शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश–३ नेकपा संसदीय दलको औपचारिक निर्णय: राजधानी हेटौंडा, नाम बागमती

शुक्रबार, २५ पुस २०७६, १३ : ४०
शुक्रबार, २५ पुस २०७६

प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । 

उनले विगतमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो हिसाबले मन्तव्य र विचार व्यक्त गरेको भए पनि एक भएर राजधानी र नामकरण टुङ्ग्याउने सहमति भएको बताइन् । दलको निर्णयअनुसार नै मतदान हुने हुँदा ‘ह्वीप’ वा दण्डको डर वा त्रास देखाउने अवस्था नरहेको उनले बताइन् ।
 
मुख्यमन्त्री डोरमणि पौडेलले संसद्मा एउटा मात्र प्रस्ताव लैजाने सहमति भएको जानकारी दिए । ‘दलको बैठकमा प्रदेशसभा सदस्यको  धारणा सुनेपछि संसद्मा राजधानी हेटौँडा र नाम वाग्मती मात्र प्रस्ताव पेश गर्ने निर्णय सर्वसम्मत भएको छ’, मुख्यमन्त्री पौडेलको भनाइ छ । 

राजधानी र नाममा एउटा–एउटा मात्र प्रस्ताव पेश गर्न राखिएको प्रस्ताव सर्वसम्मतरूपमा पास भएको उनले बताए । पुस २७ गते प्रदेश नं ३ ले स्थायी राजधानी मकवानपुरको हेटौँडा र नाम वाग्मती पाउने पौडेलको भनाइ छ । 

विकासलाई विस्तार गर्नुपर्छ भन्ने अवधारणाका साथ र दीर्घकालीन सोचका साथ हेटौँडालाई नै राजधानी र नाम वाग्मती राख्ने निर्णय भएको नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले जानकारी दिए ।

हेटौँडालाई राजधानी बनाउँदा समृद्ध नेपाल बनाउने अभियानमा धेरै हिसाबले बल पुग्ने र थुप्रै रणनीतिक कारण पनि हेटौँडा उपयुक्त हुने उनको भनाइ छ । 


‘नेकपाको संसदीय दलले एक ढिक्का र एकमतका साथ जाने निर्णय गरेको छ’, उनले भने । ह्वीप नलगाउँदा ‘फ्लोरक्रस’ हुन्छ कि ? भन्ने प्रश्नमा अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको कारण पार्टीको निर्णय नमान्ने भन्ने कुरा नहुने बताए । 

प्रदेशसभामा नेकपाका ८०, नेपाली काँग्रसका २२, विवेकशील नेपालीका तीन, राप्रपाका एक, राप्रपा (संयुक्त) का एक र नयाँ शक्तिका एक सदस्य छन् ।

यसअघि पार्टी केन्द्रले प्रदेश ३ को राजधानी हेटौंडा राख्न निर्देशन दिएपछि धेरैजसो प्रदेश सांसदले प्रदेशसभाको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै विरोध जनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप