शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियोमा हेर्नुहोस् दिनभरका समाचार

मङ्गलबार, २२ पुस २०७६, १९ : ३०
मङ्गलबार, २२ पुस २०७६

मोहनविक्रम सिंहको भिडियो अन्तर्वार्ता

लामो समय राजनीतिक रुपमा अर्धभूमिगत रहँदै आएका नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह सार्वजनिक भएका छन् । 

 नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा मानिने सिंह आफ्नो लामो राजनीतिक जीवनमा भूमिगत र अर्धभूमिगत हुँदै पछिल्लो समय रातोपाटी अनलाईन टिभीमार्फत भिडियोमा सार्वजनिक भएका हुन् ।
 यसअघि सिंहको अडियोमात्रै सार्वजनिक हुने गरेको थियो । सिंहले पहिलो भिडियो अन्तरवार्ता रातोपाटीलाई दिएका छन् ।  


मंगलबार रातोपाटी अनलाइन टिभीलाई अन्र्तवार्ता दिँदै सिंहले आफू भिडियो अन्तरवार्ताका लागि मात्रै खुला भएको तर सार्वजनिक कार्यक्रमहरुमा अझै नजाने बताए । 

उनले देशको राजनीतिक परिस्थिति अत्यन्त जटिल बन्दै गएको भन्दै यस्तो अवस्थामा पार्टीका विचार र कार्यक्रम जनतामाझ पुर्याउन सहज बनाउन भिडियो अन्तर्वार्ता दिन पार्टीले निर्णय गर्नुपरेको बताए । 

नेता सिंहले तत्कालीन नेकपा माओवादी र एमालेबीचको एकतालाई सकारात्मक रुपमा लिएपनि त्यो एकता कम्युनिस्ट पार्टीको एकता नभएको बताए । 

उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले नीति तथा कार्यक्रम र बजेट संविधानको मर्म अनुरुप ल्याउन नसकेको स्वीकार गरेका छन् । 

संविधानले तीन वटै तहका सरकारको कामहरु परिभाषित गरेपनि कामगर्ने शैलीमा पुरानै आचरण हावी हुँदा नीति तथा कार्यक्रम र बजेट संविधानको स्प्रिट अनुसार आउन नसकेको बताए । 

 ‘समावेशी विकास र समृद्ध नेपाल’ कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था र त्यसलाई कार्यन्वयनमा लैजानेहरुबीच द्वन्द्व हुँदा विकास निर्माणका गतिविधिमा समेत अवरोध भएको बताए । 

त्यस्तै समावेशी आर्थिक विकासका लागि तीन वटै तहका सरकारको संलग्नता र सक्रिय सहभागिताबाट मात्र योजना निर्माण गरी कार्यान्वयन र निरिक्षणमा जानुपर्नेमा उनको जोड थियो । 

अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरुमाथि सबैको पहँच समान हुनुपर्ने बताएका छन् । 

भूमि, पूँजी र प्रविधिको वितरणमा समान पहुँच नभए मुलुकमा आर्थिक विकास सम्भव नभएको र त्यसका लागि संघीयता कार्यान्यवनमा आएको स्पस्ट पारेका हुन् । 

 राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको ‘समावेशी विकास र समृद्ध नेपाल’ कार्यक्रममा उहालेवित्तीय समावेसीकरणमा सरकारले ध्यान दिएको बताए । उनले गाउँगाउँमा समतामुलक विकासका लागि स्थानीय तहले बजेट विनियोजन गर्ने र समान रुपले विकास हुने बताए । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा. स्वर्णीम वाग्लेले समावेशी आर्थिक विकासका लागि विदेशी सहयोगहरु बाधक बन्न सक्न बताए । 

अस्पतालमा विकृति

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा विरामीहरुलाई नीजि अस्पताल पठाउने गरेको पाइएको बताएका छन् । 

कान्ति बाल अस्पतालको ५८ औं वार्षिकोत्सव कार्यक्रममा स्वस्थ्यमन्त्री ढकालले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा विरामी नीजि अस्पताल पठाउने गरेको पाइएको बताएका हुन् । 

 आस्थाको केन्द्र अस्पताल भएपनि आफै विरामी भयो भने विरामीहरुको हालत स्वभाविक रुपमा निको नहुने भन्दै ढकालले उपचारका लागि सरकारी अस्पतालमा आउने विरामीलाई नीजिमा पठाउने गरिएको बताए । 

मन्त्री ढकालले चिकित्सकहरुको आचरण र व्यवहारमा सुधार गर्न सकेमात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने बताए । 

त्यसैगरी, कार्यक्रममा अस्पतालले चालु आर्थिक वर्षको पुस महिनासम्म ७० हजार बालबालिकालाई ओपीडि सेवा दिएको जनाएको छ । 

ओपीडि तर्फ ७० हजार र आकस्मिकतर्फ २७ हजार बालकालिकालाई सेवा दिइएको अस्पतालले बताएको छ । अस्पतालका निर्देशक डाक्टर आर.पी. बिच्छाले गत आर्थिक वर्षमा ओपीडि तर्फ १ लाख ५५ हजार र आकस्मिकतर्फ ५५ हजार बालबालिकालाई सेवा दिइएको बताउनुभयो । हरेक वर्ष १० देखि १२ प्रतिशत सेवाग्राही बढेको उल्लेख गर्दै बिच्छाले गतवर्ष २ हजार बालबालिकाको शल्यक्रिया गरिएको र १० हजारले अन्तरंग सेवा लिएको बताए । 

कृषकहरुलाई सामाजिक सुरक्षा कोष
श्रम मन्त्रालयले कृषकहरुलाई सामाजिक सुरक्षाकोषको दायरामा ल्याउने योजना अघि सारेको छ । 

मंगलबार भएको पत्रकार सम्मेलनमा कृषक मजदुरलाई श्रमिकको दायरामा ल्याउने योजना मन्त्रालयले अघि सारेका जानकारी दिइएको हो । श्रम मन्त्री रामेश्वर राय यादवले कृषकहरुलाई पेन्सनको सुनिश्चिता गर्न र विमाको दायरामा ल्याउन श्रमिकको दायरामा ल्याउने योजना अघि सारिएको बताए । 

मन्त्री यादवले मध्यपूर्वमा रहेका नेपालीहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयको अगुवाइमा गृह मन्त्रालय र श्रम मन्त्रालयको समुन्वयमा ‘रेस्क्यु’ कार्यक्रम अघि सारिएको बताए । 

६० हजारलाई रोजगारी

त्यसैगरी, मन्त्रालयले यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने भएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने योजना रहेको मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयले आगामी तीन महिने कार्ययोजना सार्वजनिक गर्दै यो वर्ष ६० हजारलाई रोजगारी दिने योजना रहेको बताएको हो । 

श्रममन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाका सहसचिव प्रकाश दाहालले कार्यक्रमका लागि यो वर्ष ५ अर्ब १ करोड बजेट विनियोजन भएको बताए । 


शेयर बजार

लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । 

यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोवार भएको यस साताको  तीन कारोवार दिनमा नै नेप्सेमा दोहोरो अङ्कको वृद्धि कायम छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६.२३ विन्दुले बढेर एक हजार २१६.९२ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ४.१३ ले वृद्धि भई २६४.८१ मा पुगेको छ ।
 

धेरै पछि कारोवार रकम अर्ब माथि पुगेको छ । लगानीकर्तामा विश्वास बढेपछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको हो । कूल १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता शेयर रु एक अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ मूल्यमा खरिद–बिक्री भए । धेरै पछि कारोवार रकमले आज नयाँ इतिहास कायम गरेको हो । 

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा दश उपसमूहको शेयर उकालो लागेको छ । 

त्यसैगरी, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरणका लागि स्वीकृति पाएको छ । संस्थाले आर्थिक वर्ष २०७५÷७६ को मुनाफा र गत वर्षसम्मको सञ्चित मुनाफा रकम समेतबाट ३० प्रतिशत शेयर लाभांश र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । संस्थाको साधारणसभाले स्वीकृत गरेको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले यही पुस २१ गते स्वीकृति दिएको कम्पनीले जनाएको छ । 

सुलेमानीको अन्त्येष्टि

शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ ।इरानी मिडियाहरुले उक्त भागदौडमा ३५ जनाको मृत्यु भएको पुष्टि  गरेका छन् । 

भागदौडमा दर्जनौ व्यक्ति घाइते भएको जनाइएको छ । इरानको केर्मान शहरमा सुलेमानीको अन्त्येष्टी गर्ने क्रममा लाखौं सर्वसाधारणको सहभागिता रहेको थियो । सुलेमानीको शव केर्मान लैजाने क्रममा सो घटना भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । 

केर्मान सुलेमानीको गृहनगर समेत हो ।  त्यही उनको अन्त्येष्टी गरिँदैछ ।अमेरिकाले कमाण्डर सुलेमानीको हत्य गरेपछि उसको चौतर्फी विरोध भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप