सडकबाट उद्धार गरिएका माइला र सुमन : राति–राति अरुको उद्धार गर्दै हिँड्छन्
काठमाडौँ । बाहिर जति नै हाँसेर हिँडे पनि भोग्नेलाई मात्र थाहा हुन्छ, परिवार गुमाउँदाको पीडा र परिवारसँग बिछोडिनुको पीडा । काठमाडौँ महानगरपालिकाका सडकदेखि गल्लीसम्म जताततै फोहोरै फोहरमात्र देख्न सकिन्छ । त्यही फोहोरको डङ्गुरमा सयौँ बेवारिसे मानिसहरु जीवन जिउन बाध्य छन् ।
कहिलेकाहिँ यसरी पनि सोचौं न । सडक पेटीमा सुतिरहेका बेला कसैले एसिड खन्याइदिन्छ । भोको पेट लिएर भौंतारिरहेका बेला जिउमा भकभक उम्लिरहेको पानी पोखिदिन्छ ।
त्यही फोहोर थुप्रिएको सडकपेटीमा जीवनयापन गरेका दुई पात्रसँग हामीले कुराकानी गर्ने जमर्को गरेका छौँ । धादिङ नौबिसेका ३२ वर्षीय माइला बानियाँ र लमजुङका २४ वर्षीय सुमन लामाको यो दर्दनाक कथा :–
माइला बानियाँको भनाइ जस्ताको तस्तै
१२ वर्षको उमेरमा अर्थात २० वर्षअघि परिवारसँगै काठमाडौँ आएँ । परिवारमा बुबा र ममी हुनुहुन्थो । काठमाडौँ आउनुअघि नौबिसेमा एउटा सानो होटल थियो । नौबिसे छँदा सानोतिनो काममा परिवारलाई सहयोग गर्थेँ ।
होटल बेचेर हाम्रो परिवार १० हजार बोकेर काठमाडौँ आएको हो । बुबाममीले बालाजु चोकमा एउटा कोठा लिनुभयो । ३ सय रुपैयाँ भाडा थियो ।
घरबाट ल्याएको पैसाले दुईवटा ठेला किन्यौँ । बालाजु चोकमै बाबाले मःम, चाउमिन जस्ता आइटम राख्नुहुन्थ्यो भने ममीले तरकारी राखेर बेच्ने काम गर्नुभयो । बुबा बेला–बेला रक्सी आएर आउनुहुन्थ्यो । मैले देख्थेँ ।
त्यतिबेला म भने केही काम गर्दिनथेँ । बेला–बेला नौबिसे घर पनि जाने गथ्र्यौँ । समय बितेको पत्तै भएन । पछि–पछि ममीबुबाले दुःख गरेर कमाएको पैसा चोरेर मैले रक्सी खान सुरु गरेँ । त्यतिबेला मेरो उमेर २२ वर्ष थियो ।
समय यसरी नै बितिरहेको थियो । अचानक एकदिन बुबा बिरामी हुनुभयो । अस्पताल लगेर देखाउँदा धेरै रक्सी खाएको कारण कलेजो बिग्रिएको रहेछ ।
डाक्टरका अनुसार बुबाको उपचारको लागि ७/८ लाख खर्च लाग्ने भयो । त्यति धेरै रकम हामीसँग थिएन । त्यसपछि सामान्य उपचार पश्चात बुबालाई हामीले अस्पतालबाट घर फिर्ता लग्यौँ ।
बुबा पनि २/३ महिना रक्सी छोडेपछि केही तङ्ग्रिएजस्तो देखिनुभयो । पुनः काममा फर्किनुभयो । काममा फर्केलगत्तै फेरि रक्सी खान सुरु गर्नुभयो ।
नेपालीमा एउटा उखान छ नि– ‘नानीदेखि लागेको बानी ।’ पुरानो बानी सजिलै कहाँ छुटाउन सकिन्छ र ? माइलाको बुबाको हकमा पनि त्यस्तै भएको हो ।
बुबाको त्यस्तो अवस्था देखे पनि मैले रक्सी खान छुटाइनँ । मलाई पनि रक्सीको नसा छुटाउन मुस्किलै थियो । पछि–पछि त बुबा र म सँगै बसेर घरमै खाने गथ्र्यौँ ।
ममी पनि रोगी हुनुहुन्थ्यो । रक्सीको नसाले नै ६ वर्षअघि बुबा बित्नुभयो । बुबा बितेपछि घरमा म र ममीमात्र । बुबा बितेको १३ दिनसम्म राम्रैसँग काजकिरिया गरेँ । त्यसपछि लागेको बानी कसले छुटाउन सक्छ र, फेरि रक्सी खान सुरु गरें ।
बुबा बितेको एक वर्ष पनि भएको थिएन, अचानक ममीको निधन भयो । त्यसपछि झनै म एक्लो भएँ । त्यतिबेला जसोतसो गरेर ममीको काजकिरिया गरेँ ।
बुबाममी बितेपछि घरमा एक्लो भएँ । बाँच्नका लागि काम गर्नुपर्छ भन्ने लाग्यो । अनि घर बनाउने काम सुरु गरेँ । त्यतिबेला कोठाभाडा २५ सय रुपैयाँ थियो ।
३/४ वर्षसम्म राम्रैसँग काम गर्दै आएको थिएँ । एक्लो भए पनि रक्सी खान भने छुटाइनँ । रक्सी खाएपछि मलाई अति नसा लाग्थ्यो । मेरो बानी देखेर पछि घरबेटीले पनि निकालिदिए ।
आफन्तहरु पनि कोही थिएनन् । पछि बस्ने कोठा पनि भएन । सडकमा बस्ने अवस्था आयो । जति कमाए पनि रक्सी खाएरै सकिन्थ्यो । कोठाभाडा तिर्ने पैसा समेत हुन्नथ्यो ।
पछिल्लो २ वर्षयता काठमाडौँका सडकका पेटीमा मेरो बास हुन्थ्यो । कहिले रत्नपार्कको सडकपेटी हुन्थ्यो त कहिले बालाजु, बानेश्वर, गौशाला, चावहिललगायत ।
पुस ७ गते म रक्सी खाएर बालाजु चोकनजिकै सडकको पेटीमा सुत्न लागेको थिएँ । कता–कताबाट प्रहरीहरु आउनुभयो र मलाई उठाएर भ्यानमा हाल्नुभयो । त्यति बेलासम्म मलाई कहाँ लैजान लागेको पनि थाहा थिएन ।
लगत्तै बालाजु चोक नजिकै रहेको मानव सेवा आश्रममा पु¥याउनुभयो । आश्रममा लगिसकेपछि मलाई त्यहाँ प्रहरी र आश्रमका मान्छेहरुले घेरा हालेको जस्तो लाग्यो । रक्सीको नसामै थिएँ म ।
भोलिपल्ट फेरि उहाँहरु आउनुभयो । म सुतिरहेको थिएँ । मेरो नाम, घर सोध्न थाल्नुभयो । मैले सबै कुरा भनेँ । उहाँहरुले यस्तो मान्छे किन यसरी सडकपेटीमा बेवारिसे अवस्थामा बसेको भनेर सोध्नुभयो । सम्झाईबुझाई गर्नुभयो ।
उहाँहरुको कुरापछि घरतिरको याद आयो । नौबिसेमा रहँदा बुबाममीले पनि अरुलाई सहयोग गर्नुहुन्थ्यो । नौबिसेमा पनि सडकमा बेवारिसे अवस्थामा बस्नेहरु अझै थुप्रै छन् । उहाँहरुलाई ममीबुबाले सहयोग गर्नुहुन्थ्यो ।
‘त्यतिबेला परिवार राम्रै थियो । हाइवे नजिकै एउटा सानो होटल थियो । ममीबुबालाई होटलमा सहयोग गर्थेँ । परिवार खुसी नै थियो ।’
त्यही कुरा मेरो मनमा पनि याद आयो । र, अब मैले पनि सडकमा बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्धार गर्नुपर्छ भन्ने भावना पलायो । त्यसपछि नेपाल प्रहरीका डीएसपी राजेन्द्र पोखरेल सरलाई यो खबर सुनाएँ । मेरो कुरा सुनेर उहाँको आँखाबाट आँशु निस्कियो ।
मलाई पनि कता–कता नमज्जा लाग्यो । अब म आफैँ केही गर्नुपर्छ भन्ने सोच आयो । मसँगै रहेको भाइले पनि मेरो कुरा सुनिरहेको थियो । उसको पनि आँखाबाट आँशु आएछ ।
आज ९ दिन भयो, सडकमा सुतेका मान्छेहरुलाई ‘यसरी सुत्न हुन्न । जाडो मौसम छ । कोठा छ भने कोठामा जानुस् । छैन भने हामीसँग हिँड्नु’ भन्दै आइरहेको छु । अब मेरो सम्पूर्ण जीवन धर्म गरेर बिताउँछु ।
सुमन लामा
लमजुङ घर भएका सुमन लामा पनि बालाजुमा भाइसँगै एउटा कोठा लिएर बस्दै आएका थिए । लामा पनि माइला बानियाँ जसरी नै यतिबेला सडकमा वेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्दारमा खटिएका छन् ।
सुमनको भनाइ जस्ताको तस्तै –
बालाजु चोक नजिकै बस्थेँ । भाइको कोठा थियो । भाइ ठेकेदार हो । म मिस्त्री काम गर्थेँ । एकदिन भाइसँग झगडा प-यो । त्यसपछि मैले कोठा छोडेँ ।
पुस ७ गते बालाजु चोकको सडकमा थिएँ । अचानक सर (प्रहरी) हरु आउनुभयो । अनि मलाई उठाउनुभएको हो ।
मेरो परिवार लमजुङमै छ । घरमा बुबा ममी र बहिनी छन् ।
पहिला यसरी सडकमा बस्छु भन्ने कुरा परिवारलाई थाहा थिएन । अहिले चाहिँ परिवारलाई थाहा छ । पहिला भाइसँग झगडा परेको कुरा पनि परिवारलाई भनिनँ ।
सडकबाट उद्धार गर्नुभएका सरहरु ८ गते आश्रममा आउनुभयो । त्यतिबेला माइला दाई पनि सँगै हुनुहन्थ्यो । माइला दाईको कुरा पनि सुनिरहेको थिएँ ।
(माइला र सुमनलाई फरक–फरक ठाउँबाट उठाइएको हो ।)
मेरो पनि आँखाबाट आँशु आयो । जसरी स्कुलमा सरहरुले पढाउनुहुन्छ त्यसरी नै प्रहरी र मानव सेवा आश्रमका सरहरुले हामीलाई सम्झाईबुझाई गर्नुभयो ।
आफ्नो बुबाममीले समेत यसरी कहिले सम्झाउनुभएको थिएन । उहाँहरुले सम्झाउनुभयो । आज लाग्छ, बल्ल म बुझ्ने भएको रहेछु । उहाँहरुले माया ममता सबै कुरा दिनुभयो ।
अब जीवन सुधार्ने कोसिस गर्छु । पेटीमा सुत्नेहरुलाई पनि सम्झाउनेछ । अहिले परिवारसँग सम्पर्कमा छु । परिवारले राम्रो कुरा गर्नुभएको छ । यतै आइज मिलेर बसौंला भन्नुभएको छ ।
दुवैजना उद्धारमा खटिन्छन्
सडकबाट उद्धार गरिएका माइला र सुमन अहिले प्रहरीसँगै राति–राति सडकमा जीवन बिताइरहेकाहरुको उद्धारमा खटिन्छन् । डीएसपी पोखरेलले भने, ‘हाम्रो कुरा सुनेपछि सडकमा बेवारिसे रहेका व्यक्तिहरुको उद्धारमा सघाउँछौँ भनेर दुवै जनाले भने, उनीहरु पनि हामीसँगै राति उद्धारमा खटिने गरेका छन् ।’
नक्कली मगन्ते पनि भेटिए
समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत काठमाडौं महानगरपालिकाले मंसिर २९ गतेदेखि काठमाडौँका विभिन्न स्थानबाट बेवारिसे व्यक्तिहरुको उद्धार गरिरहेको छ ।
गौशाला, चाबहिल, बौद्ध, जोरपाटी, कालीमाटी, कुलेश्वर, कलंकी, जनसेवा, स्वयम्भू, सिनामंगल, भत्केकोपुल, कमलादी, सेतोपुल, बसपार्कलगायतका स्थानहरुबाट बेवारिसे व्यक्तिहरुको उद्धार भइरहेको छ ।
बेसहारा, अभिभावकविहिन सहयोगापेक्षी सडक आश्रित मानवमुक्त काठमाडौं महानगरपालिका घोषणा एवं निर्माण महाअभियान अन्तर्गत उनीहरुको उद्धार गरि मानव सेवा आश्रममा राखिएको छ ।
उद्धार गरिएका व्यक्तिहरुलाई आधारभूत स्वास्थ्य उपचार, सरसरफाई समेत गरिएको डीएसपी पोखरेलले जानकारी दिए ।
पीडितका कोही नभएको अवस्थामा उनीहरुको खानपान, लालनपालन महानगरपालिकाले गर्ने भएको मानव सेवा आश्रमका सञ्चालक सुमन बर्तौलाले जानकारी दिए । काठमाडौँ उपत्यकामा काम गर्न अल्छि भएका साथै नक्कली मगन्ते पनि भेटिएको बर्तौलाको दावी छ ।
‘२०८२ सालभित्र शारीरिक तथा मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनी रात बिताउन विवश घरबारविहीन, बेसहारा, परित्यक्त, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकआश्रित मानवरहित राष्ट्र निर्माण गर्ने मानव सेवा आश्रमको मुख्य उद्देश्य हो,’ बर्तौलाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी