शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

६० हजार युवालाई रोजगारीको घोषणा, सबै श्रमिकको बीमा

मङ्गलबार, २२ पुस २०७६, २० : ४३
मङ्गलबार, २२ पुस २०७६

स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै युवा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढिरहेका बेला सरकारले चालु आवमा ६० हजार युवालाई रोजगारीको अवसर उपलब्ध गराउने घोषणा गरेको छ । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आज आफ्नो तीन महिने कार्ययोजना सार्वजनिक गर्दै चालु आवमा ६० हजार बेरोजगारलाई न्यूनतम् १०० दिनको रोजगारी प्रदान गर्ने बताए । बेरोजगार युवालाई रोजगारीसँग जोड्न सरकारले प्रधानमन्त्री रोजगारका कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । 

सरकारले सार्वजनिक विकास निर्माणका कार्यमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा गरिसकेको छ । यद्यपि, चालु आवको पाँच महिनामा एक लाख ६५ हजार बढी युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । 

    रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारको पहिचान र सूचीकरण गर्ने र केन्द्रमा सूचीकृत भएका बेरोजगारलाई एक आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारी प्रत्याभूति गर्नुपर्ने व्यवस्था गरेको छ । 

    यसरी न्यूनतम रोजगारी प्रदान गर्न नसके सरकारले हरेक बेरोजगार परिवारलाई एक श्रमिकले १०० दिन काम गर्दा प्राप्त गर्ने न्यूनतम पारिश्रमिकको ५० प्रतिशत निर्वाह भत्ता दिनुपर्ने व्यवस्था छ । गत वर्षदेखि सरकारले बेरोजगारको सूचीकरण गर्न शुरु गरेको छ । हालसम्म करीब १७ लाख एक हजार ५५१ व्यक्तिले बेरोजगारको सूची दर्ता गराएका छन् ।

     गत आवमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत एक लाख ७५ हजार व्यक्तिलाई छोटो समयको रोजगारी उपलब्ध गराएको थियो । सरकारले चालु आवमा ६० हजारलाई रोजगारी उपलब्ध गराउन रु पाँच अर्ब एक करोड बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये ७० प्रतिशत श्रमिकको ज्यालामा खर्च गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक प्रकाश दाहालले जानकारी दिए ।

     यस्तै ३० प्रतिशत प्रशासनिकलगायत सुरक्षात्मक औजार खरीदमा खर्च गरिने छ । सूचीकृत बेरोजगार व्यक्तिलाई न्यूनतम् रोजगारी सुनिश्चित गर्न व्यावसायिक कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधारलगायतका सार्वजनिक निर्माणमा सो रकम खर्च गरिने छ ।

    सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सार्वजनिक निर्माण तथा सार्वजनिक क्षेत्रका अन्य कार्यक्रममा पर्याप्त सङ्ख्यामा थप रोजगारी सिर्जना गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याइएको हो । 

    रोजगारी सिर्जना गर्दा सार्वजनिक क्षेत्रका विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजनामा श्रमिकको माग हुने र माग बमोजिमका श्रमिकहरूको आपूर्ति रोजगार सेवा केन्द्रमार्फत गर्नुपर्नेछ । 

    रोजगार कार्यक्रमलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न कार्यविधि संशोधन गरेर स्थानीय तहमा पठाइएको कार्यक्रम निर्देशक दाहालले बताए । “यसपटक विगतमा जस्तो झारा टार्ने काम हुँदैन”, उनले भने, “सम्बन्धित स्थानीय तहबाट कार्यविधिमा तोकिएअनुसारका आयोजनाको माग गरेका छौँ । व्यवस्थित ढङ्गबाट कार्यक्रम सञ्चालन हुनेछन् । सबै आयोजनाको अनुगमन गर्नेछौँ ।”

    कार्ययोजनामा स्थानीय तहबाट सञ्चालन हुने रोजगार आयोजनाको प्रभावकारी अनुगमन गर्ने र सङ्घ तथा सातवटै प्रदेशमा रोजगारीको सम्भावनाको पहिचान गर्न अध्ययन गरिने उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत खटिने सबै श्रमिकको दुर्घटना बीमा गरिने मन्त्री यादवले जानकारी दिए । श्रमिकको बीमाबापतको प्रिमियम सरकारले नै तिरिदिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप