मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चितुवाको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई राहत

सोमबार, २१ पुस २०७६, २० : १४
सोमबार, २१ पुस २०७६

तनहुँ । चितुवाको आक्रमणबाट ज्यान गुमाउने तनहुँको भानु नगरपालिकाका दुई बालकका परिवारलाई डिभिजन वन कार्यालयले राहत उपलब्ध गराएको छ ।

चितुवाको आक्रमणबाट मृत्यु भएका वडा नं १ जामुनेगैह्राका तीन वर्षीय आशिष बानियाँ र वडा नं २ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई वन कार्यालयले जनही रु नौ लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराएको हो । 

कार्यालयले घटनालगत्तै किरिया खर्चबापत रु ५०÷५० हजार पीडित परिवारलाई प्रदान गरेको थियो । आशिषको गत असोज २१ गते र ऋतिकको कात्तिक ११ गते चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

नगर प्रमुख उदयराज गौली, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले राहत रकम आज आशिषका बुबा विष्णुबहादुर बानियाँ र ऋतिकका आमा सिर्जना रोकालाई प्रदान गरे । 

सो अवसरमा नगर प्रमुख गौलीले मानिसको जीवन पैसासँग तुलना गर्न नमिल्ने भए पनि राहत रकमले पीडित परिवारलाई केही सहयोग पुग्ने बताए ।

डेढ वर्षको अवधिमा भानु नगरपालिकामा मात्रै छ बालबालिकाको मृत्यु भइसकेकाले अझै पनि सतर्कता अपनाउन आवश्यक रहेकोमा उनले जोड दिए । 
डिभिजन वन प्रमुख बरालले विपद्को अवस्थामा राज्य जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको जानकारी दिए ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ संशोधित २०७५० बमोजिम वन्यजन्तुको आक्रमणमा परि मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने नीतिबमोजिम पीडित परिवारलाई रकम प्रदान गरिएको बरालले बताए ।

त्यस्तै आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएका आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका आठ वर्षीय पुजन सिंजाली मगर र यही पुस १४ गते चितुवाको आक्रमणबाट मृत्यु भएका शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका रविन नेपालीको परिवारलाई तत्कालै रु ५० हजार राहत उपलब्ध गराइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप