन् । सुरुमा थोरै समयदेखि लिएर घाममा बस्ने समयको अवधि पनि दिनदिनै क्रमैसँग आवश्यकताअनुसार बढाउँदै लानुपर्छ । यसरी हामी हाम्रो शरीरमा हुने हानिबाट बच्न सक्छौँ । समयमा नै सावधानी अपनाउने हो भने यसले हाम्रो स्वास्थ्य स्थितिमा निकै सुधार ल्याउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप