बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

परामर्श बैठकमा पौडेल–सिटौला गुट ‘मर्ज’मा जोड : देउवा निर्णय सच्याउन तयार

बुधबार, २३ पुस २०७६, १३ : २०
बुधबार, २३ पुस २०७६

काठमाडौँ । काँग्रेस संस्थापन इतर पक्ष तीन दिनदेखि आफूनिकट जिल्ला सभापतिसँगको परामर्शमा छ । सानेपास्थित पार्टी कार्यालयमा सोमबारबाट इतर पक्षका केन्द्रीय नेता र जिल्ला सभापतिबीच आन्तरिक परामर्श बैठक जारी छ । 

सोमबार वरिष्ठ नेता  रामचन्द्र पौडेलले आफूले २०७५ साल माघ १३ गतेको केन्द्रीय कार्यसमितिमा आफूले पेश गरेको ८ बुँदे लिखित प्रस्ताव बैठकमा प्रस्तुत गर्दै छलफल थालेका थिए । त्यसपछि पौडेल महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको पछिल्लो विवादको ब्रिफिङ गरेका थिए ।

उनीहरूको ब्रिफिङपछि बर्दियाका सभापति सञ्जय गौतम, धादिङका सभापति रमेश धमला, रोल्पाका सभापति अम्मरसिंह पुन, मोरङका सभापति डिगबहादुर लिम्बु, कास्कीका सभापति कृष्ण केसी, झापाका सभापति उद्धव थापा लगायत १४ जनाले आफ्नो धारणा राखेको थिए । मङ्गलबार पनि सोमबार ढाँचामा बैठक प्रारम्भ भएको थियो । पूर्वमहामन्त्री कृष्णप्रसाल सिटौला र केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी र शेखर कोइरालाले धारणा राखेका थिए ।

त्यसपछि मङ्गलबार १४ जिल्लाका सभापतिले आफ्नो धारणा राखेका थिए । इलामका जिल्ला सभापति हिमालय कर्माचार्य, गुल्मीका जिल्ला सभापति भुवन श्रेष्ठ, पाँचथरका जिल्ला सभापति नरेन्द्र केरुङ, अर्घाखाँचीका जिल्ला सभापति विष्णु मुक्तान खनाल, नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसी, बाँकेकी जिल्ला सभापति किरण कोइराला, मुगुका जिल्ला सभापति खड्कबहादुर शाही, ताप्लेजुङकी जिल्ला सभापति लीला बोखिम, कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आचार्य, काठमाडौँका जिल्ला सभापति सबुज बानियाँ, जिल्ला सभापति  सिन्धुपाल्चोकका विकास लामा, सिन्धुलीका जिल्ला सभापति उज्ज्वल बराल, जिल्ला सभापति सोलुखुम्बुका विनोद बस्नेत र जिल्ला सभापति कालिकोटका हर्षबहादुर बमले पनि धारणा राखेका थिए । आज (बुधबार) केही केन्द्रीय नेता र बैठकमा सहभागी जिल्ला सभापतिको आफ्नो धारणा राख्ने क्रम जारी छ ।

त्यसपछि घोषणापत्रसमेत जारी गरी परामर्श बैठक समापन गर्ने तयारी छ । बैठकमा ४० बढी जिल्ला सभापतिको सहभागिता छ । इतर पक्षले आफू निकट जिल्ला सभापतिलाई काठमाडौँमा उतार्नुको उद्देश्य परामर्श भनेको छ । तर केन्द्रीय नेता र जिल्ला सभापतिको धारणा सुन्दा बैठक सभापति शेरबहादुर देउवाविरुद्ध केन्द्रित देखिन्छ ।

परामर्श बैठकले पुस ११ गतेको केन्द्रीय समितिबाट बहुमतका आधारमा भएका निर्णय सच्याउनुपर्ने बटमलाइन बनाएको छ ।

पुस ११ गतेका निर्णयमा पनि १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय कार्यसमितिको म्याद थप, क्रियाशील सदस्यता सम्बन्धित विधानको दफा निलम्बन प्रमुख एजेन्डा बनेको छ । यद्यपि जिल्ला सभापति पौडेल पक्षमाथि पनि खनिएका थिए । गत मङ्सिर– पुसमा सम्पन्न महासमिति बैठकमा सभापति र वरिष्ठ नेता पौडेलले आफूनो गरेर वाचा तोडेको बताएका थिए ।

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि बुथबाटै प्रत्यक्ष निर्वाचित भएर आउने प्रावधान राख्न जिल्ला सभापतिले जोड दिएका थिए । उनीहरूको सुझाव केन्द्रीय समिति बैठकमा सुनाइ हुने देउवा र पौडलले वाचा गरेका थिए । केन्द्रीय समितिबाट विधान पारित गराउने क्रममा पौडेलले अडिएको उनीहरूको गुनासो थियो । उनीहरूले ‘भागबण्डा नमिल्दा हामी चाहेने । भागबण्डा मिल्दा हामी नचाहिने’ भनेर बैठकमा प्रश्न तेस्र्याएका थिए ।

आफूहरूको अडानमा इतर पक्षले पनि सौदाबाजी गरेको जिल्ला सभापतिको भनाइ थियो । महासमितिमा जिल्ला सभापतिले दिएको सुझाव विपरीत निर्णय हुँदा पौडेल पक्षले मौन सहमति जनाएको थियो ।
 इतर पक्षका नेताहरूबाट गुटगत स्वार्थका आधारमा डिल हुने गर्दा देउवा पेलेर जाने अवस्था सिर्जना भएको जिल्ला सभापतिको बुझाइ छ । 

उनीहरूले पौडेल–सिटौला समूह मर्ज गरेर महाधिवेशनमा होमिनु पर्नेमा जोड दिएका छन् । फरक गुटको प्रतिनिधित्व गर्दा गुटगत स्वार्थ बाझिदा देउवालाई सहज भएको जिल्ला सभापतिको धारणा थियो ।

देउवा निर्णय सच्याउन तयार
यता सभापति देउवाले भने महाधिवेशनको कार्यतालिका बाहेकका निर्णयमा छलफल गर्न तयार रहेको सङ्केत दिएका छन् ।

सहमहामन्त्री प्रकाशशरण महतले सभापति देउवा इतर पक्षसँग छलफल गर्न तयार रहेको बताए । 

महतले रातोपाटीलाई भने, ‘हाम्रो विमती यो विषयमा छ भनेर असन्तुष्टहरूले आयो भने सभापति छलफल गर्न तयार हुनुहुन्छ । सभापतिले महाधिवेशनको कार्यतालिका बाहेका विषयमा छलफल सकिने भनिरहनु भएको छ । समस्याको समाधान पार्टी सभापतिसँग छलफल गर्दा हुन्छ कि जिल्ला सभापतिसँग ? साथीहरूले बुझ्नुपर्ने हो ।’

पार्टीको पछिल्लो विवाद समाधानका लागि अग्रसरता देखाएका देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले पनि महाधिवेशनको तिथि, मितिबारे अन्य विषयमा छलफल गर्न सभापति तयार रहेको बताए । 

सभापतिसँगको भेटपछि उनले रातोपाटीलाई भने, ‘महाधिवेशनको तिथि, मितिबहेका विषयमा छलफल गर्न सकिन्छ । विधानका निलम्बन गरिएका धारामाथि छलफल तथा विभाग, तरुण दल र नेविसंघमा साथीहरूको सहभागिता र साझेदारी सुनिश्चित हुने गरेर सहमति गर्न सकिन्छ भनेर सभापतिले भन्नुभएको छ ।’

यता पौडेल पक्षले पनि सभापति देउवाबाहेक अन्यसँग कुनै संवाद गर्ने बताउँदै आएको छ ।

देउवाले वार्ताका लागि बलाउँदा नआएर इतर पक्षले पार्टीभित्रको सानो विवादलाई जिल्ला सभापतिका माझ ठूलो देखाएर स्वार्थको रोटी सेक्ने काम भएको महतको आरोप छ ।

इतर पक्षले महाधिवेशनको कार्यतालिका सच्याउनु पर्ने माग राखेको छ । उसले महाधिवेशन मङ्सिरमा हुने गरी कार्यतालिका ल्याउनु पर्नेमा जोड दिँदै आएको छ । 

उनले भने, ‘रामचन्द्र दाइले जे कुरा मागिराख्नु भएको छ, त्यस कुरामा सभापति नकारात्मक हुनुहुन्न । उहाँहरूबीचमा भएको मनोवैज्ञानिक दूरीलाई कम गर्न सकियो भने यो समस्याको यथाशीघ्र समाधान निस्किन्छ ।’ उक्त कुरामा आफूहरूले पहल थालेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप