शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'अरिङ्गाल' बाहेक कोही बाँकी रहँदैन, भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन्ः गगन थापा

बिहीबार, २४ पुस २०७६, १७ : ०३
बिहीबार, २४ पुस २०७६

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले सरकार नागरिकको वाक स्वतन्त्रता कुण्ठित गर्न लागिपरेको आरोप लगाएका छन् । 

प्रस्तावित सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा आयोजना विरोधसभामा बोल्दै नेता थापाले सरकार नागरिकको मुख थुन्न लागेको बताए ।

‘विधेयकहरु नागरिकको अधिकार खोस्ने गरी आइरहेका छन् । विधेयक यसरी आउनुको पछाडि प्रधानमन्त्री बलियो भएर होइन लुते भए हो’ उनले भने, ‘प्रधानमन्त्रीले काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आफूमाथि हुने टिप्पणीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो ।’ 

सूचना प्रविधि विधेयक अहिलेको अवस्थामा परित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी नरहने थापाले जिकिर गरे । 

‘विधेयक जस्ताको तस्तै पारित भयो सरकारका अरिङ्गाल बाहेक कोही बाँकी रहँदैनन् । नेकपा र अखिलका साथीहरुले बुझे हुन्छ, भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन्,’ थापाले भने, ‘यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन् । अरु सबै सकिन्छन् ।’ 

यस्तै उनले सूचना प्रविधि विधेयकमाथि सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको बताए । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक नपढी टिप्पणी गरिएको भनेको प्रति थापाले भने, ‘मन्त्रीज्यूलाई भन्न चाहन्छु छलफल गर्ने हो ? माइतीघरमा गर्ने हो ? बालुवाटारका गर्ने हो ? कि धुम्बाराहीमा गर्ने हो ? म यस विधेयकमा दफा दफामा छलफल गर्न तयार छु । नपढी आयो भनेर हामीलाई हेप्नी ?’

‘संसदमा संख्यात्मक हिसाबले हामी कम छौं, हामीले मात्र चाहेर रोक्न सक्दैनौं । अंकगणित उनीहरुको छ, बहुमतले पारित गर्न सक्छन्, सडकको साथ चाहियो,’सांसद समेत रहेका थापाले भने, ‘हिजो गूठी विधेयकमा काठमाडौँबासीको सडकको साथले सरकार झुक्न बाध्य भएको थियो । फेरि पनि काठमाडौँ बासीको साथ चाहिन्छ ।’ 

यता काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि नागरिकको अधिकार रक्षाका लागि संसदमा सडकको साथ आवश्यक रहेको बताएका थिए । 

उनले भने, ‘यस विधेयकका विरुद्धमा बोल्न संसदमा गगनहरु हुनुहन्छ । उहाँहरुको विरोधले मात्रै विधेयक रोकिँदैन । त्यसका लागि सडकको तागत आवश्यक छ ।’ साथै उनले नागरिकको मुख थुन्ने शासकको मुख सदाका लागि थुनिदिने चेतावनी पनि दिए ।

यस्तै काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले नागरिकको अधिकार खोस्न खोज्नेहरु इतिहास बन्ने बताए । नेविसंघ नेता सुशील भट्टको संयोजनमा भएको विरोध सभामा उल्लेख्य संख्यामा नेविसंघका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप