शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवतीका घरमा निमन्त्रणा

सोमबार, २१ पुस २०७६, २० : ३०
सोमबार, २१ पुस २०७६

जुम्ला । चन्दननाथ नगरपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई ‘निमन्त्रणा कार्ड’वितरण कार्य शुरु गरेको छ । 

नगरपालिकाले गर्भवती जाँच र सुरक्षित सुत्केरी गराउन स्वास्थ्यचौकी तथा अस्पतालमा आउन भन्दै गर्भवतीलाई निमन्त्रणा कार्ड दिनथालेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिए ।

गर्भवतीलाई नियमानुसार चारपटक गर्भ जाँच गराउन र स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थप उत्तरदायी बनाउनका लागि निमन्त्रणा कार्ड नै बनाएर वितरण गर्न शुरु गरिएको महतले जानकारी दिए ।

 समयमै गर्भ जाँच गराउने, घरमै सुत्केरी हुने दर घटाउने, आमा तथा बालबालिकाको स्वास्थ्य ग्यारेण्टी गर्ने उद्देश्यका साथ गर्भवतीलाई निमन्त्रणा कार्ड प्रदान गरिएको हो । 

नगरपालिका क्षेत्रभित्रका सबै गर्भवतीका घरमै पुगेर कार्ड वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । शाखाका अनुसार निमन्त्रणा कार्डले गर्भवती र तिनका अभिभावकलाई समयमै जाँच गराउन तथा सुत्केरी गराउन स्वास्थ्य संस्थामै लैजान दबाब पुग्नेछ । 

स्वास्थ्य निरीक्षक महतका अनुसार पहिलो चरणमा नगरपालिकाका वडा नं ६, ७, ८ र ९ का ९५ गर्भवतीलाई निमन्त्रणा कार्ड वितरण गरिएको छ ।

निमन्त्रणा कार्डमा एकातिर गर्भवतीको नाम, ठेगाना र सुत्केरी हुने समय उल्लेख गरिएको छ भने अर्कोतिर गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, अपनाउनुपर्ने सावधानी तथा पोषणयुक्त खानाबारे उललेख गरिएको महतले बताए ।

नगरपालिकाका प्रायः गरी अस्पतालमा बच्चा जन्माउने गर्ने तर पनि छुट नहोस् र शत प्रतिशत आमा र बालाबालिकाको जीवन सुरक्षा होस् भन्ने उद्देश्यका साथ अभियान थालिएको नगर उपप्रमुख अप्सरादेवी न्यौपानेले जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक भएकाले प्रायः गर्भवती सुत्केरीका लागि आउने गर्छन् । कोही नछुटन भन्ने उद्देश्यले थप दबाब र जानकारी  कार्यक्रम अगाडि बढाइएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप