शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेशको ३ को प्रदेश सभामा बहस : राजधानी हेटौँडा कि काभ्रे ?

बिहीबार, २४ पुस २०७६, १८ : २२
बिहीबार, २४ पुस २०७६

काठमाडौँ । प्रदेश नम्बर ३ को प्रदेशसभामा प्रदेशको राजधानी तोक्ने विषयमा बिहीबार पनि छलफल जारी रहेको छ  । छलफलमा सांसदहरुले काभ्रे र हेटौंडालाई राजधानी बनाउने विषयमा आ–आफ्नो धारणा राखेका छन् । सांसद रवीन प्रसाद पाण्डेले संविधानले दिएको विशेष अधिकार अनुसार प्रदेशले राजधानी र नाम तोकोस् भन्ने आग्रह गरे । 

उनले भौगोलिक सुगमता, औचित्य सामर्थ, सबै दृष्ठिकोणले १३ जिल्लामध्ये ३२ लाख जनखंख्या बसोबास गर्ने क्षेत्रले काभ्रे र १३ लाख जनसंख्याले हेटौडालाई नजिक ठान्ने बताउँदै भौगोलिक सुगमता र सिंहदरबारको शासन जनताको विचमा ल्याउन काभ्रे उपयुक्त भएको बताए । 

उनले  १० जिल्लाले हामी छुट्टै राजधानी घोषणा गर्छौँ भन्ने दिन आउन नदिन पनि काभ्रेमा प्रदेश राजधानी तोकिनुपर्ने बताए । सांसद प्रेमबहादुर पुलामीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा हेटौंडा राजधानी तोकेकाले त्यसलाई नबिगार्न माग गरे

सांसद केशवराज पाण्डेले भने नुवाकोट प्रदेशको राजधानी बनाउनुपर्ने धारणा राखे । उनले नुवाकोटामा आफ्नो घर भएर मात्र नभइ काठमाडौंको जनघनत्व कम गर्न उपयुक्त ठाउँ नुवाकोट भएकाले प्रदेश राजधानी नुवाकोट हुनुपर्ने धारणा राखे । 

सांसद ओमबहादुर घलानले राजधानीका लागि बीचभाग खोज्ने कि महत्वपूर्ण भाग खोज्ने भन्दै प्रश्न गरे । सबैले हेटौडालाई नै मन पराएकाले हेटौडा नै राजधानी हुनुपर्ने उनको तर्क छ । उनले हिजो रणनीतिक सामरिक महत्वको आधारमा अस्थायी राजधानी तोकिएकाले त्यसलाई नबिगार्न आग्रह गरे । 

सांसद राजेन्द्र गुरुङले प्रदेश सरकार हुँदै गर्दा नागरिकलाई प्रत्यक्ष अनुभूति हुनेगरी केही दिन नसकेको बताउँदै अव काभ्रेलाई प्रदेश राजधानी तोकेर जानुपर्ने बताए । सांसद मुनु सिग्देलले संविधान अनुसार नै राजधानी तोकिने भन्दै कसैको अधिकार कसैले हनन नगरेको बताइन् । उनले दुई तिहाइ मतले मकवानपुरमा राजधानी तोक्न आग्रह गरिन् । 

सांसद रमेश पौडेलले काभ्रेको धुलिखेल राजधानी राख्न २ वटा आधारहरु प्रस्तुत गरे । उनले संघीयताले सामाजिक न्यानको सुनिश्चिता र हातैले भेट्ने ठाउँमा सरकार भनेकाले काभ्रे उपयुक्त हुने बताए । उनले ६० लाख जनसंख्या मध्ये ४८ लाखले एक दिन यात्रा गर्दा मुस्किलले हेटौडा पुग्ने र १३ मध्ये १० जिल्लाले राजधानी नभेटाउने भएकाले काभ्रे उपयुक्त हुने बताए । उनले प्रदेशको नाम बागमति राख्नु पर्ने समेत बताए । 

सांसद विजुला बर्मा रानाले काभ्रेमा धेरै जनसंख्याको पायक पर्ने बताइन् भने सांसद केशव प्रसाद पोखरेलले राजधानी काभ्रे उपयुक्त हुने बताउँदै अझ गहन भएर सोच्न आग्रह गरे । 
बैठक शुक्रबार दिउँसो ३ बजे पुनः बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप