बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गहनाका लागि बुहारीद्वारा सासुको विभत्स हत्या: यसरी खुल्यो रहस्य

मङ्गलबार, २२ पुस २०७६, १५ : २९
मङ्गलबार, २२ पुस २०७६

बुटवल । केही दिनअघि गुल्मीको ईस्मा गाउँपालिकामा गोरुले हानेर घाईते भएको भनिएकी वृद्धाको मृत्युपछि प्रहरीले सुक्ष्म अनुसन्धान गर्दै उक्त घटनामा जेलिएको रहस्य पत्ता लगाएको छ ।  ईस्मा गाउँपालिका–३, टाकुरा, सिमपानी गाउँकी ७६ वर्षीया कौशिला विकलाई गोरुले हानेर घाईते बनाएको भन्दै पुस १७ गते राति उनकी बुहारी र अर्की छिमेकी महिलाले जिल्ला अस्पताल तम्घाससम्म उपचारका लागि ल्याएका थिए ।

टाउकोमा गम्भीर चोट लागेकी विकलाई तम्घास अस्पतालमा उपचार हुन नसकेपछि अचेत अवस्था मै पाल्पा हुँदै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पु¥याइएको अवस्थामा पुस १९ गते उनको मृत्यु भएको थियो । तम्घास अस्पतालका डाक्टरदेखि अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले गोरुले हानेर उनी घाईते भएको पत्याउन नसकेपछि प्रहरीले गहिरो अनुसन्धान थालेको थियो ।

अनुसन्धान पश्चात उनकै बुहारी २३ वर्षीया देवी विक र अर्की छिमेकी महिला २८ वर्षीया लक्षिमा भन्ने लक्ष्मी विकले योजनाबद्ध ढंगले टाउकोमा लाठी प्रहार गरि हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता एवं डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।

यस्तो थियो घटना

मृतक विकका श्रीमान शेरबहादुर विक त्यसदिन तोरीपाटा भन्ने स्थानमा मासु लिन गएका थिए । कौशिला भने श्रीमानले कतिबेला मासु लिएर आउँछन् भनेर प्रतीक्षा गरिरहेकी थिइन् । सासु घरमा एक्लै भएको मौका छोपी बुहारी देवी विक छिमेकी लक्षिमा विकको घरमा पुग्छिन् र दुई जनाले कौशिलाको हत्या गरि कानमा रहेका सुनका गहना लुट्ने योजना बनाएको प्रहरी प्रवक्ता घलेले बताए ।

डिएसपी घलेकाअनुसार लक्षिमाले गोठमा रहेको गोरु फुकाइदिने र गोठ मै लाठी लिएर लुक्ने, घरकी बुहारी देवीले ‘गोरु फुक्यो सासु’ भन्दै घरमा बोलाउन जाने योजना बनाउँछन् । सोहीअनुरुप लक्षिमाले दुबै गोरु फुकाएर घरतिर खेदेर पठाउँछिन् । बुहारी देवी भने गोरु फुक्यो भन्दै घरभित्र रहेकी सासुलाई बोलाउन जान्छिन् ।

कौशिला गोठतिर जाने क्रममा ठुलै लाठीले लक्षिमाले टाउकोमा प्रहार गर्छिन् र एकै प्रहारमा वृद्धा भुइँमा ढल्छिन् ।  उनीहरुले वृद्धाको कानबाट गहना निकालेर मल्खातो नजिकै गोबरभित्र लुकाएर राख्छन् । त्यसपछि लक्षिमा त्यहाँबाट हिँड्छिन् भने घरकी बुहारी देवीले ‘सासुलाई गोरुले हानेर मा¥यो’ भन्दै गाउँमा गुहार माग्छिन् ।

तिनै सुनका गहना र टाउकाको विभत्स चोटबाट उनको निधन गोरुले हानेर नभई अरु नै केही कारण भएको आशंका बढेर अनुसन्धान गरी हत्याको रहस्य पत्ता लगाउन सकिएको डिएसपी घलेको भनाइ छ ।
गाउँलेहरु जुटेर अचेत अवस्थामा रहेकी वृद्धालाई गाडीमा राखेर उपचार गर्न तम्घास पठाउँछन् । देवी पनि घाइते सासुलाई लिएर अस्पताल पुग्छिन् ।

दुवै महिलाले स्वीकार गरे आरोप

ती दुई महिलाले सुनका गहना लुट्नका लागि गोरुले हानेर मारेको बहाना बनाई लाठीले कुटेको स्वीकार गरेको डिएसपी घलेले बताए । उनीहरुविरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरि म्याद थपसमेत भईसकेको घलेले जानकारी दिए ।

प्रहरीका अनुसार हत्यामा संलग्न देवी मृतक वृद्धाकी सौतेनी बुहारी हुन् । शेरबहादुरले जेठी पत्नीको मृत्युपछि कौशिलासँग दोस्रो विवाह गरेका थिए । जेठीतर्फबाट छोराकी पत्नी हुन् देवी । उनका श्रीमान विदेशमा छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप