शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भैंसेपाटी बैठकको निष्कर्ष : संसद बन्धक बन्यो, सरकार र पार्टी प्रभावकारी भएन

बिहीबार, २४ पुस २०७६, १८ : ३४
बिहीबार, २४ पुस २०७६

काठमाडौँ । सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुले सरकार र पार्टी सञ्चालन दुबै ‘प्रभावकारी’ नभएको निष्कर्ष निकालेका छन् । उनीहरुले त्यसका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाव दिने भएका छन् । 

सभामुख चयन र एमसीसी अनुमोदनमा ‘सकस’ भइरहेका बेला नेता बामदेव गौतमको भैंसेपाटीस्थित घरमा बुधबार भएको शीर्ष नेताहरुको जमघट र छलफलले यस्तो निष्कर्ष निकालेको हो । 

बुधबार नेता गौतमको घरमा उनीसहित नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका थिए । 

बैठकमा सहभागीमध्येका नेता झलनाथ खनालले पार्टीका नेताहरुबीच भेटवार्ता गर्नु सामान्य भएको भन्दै समसामयीक विषयमा छलफल गरेको प्रतिक्रिया दिए । 

‘नेताहरुबीच समसामयीक विषयमा कुराकानी र भेटघाट भएको हो । त्यस्तो केही भएको होइन’, नेता खनालको भनाइ छ । 

तर, उक्त भेटघाटमा एमसीसी, सभामुख चयन र नेता गौतमले अघि सारेको राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन प्रस्तावको विषयमा गम्भीर छलफल भएको अर्का एक नेताले रातोपाटीलाई बताए । ती नेताका अनुसार पार्टी स्थायी समितिमा छलफल भएको एमसीसीबारे सचिवालयमा छलफल हुन नसकेको, सभामुख चयनमा ढिलाइ भएको र नेता गौतमले अघि सारेको संविधान संशोधनको विषयमा केन्द्रीत रहेर कुराकानी भएको हो । 

उनका अनुसार बैठकमा नेता गौतमले संविधान संशोधन गरेर भएपनि प्रधानमन्त्री बनाउने बाटो खुला गर्ने भनेर प्रचण्डले दिएको बचनबाट किन पछि हटेको भन्दै प्रश्न गरेका थिए । 

‘मलाई तपाइले नै संविधान संशोधन गरेर भएपनि प्रधानमन्त्री बन्ने बाटो खोलिदिन्छु भन्नुभएको थियो । तर अहिले आफै पछि हट्नुभयो । यसमा मेरो ठुलो गुनासो छ’, गौतमको भनाइ उदृत गर्दै ती नेताले भने, ‘अब म केही गर्न सक्दिनँ ।’ 

गौतमको भनाइ सुनेपछि नेताहरुले अझै एकपटक प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसँग छलफल गर्न सकिने बताएका थिए । यसअघि नेता गौतमले संविधान संशोधन गर्ने सर्तमा मात्रै आफू राष्ट्रिय सभाको उम्मेदवार बन्ने बताएका थिए । तर यसमा अध्यक्ष ओली सकारात्मक नभएपछि अन्तिममा गौतम उम्मेदवारी नदिने निष्कर्षमा पुगेका थिए । त्यसपछि उनी पार्टी नेतृत्वप्रति रुष्ट हुन पुगेका थिए । 

त्यस्तै पाँच नेताकाबीच सभामुख चयनमा भएको ढिलाइले जनप्रतिनिधिको सर्वोच्च निकाय संसद नै बन्धक बनेको भन्दै यसबारे दुई अध्यक्षले चाँडो निर्णय गर्नुपर्नेमा जोड दिएका थिए । 

‘दुई अध्यक्षले निर्णय नगर्दा र संसदमा सभामुख चयन नहुँदा संसद नै बन्धक बनेको छ । यो अवस्था लामो समयसम्म रहनु हुँदैन भनेर नेताहरुले कुरा राख्नुभयो । त्यो स्वभाविक हो’, नेता खनालले भने, ‘संसदलाई अनिर्णयको बन्दी बनाउनुहुँदैन भन्ने धारणा सवैको रह्यो ।’ 

नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा नेताहरुबीच कुरा नमिल्दा प्रतिनिधिसभाको बैठक झण्डै एक महिनादेखि स्थगित हुँदै आएको छ । 

कृष्णबहादुर महरा महिला दुर्व्यवहारमा जोडिएपछि राजीनामा  दिएसँगै उक्त पद खाली छ । प्रधानमन्त्री केपी ओली सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहान्छन् भने कार्यकारी अध्यक्ष प्रचण्ड पूर्वसहमति अनुसार माओवादी समूहकै सभामुख पाउनुपर्ने अडानमा छन् । 

यसअघि ओली र प्रचण्डबीच पटकपटक सहमति जुटाउन भएका प्रयास समेत असफल हुँदै आएको छ । सभामुख विवादले गर्दा आगामी पुस २७ गते बस्ने संसद बैठक समेत स्थगित हुनसक्ने भएपछि नेताहरुले आन्तरिक छलफलाई तीव्रता दिएका हुन् । 

भैंसेपाटीको छलफलमा प्रचण्डले पूर्वमाओवादी समूहबाटै सभामुखको उम्मेदवार हुनुपर्ने धारणा राखेका थिए । 

‘व्यवहारिक रुपले पनि सभामुख पद पूर्वमाओवादी समूहकै हुनुपर्छ । किनभने प्रधानमन्त्री, राष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष पूर्वएमाले समूहबाटै भएकाले सन्तुलन मिलाउन पनि पहिलाको सहमति कार्यान्वयन गर्नुपर्छ भन्ने मलाई दवाव पनि छ’, भैंसेपाटी बैठकमा प्रचण्डले भनेका थिए । प्रचण्डको उक्त भनाइमा सवै सहभागी नेता सहमत भएको स्रोतको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप