शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिँडेरै अस्पताल आएको बिरामीको मृत्युलाई चिकित्सकले कसरी लिन्छ ?

सर्जरीमा डेढ दशक लामो अनुभव सँगालेका चिकित्सक भन्छन्– पेशा छाड्न मन लाग्छ
मङ्गलबार, २२ पुस २०७६, १० : २३
मङ्गलबार, २२ पुस २०७६

काठमाडौँ । चाहेर पनि मानिस सधैँ स्वस्थ्य भइरहन सक्दैन । जीवनको कुनै न कुनै खण्डमा मानिसले चाहेर होस् या नचाहेर, बाँच्नका लागि चिकित्सकसामु आफूलाई समर्पण गर्नुपर्ने बाध्यता आइपर्छ । अझ शल्यक्रिया नै गर्नुपर्ने अवस्थामा बिरामी र उसका परिवारका सदस्यहरुले चिकित्सकलाई ‘भगवान’कै दर्जामै राखेर अपेक्षा गर्न थाल्छन् । अनि जब शल्यक्रिया असफल हुन्छ, वा भनौँ बिरामीको मृत्यु हुन्छ, त्यही चिकित्सकलाई ‘यमराज’को दर्जामा राखिन्छ ।

एउटा चिकित्सक, खासगरी शल्य चिकित्सकले यस्ता उतार–चढावको सामना गरिहनु पर्छ । पेशागत जीवनमा आइपर्ने यस्ता उतार–चढावलाई झेल्दै एउटा चिकित्सकले कसरी पेशागत दायित्व निर्वाह गरिरहन्छ ? आफ्नो जिम्मेवारीमा रहेको बिरामीको अस्वाभाविक मृत्युलाई एउटा चिकित्सकले कसरी लिन्छ ? यस्ता प्रश्नहरुप्रति आम नागरिकले खासै चासो राख्ने गरेको पाइँदैन । अस्पतालमा उपचारकै क्रममा कसैको मृत्यु भएमा मृतकका परिवार, आफन्तलगायतले उपचारमा संलग्न चिकित्सकलाई निशाना बनाएर ‘हत्यारालाई फाँसी दे’ भन्दै अस्पताल परिसरमै आन्दोलन र नारावाजी गर्ने गरेका परिदृष्य पनि हाम्रा लागि नौलो होइन । जबकि एउटा सार्वजनिक सवारी साधन दुर्घटना हुँदा एकैसाथ कयौँको मृत्यु हुन्छ, तर पनि यस्तो नाराजुलुस देखिँदैन, किन ?

यस्ता घटना–दुर्घटनाले चिकित्सकको मानसिकतामा कस्तो असर पार्छ भन्ने विषयमा जानकारी लिन हामीले डा. कमल कोइरालासँग भेट ग-यौं, जो भर्खरै शल्यक्रिया सकेर ओ.पि.डी.मा बिरामी जाँच गरिरहेका थिए ।

सर्जरीमा डेढ दशकभन्दा बढी अनुभव बटुलेका डा. कोइराला सर्जरी विषय अध्यापन पनि गर्दछन् । उनी प्राध्यापक र सिनियर कन्सल्टेन्ट सर्जन हुन् । हाम्रा अनगिन्ती प्रश्नमा सरल र शान्त स्वभावका डा. कोइरालाले चिकित्सा क्षेत्र, विशेषगरी सर्जरी र चिकित्सकमा हुने भावनाबारे महत्वपूर्ण जानकारी दिए । चिकित्सा पेशा अति नै समवेदनशील र मानिसले बढी नै अपेक्षा गर्ने पेशा भएकाले एउटा चिकित्सकले उतार–चढावको सामना गरिरहनु पर्ने उनले बताए ।

बिरामीको मृत्युलाई चिकित्सकले कसरी लिन्छ ?

बाँच्ने अपेक्षासहित आफ्ना सामु आएको बिरामीको अस्वाभाविक मृत्यु हुँदा चिकित्सकलाई पनि ठूलो चोट लाग्ने प्रा.डा. कोइराला बताउँछन् ।

उनी भन्छन्, ‘बिरामीको मृत्युको सबैभन्दा ठूलो चोट त उसका परिवारमा पर्ने नै भयो, दोस्रोमा चिकित्सक लगायत उपचारमा संलग्न टिम र तेस्रोमा अस्पताल प्रशासनलाई पर्दछ । चिनेको वा नचिनेको कुनै पनि मानिसको अल्पायूमै मृत्यु हुँदा दुःख नमान्ने कोही नै हुँदैन ।’

उनले भने, ‘आफूले अप्रेशन गरेको बिरामीको मृत्यु होस् भन्ने चाहना कसरी हुन सक्छ र ?’ अस्पताल प्रशासनले पनि आफ्नो अस्पतालमा आएका बिरामीहरु सकेसम्म निको भएरै जाउन् भन्ने चाहने उनको भनाइ छ । ‘किनकि धेरैभन्दा धेरै बिरामी निको हुँदै घर फर्किएमा त्यो अस्पतालप्रति मानिसको विश्वास बढ्छ,’ उनले भने, ‘अस्पताल प्रशासनले पनि आफ्नो अस्पतालप्रति जनविश्वास बढोस् भन्ने चाहन्छ, बिरामीको मृत्युले अस्पताल खुसी हुने कारण नै छैन ।’

उनले अगाडि भने, ‘कुनै कारणले उपचारको क्रममा बिरामीको मृत्यु हुँदा यही तीन पक्ष सँगै बसेर दुःख साटासाट गर्नुपर्नेमा व्यवहारमा दुई पक्ष, त्यो पनि परस्पर विरोधी पक्षजस्तो भइदिन्छ ।’


डा. कोइरालाका अनुसार यस्तो परिस्थितिमा एउटै उपाय भनेको निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनु नै हो । ‘तपाईले बिचार गर्नुभएको छ कि छैन, हिँडेर आएका भर्खरका बिरामीको मृत्यु हुँदा बिरामीको पक्षमा र चिकित्सक–अस्पताल पक्षमा पनि तनाव धेरै हुन्छ,’ उनले भने, ‘बिरामी पक्षबाट पनि नारा जुलुस र असन्तुष्टि रहने सम्भावना बढी हुन्छ । कुनै लापरवाही भयो कि भनेर भित्री रुपमा अस्पताल पक्षबाट पनि व्यापक छानविन हुन्छ ।’


सामान्य शल्यक्रियामा पनि हुन्छ बिरामीको मृत्यु

प्रा.डा. कमल कोइराला कहिलेकाहीँ सामान्य शल्यक्रियामा पनि यस्ता दुर्घटना हुन सक्ने बताउँछन् । ‘हो, सामान्य शल्यक्रियामा पनि बिरामीको मृत्यु हुँदा परिवारमा ठूलो चोट लाग्न सक्छ, चिकित्सकमा पनि त्यस्तै चोट पर्दछ, अस्पताललाई पनि त्यसले चोट लागेको हुन्छ,’ उनले भने ।

यसको कारण खुलाउँदै उनी भन्छन्, ‘कस्तो खालको शल्यक्रियामा कति मृत्युदर हुन्छ भन्ने विश्वव्यापी रुपमै आँकडा छ ।’ यद्यपि आफूले गरेको शल्यक्रिया सफल होस् भन्ने चिकित्सकको चाहना रहने उनको भनाइ छ ।

‘एउटा चिकित्सकको प्रयास बिरामी निको भएर घर जाउन् भन्ने नै हुन्छ,’ उनले भने, ‘आफूले अप्रेशन गरेको बिरामी निको भएर उनका आफन्तले लुगाफाटो पोको पार्दै हामीसँग बिदा मागेर घरतर्फ गएको पल नै एउटा चिकित्सकका लागि सबैभन्दा खुशीको क्षण हुन्छ ।’

डा. कोइरालाका अनुसार कुनै पनि बिरामीलाई शल्यक्रिया गर्नुअघि ‘ए.एस.ए. ग्रेडिङ’ गरिन्छ । जसअनुसार शल्यक्रियाको क्रममा वा शल्यक्रियापछि ३० दिनभित्र मृत्यु हुने सम्भावना कति छ भन्ने अनुमान गर्न सकिन्छ । तर मृत्युदर शुन्य भने कुनै बिरामीका लागि पनि नहुने उनले प्रष्ट पारे ।

‘शरीरमा कुनै शल्यक्रिया गर्नुपर्ने रोगबाहेक अन्य कुनै रोग नभएको, हिँडेरै आएको मानिसमध्ये पनि हजार जनामा एकजनाको मृत्यु हुने विश्वव्यापी आँकडा छ,’ उनले भने, ‘यस्ता स्वस्थ बिरामीको शल्यक्रियाको क्रममा मृत्यु हुँदाको परिणाम आत्मसात गर्न सबैलाई कठिन हुन्छ ।’

डा. कोइरालाका अनुसार यस्तो परिस्थितिमा एउटै उपाय भनेको निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनु नै हो । ‘तपाईले बिचार गर्नुभएको छ कि छैन, हिँडेर आएका भर्खरका बिरामीको मृत्यु हुँदा बिरामीको पक्षमा र चिकित्सक–अस्पताल पक्षमा पनि तनाव धेरै हुन्छ,’ उनले भने, ‘बिरामी पक्षबाट पनि नारा जुलुस र असन्तुष्टि रहने सम्भावना बढी हुन्छ । कुनै लापरवाही भयो कि भनेर भित्री रुपमा अस्पताल पक्षबाट पनि व्यापक छानविन हुन्छ ।’

कुनै गम्भीर प्रकृतिको बिरामीमा परिवारसँग बसेर मन्जुरीनामा लिएर उच्च जोखिम मोलेर गरिएको शल्यक्रियापछि हुन सक्ने मृत्यु पश्चात भने प्रायः तनाव नहुने उनको अनुभव छ ।

चिकित्सक भगवान पनि होइन, यमराज पनि होइन

जीवन र मृत्यु कसैको अधिनमा नरहने प्रा.डा. कोइराला बताउँछन् । ‘चिकित्सकले सबै बिरामीलाई बचाउन सक्ने हो भने त सबैभन्दा पहिला चिकित्सक र उसका परिवारका कोही पनि नमर्नुपर्ने हो नि !’ उनले भने ।

प्रा.डा. कोइराला अगाडि भन्छन्, ‘सबै बिरामी बचाउनु वा मार्नु हाम्रो हातमा हुने हो भने हामी र हाम्रा परिवारका कोही नमर्नुपर्ने होइन र ? तर हामी आफैँ पनि सँधै बाचिरहन सक्दैनौँ, कस्ता–कस्ता चिकित्सक भएर पनि बाँचिरहन सक्दैनन् किनकि जीवन र मृत्यु हाम्रो हातमा छैन ।’

आफूले हासिल गरेको ज्ञान, आफूले गरेको चिकित्सकीय अभ्यास र शिक्षाका आधारमा बिरामीको उपचार गर्ने भूमिका मात्र चिकित्सकले निर्वाह गर्ने उनको भनाइ छ । ‘आफ्नो पेशाप्रति इमानदार भएर काम गर्ने हो, आफूले जानेअनुसार उपचार गर्ने हो,’ उनले भने, ‘यसमा शत प्रतिशत नतिजा अनुकुल नै हुन्छ भन्ने होइन ।’


‘यदि सही उपचार गर्दागर्दै हुने भवितव्यमा चिकित्सकलाई ‘फाँसी दे’ भन्ने हो भने भविष्यमा कुन चिकित्सकले कुन मनोबलले बिरामीको उपचार गर्छ ?’ उनले प्रश्न गरे, ‘कुनै पनि शल्यक्रिया सफल हुन शल्यचिकित्सकको टिम, एनेस्थेसियाको टिम, नर्सिङ टिमलगायत विभिन्न औजारहरु र उपकरणहरु सबैको आ–आफ्नो दायित्व हुन्छ । यदि कुनै मानवीय त्रुटि नै भएको छ भने पनि छानविनबाट प्रष्ट हुन जरुरी छ । जुनसुकै मृत्युमा शल्यचिकित्सकलाई फाँसी दे भनेरमात्र कहाँ हुन्छ र ?’


चिकित्सकप्रति आम मानिसको अपेक्षा बढी नै हुने र चिकित्सक भनेकै मानिसलाई बचाउने हो भन्ने मान्यताका कारण प्रतिकुल नतिजाहरुलाई समाजले स्वीकार गर्न गाह्रो पर्ने गरेको उनले बताए ।

‘हरेक पेशामा दुर्घटनाहरु हुन्छन्,’ उनले भने, ‘समाचार लेख्दा पत्रकारहरुबाट पनि अन्जानवस् कहिलेकाहीँ गल्ती समाचार सम्प्रेषण भएको हुन सक्छ, प्लेन उडाउँदा पनि दुर्घटना हुन सक्छ, जुनसूकै पेशामा पनि कहिलेकाहीँ प्रतिकुल नतिजा आउन सक्छ ।’

तर अन्य पेशाको तुलनामा चिकित्सकीय पेशामा हुने दुर्घटना समाजका लागि पाच्य हुन नसक्ने प्रष्ट पार्दै उनले भने, ‘किनकि चिकित्सकप्रति बढी नै विश्वास र अपेक्षा हुन्छ, उसको काम नै बिरामीको उपचार गर्ने हो, बिरामीलाई नयाँ जीवन दिने हो भन्ने सोच आम मानिसमा हुन्छ ।’

मुख्य कुरा, उपचार वा शल्यक्रिया गर्दा यदाकदा देखिने दुर्घटनालाई तीन वर्गमा बाँड्नु पर्ने उनी बताउँछन् । ‘पहिलो, कहिलेकाहीँ अप्रत्यासित रुपमा बिरामीको मुटु, फोक्सोजस्ता अंगहरुमा समस्या आइलाग्छ, जसलाई जति कोशिस गरे पनि बिरामी बचाउन सकिँदैन, यसलाई भवितव्य मान्नुपर्छ,’ उनले भने, ‘दोस्रो, कहिलेकाहीँ अन्जानवस् हुने गल्ती जसलाई मेडिकल एरर भनिन्छ । यस्तो एरर घटाउन विश्व स्वास्थ्य संगठनको विभिन्नखाले कार्यक्रमहरु अस्पताल र अप्रेशन थिएटरभित्र लागू गरिन्छ । तेस्रो, बिरामीलाई चाहेरै हानी गर्ने, जुन मानसिक रुपमा स्वस्थ कुनै पनि चिकित्सकले सोचेकै हुँदैन ।’

‘हत्यारालाई फाँसी दे’ भनेको चाहीँ तेस्रो वर्गका चिकित्सकलाई भनेको हो कि जस्तो लाग्छ – उनले भने ।

‘यदि सही उपचार गर्दागर्दै हुने भवितव्यमा चिकित्सकलाई ‘फाँसी दे’ भन्ने हो भने भविष्यमा कुन चिकित्सकले कुन मनोबलले बिरामीको उपचार गर्छ ?’ उनले प्रश्न गरे, ‘कुनै पनि शल्यक्रिया सफल हुन शल्यचिकित्सकको टिम, एनेस्थेसियाको टिम, नर्सिङ टिमलगायत विभिन्न औजारहरु र उपकरणहरु सबैको आ–आफ्नो दायित्व हुन्छ । यदि कुनै मानवीय त्रुटि नै भएको छ भने पनि छानविनबाट प्रष्ट हुन जरुरी छ । जुनसुकै मृत्युमा शल्यचिकित्सकलाई फाँसी दे भनेरमात्र कहाँ हुन्छ र ?’

आममानिसलाई हामीले ‘हामी भगवान होइनौँ’ भनेर बुझाउन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘भगवान भनेकोमा हामी खुशी भयौँ तर मानिसलाई हामीले आफू भगवान होइन, हरेक बिरामीलाई उत्तिकै महत्वका साथ उपचार गर्दा गर्दै पनि कहिलेकाहीँ नकारात्मक परिणाम आउन सक्छ भनेर बुझाउने गरेको भए प्रतिहजार ९९९ जनालाई निको पार्नुका बाबजुद एउटालाई बचाउन नसकेकोमा यमराजको कित्तामा उभ्याइने थिएन होला कि !’

सबै बिरामी समान

एउटा चिकित्सकका लागि सबै बिरामी समान रहने प्रा. डा. कोइराला बताउँछन् । ‘अरुका लागि कोही मन्त्री होला, कोही सचिव होला, कोही कसैको आमा, कोही बुवा, कोही छोरा, कोही छोरी हुन सक्छ तर चिकित्सकका नजरमा उपचारका लागि आउने जोसुकै पनि बिरामीमात्र हुन् र सबैको उत्तिकै महत्व हुन्छ,’ उनले भने ।

पेशा छाड्न मन लाग्छ

प्रा.डा. कोइरालाका अनुसार सर्जरी पेशा छाड्ने दर पनि बढी छ । ‘अहिलेसम्म काम गरिरहेका सर्जनलाई सोध्यो भने ६० प्रतिशत आफ्नो पेशाबाट सन्तुष्ट नभएको र पेशा छाड्न चाहेको आँकडा छ,’ उनले भने, ‘मलाई पनि बेलाबखत यो पेशा छाडेर अरु कामतिर लाग्नुपर्छ कि जस्तो लाग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप