बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो सार्वजनिक भिडियो वार्तामा मोहनविक्रमको दावी : अब नेकपाले क्रान्ति गर्दैन

मङ्गलबार, २२ पुस २०७६, १६ : २८
मङ्गलबार, २२ पुस २०७६

काठमाडौँ । लामो समय राजनीतिक रुपमा अर्धभूमिगत रहँदै आएका नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह सार्वजनिक भएका छन् । 

नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा मानिने सिंह आफ्नो लामो राजनीतिक जीवनमा भूमिगत र अर्धभूमिगत हुँदै पछिल्लो समय रातोपाटी अनलाईन टिभीमार्फत भिडियोमा सार्वजनिक भएका हुन् । 

यसअघि सिंहको अडियोमात्रै सार्वजनिक हुने गरेको थियो । सिंहले पहिलो भिडियो अन्तरवार्ता रातोपाटी डटकमलाई दिएका हुन् ।

मंगलबार रातोपाटी अनलाइन टिभीलाई अन्र्तवार्ता दिँदै सिंहले आफू भिडियो अन्तरवार्ताका लागि मात्रै खुला भएको तर सार्वजनिक कार्यक्रमहरुमा अझै नजाने बताए । 

‘हाम्रो पार्टीले भिडियोमार्फत सार्वजनिक हुने भन्ने निर्णय गरेको थियो । त्यही अनुसार मैले पहिलो पटक रातोपाटी डटकममार्फत भिडियो अन्तरर्वार्ता दिँदैछु’, नेता सिंहले भने, ‘खुला भन्नुको अर्थ भिडियोमा मात्रै हो ।’ 
उनले देशको राजनीतिक परिस्थिति अत्यन्त जटिल बन्दै गएको भन्दै यस्तो अवस्थामा पार्टीका विचार र कार्यक्रम जनतामाझ पुर्याउन सहज बनाउन भिडियो अन्तर्वार्ता दिन पार्टीले निर्णय गर्नुपरेको बताए । 

‘अर्धभूमिगत अवस्थामा मात्र रहेर आफ्ना विचार, राजनीतिक कार्यक्रम जनतामाझ पुर्याउन गाह्रो हुन्छ । त्यसैले अलि खुला हुँदा सञ्चारमाध्यमहरुसँग पनि सहजै पहुँच पुर्याउन सजिलो हुने देखेर यस्तो निर्णय गर्न पुगेका हौँ’, महामन्त्री सिंहको भनाइ छ । 

यद्यपी सिंहले आफ्नो पार्टी भने भूमिगत नै रहने बताए । ‘हाम्रो पार्टी अझै भूमिगत नै छ । संगठनात्मक संरचनाहरु भूमिगत नै छन् । त्यसकारण म पनि अहिले पूरै बाहिर आएको भन्ने अर्थ होइन,’ सिंहको भनाइ छ । 

उनले पहिला आफूहरुले अडियोमार्फत मात्रै पत्रकारहरुसँग कुराकानी गर्ने गरेको भन्दै अहिले त्यसलाई अलि विस्तारमात्रै गरेको बताए । उनले पार्टीका प्रवक्ताबाहेक अरु सम्पूर्ण नेताहरु अहिलेपनि भूमिगत नै रहेको दावी गरे । ‘पार्टीको सम्पूर्ण संगठनात्मक संरचना अहिले पनि भूमिगत नै छ’, अन्तर्वार्ताका क्रममा सिंहले बताए ।

नेता सिंहले अन्तरवार्ता दिने क्रममा मुलुकमा संघीयता, गणतन्त्र र नयाँ संविधान जस्ता परिवर्तन भएपनि नयाँ जनताका समस्या समाधान नभएकाले जनवादी क्रान्ति आवश्यक रहेको बताए ।

 ‘देशमा अझै पनि विद्यमान अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्था छ । भ्रष्टाचार बढिराखेको छ । यी समस्या समाधान गर्न नयाँ जनवादी क्रान्ति आवश्यक छ’, सिंहले आफ्नो पार्टीको रणनीतिक लक्ष्य पनि नयाँ जनवादी क्रान्ति नै रहेको दावी गरे ।
नेता सिंहले तत्कालीन नेकपा माओवादी र एमालेबीचको एकतालाई सकारात्मक रुपमा लिएपनि त्यो एकता कम्युनिस्ट पार्टीको एकता नभएको रुपमा आफूले लिएको बताए । उनले यी दुई पार्टीबीच एकता नभएको भए राजनीतिक अस्थिरता पैदा हुने भएकाले त्यसलाई सकारात्मक रुपमा लिनुपरेको दावी गरे । 

‘हामी आग्रह पूर्वाग्रहबाट हेर्दैनौँ । देशको वस्तुगत स्थिति र देशको राष्ट्रिय हितलाई हेर्छौँ । त्यसकारण उनीहरुको बीचमा एकता नभएको भए राजनीतिक अस्थिरता पैदा हुनसक्थ्यो । त्यसो हुँदा उनीहरुको सत्ता टुट्ने खतरा थियो । त्यो खतरा आजपनि एकता भंग भयो भने छँदैछ । त्यस्तो हुँदा प्रतिगामी तत्त्वहरुले चलखेल गर्ने मौका पाउँछन् । त्यसैले एकतालाई हामीले सकारात्मक रुपमा लिएका हौँ’, सिंहको भनाइ छ । यद्यपि उनले दुई पार्टीको एकता विचार, सिद्धान्त र दर्शन मिलेर नभइ सत्तास्वार्थसँग जोडिएको दावी पनि गरे । 

नेकपाका नेताहरुले नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने बताउने बताइरहेका बेला नेता सिंहले आफ्नो पार्टी तत्काल एकता गर्ने अवस्थामा नरहेको बताए । 

उनले कम्युनिस्ट पार्टीमा निश्चित सिद्धान्त र विचार हुनुपर्ने भन्दै अहिले तालमेल र कार्यगत एकता गर्दै आएपनि आफ्नो पार्टी नेकपामा एकता नहुने प्रस्ट पारे । 

उनले नेपालका आफूलाई कम्युनिस्ट पार्टी भन्नेहरु नै मार्क्सवाद, लेनिनवादबाट विचलन भएको भन्दै राष्ट्रवादका विषयमा सम्झौतापरस्त बन्दै गएको आरोप लगाए । उनले नेकपाले हाल गर्दै आएको समाजवादी क्रान्ति पूरा नहुने भन्दै कुरा गर्नकै लागि जेजे गर्न पनि सकिने बताए । 

‘नेकपाले अव नयाँ जनवादी क्रान्तिको कुरा गर्दैन । यसभन्दा अगाडि बढेका छन् उनीहरु । नेकपाले समाजवादी क्रान्तिको कुरा गरेको छ । तर कुरा गर्नैका लागि त जे गरे पनि भयो’, उनले अगाडि थपे, ‘राजा महेन्द्रले पनि साम्यवादको कुरा गरेका थिए । भारतमा भारतीय काँग्रेसले पनि समाजवादको कुरा गरेकै छ । त्यसैले कसले के कुरा गरेको छ भन्ने महत्त्वपूर्ण होइन, व्यवहार महत्त्वपूर्ण हो ।’

नेकपाले समाजवादउन्मुख समाजको कल्पना गरेपनि उनीहरुले ल्याएको बजेट, नीति तथा कार्यक्रम पुँजीवादी प्रकारको रहेको सिंहको दावी छ । 

महामन्त्री सिंहले अमेरिकाको इण्डोप्यासिफिक रणनीति अन्तर्गत एमसीसी रहेको र त्यो दक्षिण एसियामा सैन्य गतिविधि विस्तार गर्ने योजनाअनुसार भएकाले त्यसको विरोध गर्नुपरेको बताए । 
भिडियो हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप