शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानका सांस्कृतिक धरोहर निशानामा रहेको भन्ने ट्रम्पको धम्कीको सर्वत्र विरोध

मङ्गलबार, २२ पुस २०७६, १३ : २२
मङ्गलबार, २२ पुस २०७६

एजेन्सी । इरानका सांस्कृतिक धरोहरहरुमाथि आक्रमण गर्ने धम्की दिएपछि डोनाल्ड ट्रम्प अहिले सर्वत्र आलोचित भइरहेका छन् । 

अमेरिकाले इरानी कमान्डर कासिम सुलेमानीको हत्या गरेपछि उत्पन्न तनावमाझ ट्रम्पले उक्त धम्की दिएका थिए । 

राष्ट्रपतिले एक ट्विटमा इरानले अमेरिकी स्वार्थ र जनतामाथि हमला गरे भने ५२ इरानी साँस्कृतिक धरोहर आक्रमणको निशानामा पर्ने बताए थिए । 

तर संयुक्त राष्ट्र सङ्घको सांस्कृतिक सङ्गठनदेखि अमेरिकाको मित्र शक्ति बेलायतका विदेश मन्त्रीसम्मले त्यस्ता धरोहर विश्वव्यापी संरक्षणमा रहेको बताएका छन् । 

अमेरिका र इरान दुवैले सांस्कृतिक धरोहर संरक्षणसम्बन्धी महासन्धिमा हस्ताक्षर गरेका छन् । द्वन्द्वको बेलामा समेत सांस्कृतिक धरोहरमाथि आक्रमण नगर्ने तिनले सहमती जनाएका छन् । 

अन्तर्राष्ट्रिय कानुनअनुसार सांस्कृतिक धरोहरलाई सैन्य निशाना बनाउनु युद्ध अपराध मानिन्छ । 

कासिम सुलेमानी शुक्रबार भएको अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए । उनको हत्याका लागि ट्रम्प स्वयंले निर्देशन दिएका थिए । 

हत्यापछि इरानले ‘कठोर बदला’को चेतावनी दिँदा क्षेत्रीय तनाव निक्कै वृद्धि भएको छ । 

राष्ट्रपतिका धम्कीहरु के थिए ?

ट्रम्पका धम्की शनिबारका शृङ्खलाबद्ध ट्विटमार्फत आएका थिए । अमेरिकाले ‘इरान र इरानी जनताका लागि अत्यन्त महत्त्वपूर्ण’ रहेको ५२ क्षेत्र पहिचान गरेको ट्रम्पले लेखेका थिए । ती स्थान इरानले अमेरिकी स्वार्थ वा अधिकारीमाथि बदलापूर्ण आक्रमण गरेमा ‘अत्यन्त छिटो र गम्भीरताका साथ’ आक्रमणमा पर्ने ट्रम्पको धम्की थियो । 

सेक्रेटेरी स्टेट माइक पोम्पेओले ट्रम्पको धम्कीलाई केही नरम बनाउने प्रयासमा अमेरिकाले अन्तर्राष्ट्रिय कानुनअन्तर्गत रहेर कदम उठाउने बताएका थिए । 

तर राष्ट्रपति ट्रम्पले पुनः धम्की दोहोर्‍याउँदै लेखे, ‘तिनले चाहिँ हाम्रा नागरिकलाई मार्नसमेत पाउने, हामी चाहिँ तिनको सांस्कृतिक क्षेत्रलाई छुन नपाउने ? त्यस्तो हुँदैन ।’

सोमबार, ह्वाइट हाउसकी सल्लाहकार केलिएन कोनवेले राष्ट्रपति ट्रम्पको प्रतिरक्षा गर्ने क्रममा ट्रम्पले सांस्कृतिक धरोहरलाई निशाना बनाउने नभनेर त्यस विषयमा प्रश्न मात्र सोधेको बताइन् । 

‘इरानका यस्ता धेरै रणनीतिक सैन्य क्षेत्र छन् जुन सांकृति क्षेत्र पनि हुन्,’ ट्रम्पकी सल्लाहकार केलीएनले भनिन् । तर उनले पछि आफ्नै भनाइका लागि स्पष्टिकरण दिनुपरेको थियो । केलिएनले आफ्नो भनाइको अर्थ इरानले सैन्य क्षेत्रलाई सांस्कृतिक क्षेत्र भन्ने गरेको नभएको स्पष्टिकरण दिएकी थिइन् । 

डिफेन्स सेक्रेटरी मार्क एस्परले पनि युद्धको समयमा आफूहरुले द्वन्द्वको नियम पालना गर्ने बताए । 

विरोधमा कसले के भने ?

संयुक्त राष्ट्र सङ्घको सांस्कृतिक सङ्गठन युनेस्कोका महानिर्देशकले इरान र अमेरिका दुवैले विश्व प्राकृतिक र सांस्कृतिक धरोहर संरक्षण महासन्धि–१९७२ मा हस्ताक्षर गरेको बताए । 

ती दुवैले १९५४ को सैन्य द्वन्द्वको समयमा सांस्कृतिक सम्पदा संरक्षण महासन्धिमा हस्ताक्षर गरेका छन् । 

सन् २०१८ मा ट्रम्पले अमेरिकालाई युनेस्कोबाट बाहिर निकालेका थिए । उक्त सङ्गठनले इजरायली विरोधी पूर्वाग्रह लिएको भन्दै ट्रम्पले उक्त कदम चालेका थिए । 

डेमोक्रेटिक पार्टीकी सिनेटर एलिजावेथ वारेन र क्रिस मर्फीले ट्रम्पले ‘युद्ध अपराध गर्ने धम्की दिएको’ बताएका थिए । उस्तै विचार इरानका विदेश मन्त्री मोहमद जावेद जारिफले पनि व्यक्त गरेका थिए । 

सोमबार, बेलायती विदेशी मन्त्री डोमिनिक रायबले सांस्कृतिक धरोहर अन्तर्राष्ट्रिय कानुनद्वारा संरक्षित भएको बताए । उनले ब्रिटेनले तिनको पालना हुने आसा गर्ने बताए । 

विगतमा इस्लामिक स्टेट समूहले मध्यपूर्व क्षेत्रका कैयौँ सांस्कृतिक धरोहरमा आक्रमण गरेका छन् । त्यस क्रममा धेरै ऐतिहासिक मस्जिद, धार्मिक स्थल, चर्च र सिरियाको चर्चित पाल्मिराको धरोहर निशाना बनाइएको थियो । 

तालिवानले उसको शासनको अन्त्यतिर वामियान प्रान्तमा रहेको विश्वको सबैभन्दा अग्लो बुद्ध मूर्ति ध्वस्त पारेको थियो ।  

ट्रम्पको धम्कीद्वारा एकताबद्ध इरानी

कासिम सुलेमानीको हत्याको समाचारले इरानीहरु विभाजित देखिन्थे । केही क्रुद्ध भएका थिए भने केहीले यसको प्रशंसा गरेका थिए । विशेषतः पश्चिमा देशमा बस्ने र वर्तमान इरानी शासनको विरोधीले सामाजिक सञ्जालमा सुलेमानीको हत्यामा खुसी व्यक्त गरेका थिए ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सांस्कृतिक क्षेत्रमाथि आक्रमण गर्ने धम्कीपूर्ण ट्विट गरेपछि देश विदेशम बस्ने सम्पूर्ण इरानीले एक स्वरमा उनको विरोध गरिरहेका छन् । 

इरान विश्वकै सबैभन्दा पुरानो सभ्यतामध्ये एक हो । प्रत्येक इरानी तिनको समृद्ध इतिहासप्रति गर्व गर्छन् । 

ट्रम्पको ट्विटपछि लगत्तै इरानी विदेश मन्त्रालयले कैयौँ ट्विट गर्दै ट्रम्पलाई इस्लामिक स्टेट समूहसँग तुलना गरे । आईएसले सिरियामा धेरै सांस्कृतिक धरोहर नष्ट गरेर विश्व समाचारमा छाएको थियो । 

इरानको शीर्ष सांस्कृतिक क्षेत्र

इरानमा दुई दर्जन जति युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्र छन् । तिनमध्ये प्रमुख यस्ता छन् :

–पर्सेपोलिस प्राचीन पर्सियाली अकिमनिद साम्राज्यको राजधानी थियो । यो सहरमा ६०० इसापूर्वसम्मका अवशेष फेला परेका छन्,

–नस्क–ए जहान चोक इस्फहान सहरमा छ । १७औँ शताब्दीको सुरुमा निर्माण गरिएको थियो यो चोक विश्वको सबैभन्दा ठूलो सहरी चोक हो । 

–तेहरानमा रहेको गोलेस्तान दरबार सन् १७८५ देखि १९२५ मा इरानमा शासन गरेको कजार वंशको आवासीय दरबार थियो । 

इरानमा युनेस्कोमा सूचीकृत नभएका कैयौँ सांस्कृतिक धरोहर जुन सांस्कृतिक रूपमा निक्कै महत्त्वपूर्ण मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप