शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्धको घोषणा, आठ बरिष्ठ इरानी अधिकारीमाथि कडा आरोप

शनिबार, २६ पुस २०७६, ०० : १२
शनिबार, २६ पुस २०७६

एजेन्सी । अमेरिकाले इराकमा आफ्ना सेनामाथि गरेको आक्रमणप्रति कडा आपत्ति जनाउँदै इरानमा थप प्रतिबन्ध लगाएको छ । शुक्रबार अमेरिकी विदेशमन्त्री माइक पोम्पीओ र ट्रेजरी सेक्रेटरी स्टीभन मुचिनले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी इरानविरुद्ध थप प्रतिबन्धको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनीहरुले इरानलाई उपलव्ध गराउँदै आएको अर्बौ डलर सहयोग कटौती गर्ने घोषणा समेत गरे । उनीहरुले भने, ‘हामी इरानी शासनलाई अरबौं डलरको सहयोग कटौती गर्नेछौं’ 

उनीहरुले मध्यपूर्वमा अस्थिर गतिविधिमा बढोत्तरी दिएको र मंगलबार इराकस्थित आफ्नो सेनामाथिको आक्रमणमा आठ वरिष्ठ ईरानी अधिकारीहरुको सहभागिता रहेको आरोप समेत लगाए । जसमा इरानी उच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शाम्खानी, ईरानी सशस्त्र सेनाका उपप्रमुख मोहम्मद रजा अष्टियानी र बासिज मिलिशियाका प्रमुख घोलमरेजा सुलेमानी लगायतलाई सो आक्रमणमा दोषी ठहर्याउँदै उनीहरु कार्वाहीको भागीदार बन्नु्पर्ने उनीहरुले दाबी गरेका छन् । 

अमेरिकाको यो घोषणाप्रति ईरानले भने कुनै आधिकारिक प्रतिक्रिया दिइनसकेको अलजजिराले जनाएको छ । यद्यपि, अमेरिकाको पछिल्लो कदमबारे इस्लामिक क्रान्तिकारी गार्ड कोर्प्सका कमाण्डर मोहसेन रेजाइले भने प्रतिक्रिया दिएका छन् । उनले ट्विटरमा भनेका छन्, ‘अमेरिकाको यो प्रतिबन्ध ‘प्रतीकात्मक’ विरोध हो ।  यसले कुनै आर्थिक असर पार्ने छैन ।’

अमेरिकाको यो प्रतिवन्धलाई विशेषगरी इरानमा आर्थिक नाकाबन्दीका रुपमा समेत हेरिएको छ ।  जसमा कपडा उद्योगदेखि खानी क्षेत्र र निर्माणको क्षेत्रलाई समेत लक्षित गरिएको छ । केही दिनअघि अमेरिकी सेनाको आक्रमणमा इरानी सेनाका जनरल सुलेमानी मारिएपछि इरानले पनि मंगलबार इराकस्थित अमेरिकी सेनाको शिविरमा मिसाइल आक्रमण गरेको थियो । त्यसयता यी दुई देशबीचको तनाव उत्कर्षमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप