शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुमार पन्तसँग पराजित कुल आचार्यद्वारा एनआरएनएको विशेष अधिवेशन बोलाउन माग

बिहीबार, २४ पुस २०७६, १७ : ३२
बिहीबार, २४ पुस २०७६

-नरेन्द्र बस्नेत

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान उपाध्यक्ष कुल आचार्यले संघको विशेष अधिवेशन बोलाउन माग गरेका छन् । गत अक्टोबरमा सम्पन्न एनआरएनको विश्व सम्मेलनबाट उनी अध्यक्षमा कुमार पन्तसँग पराजित भएका थिए ।

मंगलबार साँझ एक पत्रकार सम्मेलन गर्दै आचार्यले एनआरएन नेतृत्वले गरेका विभिन्न क्रियाकलापमाथि उनले असन्तुष्टि व्यक्त गर्दै विशेष समाधिवेशन बोलाउन माग गरेका हुन्। 

विश्व सम्मेलनमा आर्थिक र संगठनिक प्रतिवेदन पारित नहुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ  । आचार्यले आफूले संस्थाको लागि डेढ दशक लामो समयसम्म पसिना बगाएको भन्दै संस्थालाई हित नहुने कुराहरुमा निरन्तर खबरदारी गर्ने बताएका छन् । 

पछिल्लो समयमा भएका नियुक्ति तथा मनोनयनहरू पूर्ण रुपमा एकलौटी र निर्वाचनप्रति लक्षित रहेको बताउँदै उनले संघमा योगदान पुर्याउनेहरुलाई पाखा लगाउनुले संघकै भविष्यप्रति प्रश्न चिन्ह खडा गरेको बताए ।

सन् २०१८ मा आयोजित विश्व ज्ञान सम्मेलनमा काटिएको टिकट तथा होटेल बुकिङ्गको हिसाब सार्वजनिक नगरिएकाे उनकाे भनाइ छ । संस्थामा २-२ वटा सीइओ राख्दा संस्थाले धन्न नसक्ने भनेर आफू उपाध्यक्ष रहँदा नै कुरा उठाएको बताउँदै उनले विभिन्न  सभा, सम्मेलनहरुको आयोजनामा भएका खर्चलाई पारदरशी नबनाइएकाे र संस्थामा पनि सिन्डिकेट खडा गर्ने प्रयास भएकाे आराेप लगाए । 

संस्था कसैको गुट र निषेधित नबनोस् भन्दै उनले प्रतिशोधको भावना लिए संस्थाको कहिल्यै हित नहुने चेतावनी दिए । 

हालै आइसीसीको १० घण्टा लामो बैठक बसेको प्रचार गरिएपनि एकपक्षीय र पूर्वाग्रहीपूर्ण निर्णयमा धेरैको असन्तुष्टि रहेको बताउँदै उनले ‘क्षेत्रीय संयोजक (आरसी)हरुले गरेको सिफारिसलाई बेवास्ता गरी आफ्ना नजिकका मानिसहरुलाई मनोनयन गर्ने काम कामले भएकाे आरोप लगाए  ।

आफ्नो सम्पत्ति कसरी सुरक्षित रहन्छ र कसरी सर्वसुलभ ढंगले गैर आवासीय नेपाली नागरिकता पाउन सकिन्छ  भन्ने संसारभरि बसोवास गर्दै आएका गैर आवासीय नेपालीहरुमा मुख्य चासो भएकाले यस्तो महत्वपूर्ण समयमा एनआरएनएको नेतृत्व मौन रहनु खेदजनक भएको उनले बताए । 

नयाँ नेतृत्वलाई सकभर चाँडो यस विषयमा सक्रियता देखाई सकारात्मक परिणाम ल्याउने तर्फ सम्पूर्ण उर्जा लगाउन पनि उनले आग्रह गरे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप