शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कमिशन दिन आउनेको नाम डायरीमा लेखेको छुः सञ्चारमन्त्री बाँस्कोटा

बुधबार, २३ पुस २०७६, १४ : ०७
बुधबार, २३ पुस २०७६

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफुलाई काम गरिदिनु प¥यो भन्दै कमिशन दिनहरुको नाम डायरीमा लेख्ने गरेको बताएका छन् ।  नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने ‘मन्त्री बनेपछि काम गरिदिनुप¥यो भन्दै कमिशन दिन आउँछन्, मैले नाम डायरीमा लेख्ने गरेको छु । ’

उनले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको स्पष्ट हुन सबै पत्रकारलाई आग्रह समेत गरेका छन् । ‘म पनि वर्षौसम्म पत्रकारिता गरकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ,’ उनले भने । 

संविधानको मर्म विपरित प्रेस स्वतन्त्रता विपरित हुने खतरा आए आफैँ राजिनामा दिएर आन्दोलनमा होमिने भन्दै मन्त्री बाँस्कोटाले सरकारले ‘समृद्ध नेपाल, गरिब पत्रकारिता’ को अवधारणा नलिएको स्पष्ट पारेका छन् ।  मन्त्री बाँस्कोटाले पत्रकारको हकहित भन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने पनि बताए ।

‘अब कमिसन पत्रकारिता धेरै चल्दैन,’ उनले भने, ‘पत्रकारिता व्यवसायिक हुनुपर्छ, आफ्नो र अर्को भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्नसक्ने वातावरण अब बन्नुपर्छ ।’ ‘अहिले बोल्नलाई आमसभा चाहिँदैन, मिडियाले संसारमाझ छिनभरमै पु¥याउँछन्, तर एउटा कुरा भन्दा, पूर्वदृष्टि राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति हावी भएको छ,’ उनले भने । त्यस्ता विकृतिका कारणले आफुलाई मिडियासँग बोल्न नै मन लाग्न छोडेको बताए ।

उनले आफु मन्त्री भएपछि ५ करोड ३४ लाख रुपैयाँको पत्रकारिता वृद्धि विकास कोष स्थापना गरेको भन्दै अब त्यसलाई बढाएर १० करोड रुपैयाँ पु¥याउने उदेश्य लिएको बताए ।  पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस जगतलाई संकुचन गराउने मिडिया विधेयक सच्याउन महासंघको दबाबपछि नै सरकारले समिति बनाएर छलफल गरिरहेको बताए ।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्कर बुढाथोकीले ०५४ साल अघिसम्म हुने हरेक साना ठूला कार्यक्रम र घटनाहरुको समाचार संकलनका लागि काठमाडौं र सञ्चारमाध्यमहरुका केन्द्रबाट पत्रकार आउनुपर्ने अवस्था रहेको विगत स्मरण गरे ।

स्थापना दिवसको अवसर पारेर दवाब साप्ताहिकका सम्पादक अमर भुजुलाई नगद २ हजार ५ सय राशी रहेको स्व.मैयादेवी शिलपकार स्मृति पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरि ध्रुव मधिकर्मीलाई नगद रु १० हजार राशी रहेको स्वर्गीय भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । सम्पादक भूजुले आफुले पुरस्कारपाएको रकममा २ हजार ५ सय थपेर महासंघको संस्थागत विकाशलाई भन्दै भक्तपुर शाखालाई दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप