बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरमा मेयरद्वारा पत्रकारहरुमाथि कुटपिट

मङ्गलबार, २२ पुस २०७६, २२ : ५३
मङ्गलबार, २२ पुस २०७६

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहले पत्रकारहरुलाई दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् । जानकी मन्दिरको जग्गा अतिक्रमणको विषयमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई मेयर शाहले दुव्र्यवहार गर्दै कुटपिट गरेका हुन् ।

शाहले कान्तिपुर टेलिभिजनका सम्वाददाता अरकान्त ठाकुर, एपिवनका व्यूरो प्रमुख विकास साह, क्यामेरा पर्सन शत्रुधन यादव, देशसञ्चारका राजा झा, एबीसी टेलिभिजनका सम्वाददाता सुमित मिश्र र उज्यालो नाईन्टी नेटवर्कका संवाददाता सुभाष कर्णमाथि दुव्र्यवहार गर्दै कुटपिट गरेका हुन् । 

पत्रकार विकास साहका अनुसार मेयर शाहले पत्रकारहरुलाई ३ घण्टासम्म कुराएका थिए । उनले भने, ‘नगर कार्यकक्षभित्र कार्यकर्ताहरू भित्र–बाहिर गरिरहेपनि हामीलाई बाहिर कुराइरहे, दिउँसो १ बजेसम्म त हामी बाहिर कुरेरै बस्यौँ । तर पनि भित्र जान दिएनन् । त्यसपछि जान खोज्दा घटना भयो ।’

घाइते पत्रकार अमरकान्त ठाकुरले भने– ‘भित्र मिटिङ छ भनेपनि कार्यकर्ताहरू आउने जाने गरिरहने तर हामीलाई किन टाइम नदिने भनेर नगरप्रमुख साहसँग सोधेपछि उनले केहि भनेनन् । त्यसपछि नगरप्रमुख साहले मिडियाका नाममा आतंक फैलाएको भन्दै उनका नातागोता, आसेपासे र नगर प्रहरी आएर दुव्र्यवहार गर्दै कुटपिट गर्न थाले । करिब १५ मिनेटसम्म कार्यकक्ष भित्रै पत्रकारहरुलाई कुटपिट भयो ।’

पत्रकार ठाकुरले पाइप र हेल्मेटले कुटेको बताए । त्यस्तै अर्का पत्रकार सुमित मिश्रले समेत कुटाई खाएका छन् । उनलाई पाइपले कुटिएको उनले बताए । उनको क्यामेरा र मोवाईल समेत खोसिएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले घटनाप्रति आपत्ति जनाएको छ । महासंघका अध्यक्ष किरण कर्णले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर भत्र्सना गरेका छन् ।

कर्णले घटनाको निष्पक्षरुपमा छानविन गरी पत्रकारलाई दुव्र्यवहार गराउने र दुव्र्यवहार गर्नेहरुलाई कानून अनुसार कारवाही गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । यता पत्रकार महासंघ धनुषा शाखा, प्रेस संगठन नेपाल, मधेशी पत्रकार समाज र प्रेस मञ्च धनुषा लगायतले पनि घटनाको घोर भत्र्सना गरेका छन् । घाइते पत्रकारहरु प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप