बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ प्रहरीको ८ जनाको टोली नेपालमा, पक्राउ परेका १२२ चिनियाँलाई लगिँदै

बुधबार, २३ पुस २०७६, १५ : ५९
बुधबार, २३ पुस २०७६

काठमाडौँ । नेपालमा पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई चीनले बुधबार फिर्ता लैजाँदैछ । जिल्ला अदालत काठमाडौँबाट १ हजार धरौटीमा रिहा भएका उनीहरुलाई यहाँको कानुनी प्रक्रिया पूरा भएपछि चीनले स्वदेश फिर्ता लैजान लागेको हो । 

उनीरुलाई लिन बुधबार २ वटा चाटर्ड प्लेन नेपाल आएको छ । प्लेनमा चिनियाँ सुरक्षाकर्मीको टोली पनि हुने बताइएको छ । 

यसो त ३ दिनअघि नै चिनियाँ प्रहरीको ८ जनाको टोली नेपाल आइसकेको प्रहरी स्रोतले जनाएको छ। ती प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद भएका सामानहरु त्रिभुवन विमानस्थलमा बुधबार बुझेका छन् । प्रहरीले बरामद भएका सामानहरु गाडीमा हालेर विमानस्थलमा पुर्याइ चिनियाँ टोलीलाई बुझाएको छ । 

यस्तै चिनियाँलाई भने केहीबेरमा विमानस्थल लगिने प्रहरीले जनाएको छ । चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गरिने बताइएको छ । 

पक्राउ परेकामध्ये ३१ जना चिनियाँसँग मात्र पासपोर्ट भेटिएको छ । उनीहरूको समेत पासपोर्ट रद्द गरी सबैको ट्राभल डकुमेन्ट काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरिसकेको छ । सोमबार ट्राभल डकुमेन्ट अध्यागमन विभागमा बुझाइसकेको छ । 

पक्राउ परेका चिनियाँलाई चीन लैजान सहयोग गरिदिन काठमाडौंस्थित चिनियाँ दूतावासले गृह मन्त्रालयलाई यसअघि नै पत्राचार गरेको थियो । 

नेपाल र चीनबीच सुपुर्दगी छैन, जसकारण उनीहरूलाई औपचारिक रूपमा नेपालले चीनलाई बुझाएको भने होइन । गत ७ पुसमा चिनियाँहरु राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप