बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भ्रमण वर्ष सफल पार्न सक्रिय बन्दै स्थानीय तह

बिहीबार, २४ पुस २०७६, २० : ३७
बिहीबार, २४ पुस २०७६

कञ्चनपुर । सन् २०२० मा मुलुकभित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्य साधेर सरकारले भ्रमण वर्ष शुरु भएसँगै कञ्चनपुरका स्थानीय तहले पनि पर्यटक भित्र्याउन आफ्नो गतिविधि बढाएका छन् ।

कञ्चनपुरको भीमदत्तन नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन सुदूरपश्चिम प्रदेशको प्रमुख नाका गड्डाचौकीबाट नेपाल भित्रिने पर्यटकहरु सम्मानका साथ बजार परिक्रमा गराएर स्वागत गरेर कार्यक्रमको शुरुआत गरेको थियो ।

लगत्तै भ्रमण वर्षकै अवसर पारेर चार दिन कञ्चनपुरको बेदकोट नगरपालिकाले धार्मिक पर्यटकीय गन्तव्य बेदकोट तालमा पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपाललाई उपस्थित गराएर कार्यक्रम गरेको थियो ।

बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले पछिल्लो समय लिङ्गेश्वर धाम पर्यटकको प्रमुख आर्कषणको केन्द्र बनेको बताए । उनले लिङ्गेश्वरसम्म पुग्ने सडक स्तरोन्नतीका साथै बेदकोट ताल पुग्ने सडक कालोपत्रेको काम हालै शुरु भएको बताए । “लिङ्गेश्वरसम्मको सडक कालोपत्रे गर्न नगरपालिकाले आफू नै बजेटबाट क्रमिक रुपमा बनाउँदै लगेको छ,” उनले भने, “दैजी–जोगबुढा सडकको काम पनि अहिले प्रदेश सरकारबाट हुँदैछ ।”

कञ्चनपुरमा विश्वमै सबैभन्दा ठूलो झुण्ड (२ हजार २०० भन्दाबढी) मा बाह्रसिङ्गा देखिनुका साथै एशियाकै ठूलो घाँसे मैदान पर्यटकीय आकर्षणको गन्तव्य भए पनि प्रचारप्रसारकै अभावले तेस्रो मुलुकका पर्यटकको गन्तव्यमा पर्न सकिरहेको छैन ।
“भिजिट बेदकोट, भिजिट भीमदत्त, भिजिट बेलौरी, भिजिट शुक्लाफाँटा” जस्ता नारा बोकेर यहाँका स्थानीय तहमा भ्रमण वर्ष मनाउन सक्रिय रहेपनि सरकारले सुदूरपश्चिमका पर्यटकीय गन्तव्यलाई पर्यटकको गन्तव्य स्थलमा नसमेटिएको प्रति यहाँका जनप्रतिनिधिले आक्रोश व्यक्त गरे ।

बेदकोटमा आयोजित कार्यक्रममा बोल्दै कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले भ्रमण वर्षमा यहाँका पर्यटकीय स्थललाई पर्यटनको गन्तव्यस्थलमा नसमेटिएको प्रति आक्रोश व्यक्त गरे ।

“सुदूरपश्चिमको सुन्दरतालाई हत्केलाले छेकेर अब छेकिन्न ।” धामीले भने, “यहाँका पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकलाई ल्याउन प्याकेजमा पनि महङ्गो पर्ने अवस्था छ ।”

कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बेदकोट ताल, लिङ्गेश्वर धाम, झिलमिला ताल, थारु होमस्टे, बतासे झरनालगायत पर्यटकीय गन्तव्य रहेका छन् । यहाँको शुक्लाफाँटा, बेलौरी नगरपालिकाले पनि भ्रमर्ण वर्ष सफल बनाउन विभिन्न पक्ष र निकायसित बहस तथा छलफल गरिरहेको छ ।

 “भारतको राजधानी दिल्ली र पर्यटकीय गन्तव्य नैनीताल नजिक पर्ने भएकाले पर्यटनका विषयमा भारतीय पक्षसित पनि समन्वय गर्न सके लाभदायिक हुन्छ ।” कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले भने, “देव भूमि सुदूरपश्चिम धार्मिक पर्यटनको अर्को ठूलो महत्वपूर्णस्थल हो ।”

कञ्चनपुरको गड्डाचौकीस्थित अध्यागमन कार्यालयका प्रमुख पदम भट्टले वार्षिक तीन हजारको सङ्ख्यामा तेस्रो मुलुकका पर्यटक सो नाकाबाट ओहोरदोहोर गर्ने गरेको बताए । 

“तेस्रो मुलुकका पर्यटकलाई यहाँको पर्यटकीय गन्तव्यका बारेमा जानकारी नै हँुदैन ।” उनले भने, “बर्दियादेखि पोखरासम्म यहाँबाट जान्छन् तर शुक्लाफाँटाबारे थाहा नै दिन सकिएको छैन ।”

उनले स्थानीय पर्यटकीयस्थलको जानकारी दिन सिमानामा ‘टुरिष्ट गाइड’ को अभाव रहेको बताए । “अहिले आएर स्थानीय तहले यहाँका पर्यटकीयस्थलको प्रचारप्रसार गर्न ब्रासलेट, पर्चा पम्मीलेट र वेवसाइट बनाएका छन्,”  भट्टले भने, “प्रचारप्रसारको कमीले पनि यहाँ पर्यटक आउन सकिरहेका छैन ।”

त्यसैगरी भीमदत्तन नगरपालिकाका उपप्रमुख सुशीलाचन्द सिंहले नगरपालिकाले पनि भ्रमण वर्षलाई निरन्तर रुपमा विविध कार्यक्रम गरी मनाइरहेको जानकारी दिइन् ।

“भ्रमण वर्ष भव्य रुपमा गड्डाचौकीमा उद्घाटन ग¥यौँ ।” सिंहले भनिन्, “शुक्लाफाँटा पर्यटन महोत्सव गर्ने गृहकार्य थालेका छौँ ।” उनले नगरपालिकाले नगर क्षेत्रभित्रका पर्यटकीय स्थलबारे प्रचारप्रसार गर्न विभिन्न वृत्तचित्र, तस्बीर सार्वजनिक गरिएको बताए ।

त्यसैगरी भीमदत्तन गरपालिकाले विभिन्न स्थानमा पर्यटकीयस्थलका होर्डिङ बोर्ड राख्ने तयारी भइरहेको जनाएको छ । यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले यस वर्ष पर्यटन पूर्वाधार निर्माणका लागि पाँच वटा मचान (भ्यूटावर) निर्माण हुने बताउए । 

त्यसका साथै भ्रमण वर्ष सफल बनाउँन यहाँका ताल तैलाया सरसफाइ, सडक मर्मतलगायत काममा जोड दिइएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप