बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुलेमानीलाई अमेरिकाले कसरी पार्‍यो निशानामा ?

मङ्गलबार, २२ पुस २०७६, ११ : ३०
मङ्गलबार, २२ पुस २०७६

अमेरिकाले ३ जनवरीमा बगदाद विमानस्थल नजिकै ड्रोनमार्फत् एक हवाई हमला गरेर इरानका अल कुड्द फोर्सका प्रमुख कासिम सुलेमानीको हत्या गर्‍यो ।

गोप्य स्रोतले अमेरिकी मिडियालाई उक्त अभियान राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा भएको र यसलाई पूर्ण तयारीमा साथ पूरा गरिएको जानकारी दिएको छ ।

सुलेमानी केही समय अघि मात्रै इराक पुगेको बताइन्छ । घटनाका बेला उनी दुईवटा गाडीको कार्केडमा यात्रा गरिरहेका थिए जसमा इरान समर्थित इराकी सैनिक पनि सवार थिए ।

बीबीसी मिडिया मोनिटरिङ सर्भिस, बीबीसी मनिटरिङका अनुसार इरानी टिभी च्यानलले सुरुमा अमेरिकी सेनाको हेलिकोप्टरमार्फत् इराकमा उक्त हमला गरेको बताएको थियो ।

ड्रोनमार्फत् गरियो हमलाः

यद्यपि, अमेरिकी मिडियाका अनुसार उक्त हमला मानवरहित एयरक्राफ्ट एमक्यू–९ रिपरमार्फत् गरिएको  हो । यो एउटा यस्तो ड्रोन हो जुन अधिकतम ४८० किलोमिटर प्रतिघण्टाको गतीमा उडान भर्न सक्छ ।

अमेरिकाले अन्तर्राष्ट्रिय विमानस्थल नजिकै यो उपकरणको प्रयोग र यसले उक्त इलाकाको एयर ट्राफिकमा पार्ने सम्भावित खतराबारे अहिलेसम्म केही जानकारी दिएको छैन ।

द न्यूयोर्क टाइम्सले सरकारी स्रोतलाई उद्धृत गर्दै ड्रोनले दुई कारमाथि दुईवटा मिसाइल दागेको जानकारी दिएको छ । यी मिसाइल आफ्नो पूर्व निर्धारित लक्ष्यमा एयरपोर्टको कार्गो टर्मिनल नजिकै दागिएको बताइएको छ ।

अरबी टेलिभिजन अल अरेबियाले आफ्नो रिपोर्टमा उक्त हेलफायरलाई आर९एक्स मिसाइल बताएको छ जसलाई निन्जा पनि भनिन्छ । हावाबाट धर्तीमा मार गर्ने यो मिसाइललाई युद्ध ट्याङ्क नष्ट गर्नका लागि बनाइएको हो जसलाई हेलिकोप्टर वा हवाई जहाजमार्फत् छोड्न सकिन्छ ।

रिपोर्टका अनुसार मध्य पूर्वमा मात्रै अमेरिकाले नवौं पटक यस्तो प्रकारको मिसाइल प्रयोग गरेको छ ।

इराकमा अमेरिकी बेसमार्फत् भएको थियो हमलाः

हमलाको केही बेरपछि यसलाई इराकमा एउटा अमेरिकी बेसमार्फत् कोओर्डिनेट गरिएको थियो ।

शिया मिलिशिया समूहको तर्फबाट सेयर गरिएको एउटा भिडियोमा कारको अवशेष जलिरहेको देख्न सकिन्छ जसमा सुलेमानी यात्रा गरिरहेका थिए ।

अर्को एउटा तस्बिरमा रगतले लत्पत्तिएको सुलेमानीको हात देखिएको छ जसमा उनले आफूलाई मनपर्ने रातो औंठी लगाएका छन् ।

इराकी आर्मी जोइन्ट अपरेशन फोर्सेसको मिडिया अफिसले आफ्नो आधिकारिक फेसबुक पेजमा केही तस्बिर जारी गरेको छ जसमा बगदाद एयरपोर्टबाट बाहिर निस्कने गेट नजिकै सडकमा जलिरहेको कार देखिएको छ ।

मृतकबारे के थाहा छ ?

हमलाको थुप्रै घण्टासम्म यसको शिकार बनेका मानिसहरुको पहिचान र उनीहरुको संख्याको विषयमा कुनै आधिकारिक घोषणा भएन । अमेरिका र अरब मिडियाले गोप्य सूत्रको हवाला दिँदै घटनामा ६ देखि सातजनामाथि क्षती पुगेको दाबी गरेको छ ।

जनरल सुलेमानीका साथै इरानले इराकका सैन्य कमान्डर अबू महदी अल महांदिसको मृत्यु भएको पनि पुष्टि गरेको छ । उनी इरान समर्थित मोबिलाइजेशन फोर्सेस अफ इराकका उप–प्रमुख थिए ।

इरानको सरकारी टिभी च्यानलका अनुसार हमलामा मारिएका तीन सैनिक रिभोलुशनरी गार्डका हिस्सा थिए जबकि द न्यूयोर्क टाइम्सले इरानी सैनिकसँग सुरक्षाका लागि इराकी सेनाका सदस्य पनि भएको बताएको छ ।

अल अरेबियाको दाबी अनुसार सुलेमानीसँग लेबनानी हिजबुल्लाहका अधिकारी पनि थिए ।

सुलेमानी र अन्य मानिसहरुको गैरन्यायिक हत्या गरेको भन्दै संयुक्त राष्ट्रका दूत एग्नेस कल्लामार्डले प्रश्न उठाएका छन् ।

उनले ट्वीटरमा लेखे, ‘कासिम सुलेमानी र अबू महदी अल महांदिसको हत्या गैरकानूनी हो र अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लंघन हो । कसैलाई छानेर हत्या गर्नका लागि यस्तो प्रकारको ड्रोन र अन्य कुराको प्रयोग गर्नु कहिले पनि वैध हुन सक्दैन ।’

‘पेन्टागनको बयानमा सुलेमानीबाहेक अरु को मारिएका छन् भन्ने जानकारी दिइएको छैन ।’

अमेरिकी सरकारले भनेको छ, ‘यो अभियान ती षड्यन्त्रको जवाफ हो जसमार्फत् इरानले सक्रिय रुपमा इराकमा अमेरिकी कूटनीतिक र अन्य सदस्यमाथि हमलाको योजना बनाइरहेको थियो । ’

यद्यपि, अमेरिकाले यसको कुनै प्रमाण दिएको छैन ।

हमलाको कारण के हो ?

इराकमा अमेरिकाको यो हमला अमेरिका र इरानबीच बढ्दो तनावका बीच भएको हो ।

गत हप्ता इराकको किरकुकमा भएको हमलामा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो र चार सैनिक घाइते भएका थिए जसका लागि अमेरिकाले इरान र सुलेमानीलाई जिम्मेवार बताएको थियो ।

द वासिङ्टन पोष्टका अनुसार यो घटना पनि हमलाकै कारण सृजित भएको हो  तर केही दिन पछि ३१ डिसेम्बर बेलुका इरान समर्थित सेनाले बगदादमा अमेरिकी दूतावासलाई घेरे ।

अमेरिकी मिडियाका अनुसार यो घटनापछि अमेरिका यो क्षेत्रमा सैनिकको संख्या बढाउने विषयमा गम्भीर मात्रै भएन, हमलामार्फत् जवाफ दिने योजना पनि बनायो  ।

सन् २०१८ मा डोनल्ड ट्रम्पले इरानसँग परमाणु सम्झौता समाप्त गर्दै उक्त देशमाथि थुप्रै प्रतिबन्ध लगाइदिए । यसले इरानको अर्थव्यवस्थामा हलचल मच्चियो, त्यति बेलादेखि दुई देशबीचको सम्बन्ध बिग्रियो ।

गत वर्ष जूनमा इरानले अमेरिकी ड्रोनलाई खसाल्ने दाबी गरेको थियो त्यसपछि डोनल्ड ट्रम्पले हवाई हमलाको तयारी गरे तर पछि त्यो रद्द भयो ।

हार्मूज जलडमरुमध्यमा विभिन्न जहाजमा भएको धमाकापछि दुई देशबीच तनाव थप बढेको छ । त्यसपछि साउदी अरबको तेल कम्पनी अरामकोमा भएको हमलाको आरोप पनि इरानमाथि लाग्यो ।

सुलेमानीको मृत्यु इरानका लागि कति ठूलो झट्का ?

जनरल कासिम सुलेमानी इरानका सबैभन्दा शक्तिशाली सैन्य अनुहार मात्रै नभई देशका सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एक थिए । उनी आयतोल्लाह खामनेईपछि दोस्रो स्थानमा थिए जसलाई उनी सिधा रिपोर्ट गर्दथे ।

मध्य पूर्वमा इरानको सैन्य ताकत र रणनीतिका लागि मात्रै होइन उनी युद्ध र शान्तिको मुद्दामा इरानका सच्चा चान्सलर पनि थिए ।

द न्यूयोर्क टाइम्सका अनुसार सुलेमानी यति महत्वपूर्ण थिए कि उनको हत्या गर्ने सोच बराक ओबामा र जर्ज डब्ल्यू बुशको सरकारले पनि गरेको थियो तर इरानसँग युद्ध नचाहने भन्दै अमेरिकाले उक्त विचार त्यागेको थियो ।

सन् १९८० को दशकमा इराकसँगको युद्धमा भाग लिएपछि ६२ वर्षका सुलेमानी इरानको राजनीतिमा आए । उनले इस्लामिक स्टेटविरुद्ध लडाईं र अर्को प्रभावशाली नेटवर्क बनाउने रणनीतिकारको रुपमा काम गरे ।

राष्ट्रपति बुशर अल–अशदले सिरियामा विद्रोही शक्तिविरुद्ध युद्धको तरिका परिवर्तन गर्न, इराकमा शिया मिलिशियालाई नियन्त्रणमा ल्याउने क्रममा इरानबाट समर्थन र प्रशिक्षण पाए ।  जनरल सुलेमानीलाई त्यो रणनीति तयार गर्नका लागि श्रेय दिइन्छ ।

बीबीसीको सहयोगमा


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप