बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह

शुक्रबार, २५ पुस २०७६, २० : २५
शुक्रबार, २५ पुस २०७६

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका बारेमा छलफल भएको छ । 

भेटमा मन्त्री पुनले नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई  धन्यवाद दिँदै भविष्यमा नवीकरणीय ऊर्जाको विकासमा सहकार्यको प्रस्ताव गरेको मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले जानकारी दिए । 

हाल नेपालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वमा स्थिर सरकार तथा नीति रहेको भन्दै उन्ले ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि उपयुक्त अवसर र वातावरण रहेको उल्लेख गरे । 

मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि आग्रहसमेत गर्नुभयो । सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको तथ्य जानकारी गराउँदै उहाँले त्यसको १० देखि १५ प्रतिशत योगदान सौर्य ऊर्जाको हुने बताए ।

 वर्षमा ३६० दिन घाम लाग्ने भएकाले नेपाल जलविद्युत्सँगै सौर्य ऊर्जाका लागि पनि उपयुक्त स्थान भएको मन्त्री पुनको भनाइ थियो । सरकारले सौर्य ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र स्थापना गरेको र त्यसले संस्थागत रूपमा काम गरिरहेको उनको भनाइ थियो ।
 
भेटमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले नवीकरणीय ऊर्जा प्रयोगका लागि सहकार्यको प्रस्ताव गरे। नवीकरणीय ऊर्जाको बजार विस्तारका लागि लगानी सम्मेलनका लागि सहकार्य गर्न वैकल्पिक ऊर्जा र सङ्घबीच सहकार्य गर्न सकिने बताए ।
 
जवाफमा महानिर्देशक क्यामेराले नेपालले सौर्य ऊर्जाको विकासलाई उच्च प्राथमिकतामा राखेकामा सराहना गरे । महत्वपूर्ण सदस्य राष्ट्रको हैसियतमा नेपाललाई भविष्यमा सौर्य ऊर्जा प्रवद्र्धनका लागि सङ्घले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको चापागाईँले जानकारी दिए ।  

मन्त्री पुन नवीकरणीय ऊर्जा सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप