जेलबाटै लोकप्रियताको शिखर चुम्ने कवि : नाजिम हिक्मत

टर्कीका महान कविको नाम हो : नाजिम हिक्मत, जसको सिंगो जिन्दगी नै जेल जाने र जेलबाट बाहिर आउने अटूट सिलसिलाजस्तै भएको थियो । विश्वको कुना कुनासम्मका जनताबीच क्रान्तिकारी कविका रुपमा विख्यात नाजिम हिक्मतले जेलभित्रैबाट लोकप्रियताको शिखर चुम्नुभएको थियो ।
लगभग १५ वर्षभन्दा बेसी समयको नारकीय जेल–यात्राकै क्रममा उहाँका नाम र हस्ताक्षरविनाका कविताहरु लेखिएका कागजका टुक्राहरु जनसमक्ष आउँथे । र, ती तीव्र भावावेगसहितका कविताका केही पंक्तिहरु सुन्नासाथ जनतालाई थाहा हुन्थ्यो– यी कविताका रचनाकार जेलमा बन्द गरिएका आफ्ना प्रिय कवि नाजिम हुनुहुन्छ ।
जनताद्वारा कण्ठस्थ गरिएका उहाँका कविताका हजारौं पंक्तिहरु सुन्दा–पढ्दा लाग्छ– उहाँ साँच्चै नै जनतामाथि थोपरिएका उत्पीडन र यातनाका कवि हुनुहुन्थ्यो । लामो कारावासको क्रममा जनताका पीडा र संघर्षलाई कलात्मक अभिव्यक्तिको शिखरमा पु¥याउन सफल हुनुभएको कारणले नै नाजिम हिक्मत विश्वका अत्याधिक लोकप्रिय कवि हुनुभएको हो ।
सन् १९०२ मा सेलोनिका नगरमा उच्चपदस्थ कर्मचारीको परिवारमा जन्मिएका नाजिमले सन् १९१८ मा मारमारा बन्दरगाहमा रहेको जलसैनिक एकेडेमीमा औपचारिक अध्ययन गर्नुभएको थियो । जलसैनिकको शिक्षा लिने क्रममा उहाँले लगभग १४ वर्षको उमेरदेखि नै कविता लेखन र प्रकाशन गर्न थाल्नुभएको थियो ।
पहिलो विश्वयुद्धको लगत्तै आफ्नी आमाको देशभक्तिपूर्ण प्रेरणाका साथ उहाँ ब्रिटिश साम्राज्यवादविरुद्ध टर्कीको स्वतन्त्रता–संग्राममा हाम्फाल्नु भएको थियो । विद्रोही किसान, मजदूर र बुद्धिजीवीहरु सँगसँगै राष्ट्रिय विद्रोहका योद्धा बनेका नाजिम ब्रिटिश साम्राज्यको तीव्र दमनपछि सोभियत संघ पुग्नुभएको थियो ।
मास्को विश्वविद्यालयको अध्ययन, सोभियत क्रान्तिको अनुभूति र प्रख्यात सोभियत कवि मायोकोभ्स्कीसँगको घनिष्ठ मित्रतापछि उहाँको विद्रोही जीवन र जीवनमुखी विद्रोही कवितामा समाजवादी रंग छाएको थियो । सन् १९२५ मा मास्कोबाट स्वदेश फर्केपछि तीन वर्षसम्म जेलमा सडाइएका नाजिमको जीवन त्यसपछि जेलबाट भित्र–बाहिर आउने–जाने श्रृंखलाको अर्को नाम भयो । सन् १९३८ मा टर्की जलसेनामा विद्रोह भड्काएको आरोपमा २८ वर्षको कैद सजायँका भागी बनाइएका नाजिमले जेलको यातनामयी कालरात्रिमै विख्यात कविताहरु रचना गर्नुभएको थियो, लुकीछिपीकन !
बन्दी कविको जीवनरक्षा र रिहाइका लागि उठेका विश्वव्यापी आवाजहरुको प्रभाव र उहाँको आमरण अनसनको फलस्वरुप उहाँलाई सन् १९५१ मा मुक्त गर्न सरकार बाध्य भएको थियो । नाजिमको संघर्षपूर्ण जीवन जनताका पीडा र संघर्षका महान गाथाहरु कवितामा कोर्दाकोर्दै २ जून, १९६३ मा मास्कोमा समाप्त भएको थियो ।
Title Photo: https://static.karar.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन