शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व अर्थतन्त्र अनिश्चितातर्फ मोडिँदै, सुरक्षण खोज्दा सुन र डलर दुवैको मूल्य बढ्यो

सोमबार, २१ पुस २०७६, १५ : ११
सोमबार, २१ पुस २०७६

काठमाडौँ । केही दिनयता बजारमा सुनको मूल्य आकासिएको छ । गत आइतबार मात्र एकै दिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ ७५ हजार ५ सय रुपैयाँ पुग्यो । जुन अहिलेसम्मकै उच्च दर हो । आज सोमबार पनि सुनको भाउले सोही दरको निरन्तरता पाएको छ । सुनको यो मूल्य वृद्धि कुनै सिजन वा बिहेवारी समयको मागले गर्दा बढाएको मूल्य भने होइन । बरु अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा आएको उच्च वृद्धिका कारण नेपालीमा बजारमा समेत त्यसको प्रभाव पर्न गएको हो ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ७ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्यमा ३ दशमलव ४ प्रतिशतले वृद्धि हुँदै एक हजार ५ सय ७९ अमेरिकी डलर प्रतिऔंस पुगेको छ । केही समयअघि मात्र सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा एक हजार ४४ अमेरिकी डलर प्रतिऔंस मात्र थियो ।

विश्व अर्थतन्त्रमा ठूलो सङ्कट आउने देखेपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुँदा सुनको भाउ बढ्न गएको अर्थविद्हरु बताउँछन् । वरिष्ठ अर्थविद् डा. डिल्लीराज खनाल विश्व अर्थतन्त्रमा सङ्कट आउने देखेपछि लगानीकर्ताले लगानीको सुरक्षका लागि सुन र तेलमा लगानी गर्दा मूल्य बढ्न गएको बताउँछन् । जसले डलरको भाउ समेत बढ्न गएको उनको भनाइ छ । 

‘विश्व अर्थतन्त्रको अहिलेको मुख्य समस्या इरान र अमेरिकाबीचको द्वन्द्वको परिणाम हो । विश्व अर्थतन्त्रको ठूलो हिस्सा बोकेको अमेरिका र ठूलो तेल आपूर्तिकर्ता इरानबीचको द्वन्द्वले विश्व अर्थतन्त्रलाई नै प्रभाव पार्ने देखिन्छ ।’ खनालले भने, ‘यस्तो अवस्थामा विश्व अर्थतन्त्र नै कतातिर मोडिन्छ भन्ने निश्चित हुँदैन । त्यसैले लगानीकर्ताहरु सुरक्षणका लागि तेल र सुनतर्फ आकर्षित हुन्छन् । यसले माग बढ्न गई मूल्य वृद्धि हुन्छ ।’


अमेरिका र इरान दुई देशबीचको द्वन्द्वले विश्व अर्थतन्त्रमा जोखिम बढेसँगै लगानीकर्ताहरु सुन र कच्चा तेलमा लगानी बढाउँदा सुन र डलर दुवैको मूल्य वृद्धि भएको राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

 


यता, सुनको मूल्य बढेसँगै अमेरिकी डलरको मूल्यमा समेत वृद्धि भएको छ । विश्व अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने अमेरिकी अर्थतन्त्र, सुन र कच्च तेलको माग र मूल्य वृद्धिका कारण डलरको भाउ समेत वृद्धि भएको हो ।

अमेरिका र इरान दुई देशबीचको द्वन्द्वले विश्व अर्थतन्त्रमा जोखिम बढेसँगै लगानीकर्ताहरु सुन र कच्चा तेलमा लगानी बढाउँदा सुन र डलर दुवैको मूल्य वृद्धि भएको राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

‘अमेरिकी अर्थतन्त्र, सुन र तेलको अन्तर्राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्ध रहन्छ । यसमा हलचल ल्याउने विविध कारणहरु छन् । यी मध्य अहिलेको प्रमुख कारण भनेको अमेरिका र इरानबीचको द्वन्द्व नै हो ।’ प्रवक्ता भट्टले भने, ‘अमेरिका–इरान दुई देशबीचको द्वन्द्वले उग्ररुप नै लिने हो कि भन्ने विश्व मानसमा एक किसिमको डर छ । त्यसैले सुरक्षणका लागि लगानीकर्ताहरुले तेल र सुनमा लगानी बढाइरहेका छन् । जसले डलरको माग बढ्न गई मूल्य वृद्धि भइरहेको छ ।’

त्यसो त लगानीकर्ताहरुले बैङ्क तथा वित्तीय संस्थान तथा कम्पनीहरुबाट राम्रो व्याज नपाएमा वा सेयर कारोबारबाट विमुख भएमा पनि सुनतर्फ आकर्षित हुने गर्छन् । यस्तो अवस्थामा सुनको माग बढ्न गई सुन र डलर दुवैको मूल्य बढ्ने भट्टराईको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढ्न गई भारतीय मुद्रा अवमूल्य हुँदा भारुसँगको साझेदार नेरु स्वतः कमजोर हुने र त्यसको प्रभाव नेपालमा परेको उनको भनाइ छ ।

यसअघि चीन र अमेरिकाबीचको शीत युद्धका कारण पनि विश्व अर्थतन्त्रमा प्रभाव पारेको थियो ।

अमेरिकी अर्थतन्त्र, डलर, सुन र कच्च तेलबीचको अन्तर सम्बन्ध

अमेरिकी अर्थतन्त्र, डलर र सुनः

विश्व अर्थतन्त्रको उतारचढाव र स्थिरतामा अमेरिकी अर्थतन्त्र, डलर र सुनको त्रिकोणात्मक सम्बन्ध रहन्छ । अमेरिकी अर्थतन्त्र मजबुत हुँदा अमेरिकी आर्थिक क्रियाकलाप बढ्न गई डलरको माग बढ्छ र सुनको माग घट्छ । जसले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्न पुग्छ । तर अमेरिकी बजारमा आर्थिक क्रियाकलाप कम हुँदासमेत डलरको मागमा कमी आउँदैन । कारण लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुन्छन् । आर्थिक कारोबारमा भविष्य नदेखेपछि लगानीकर्ताहरु सुनमा लगानी बढाउछन् । जसले गर्दा डलरको माग घट्न दिदैन ।


सामान्यतयाः शक्ति राष्ट्रहरुको आर्थिक वृद्धिका लागि आर्थिक गतिविधि बढ्दा पेट्रोलियम पदार्थको माग बढ्न गई सुनको माग घट्ने गर्छ । यस्तो अवस्था व्यवसायीहरु कच्च तेल खरिद गरेर स्टोर गर्नतर्फ लाग्छन् र तेलको माग बढ्छ र सुनको माग घट्छ । तर अहिलेको अवस्था तेलको मागले भन्दा पनि तेल निर्यातकर्ता देशको आपूर्ति सङ्कटका कारण तेलको माग बढेको छ ।


अर्थविद् खनालका अनुसार अमेरिकाको विकल्पमा अहिलेसम्म अर्को शक्ति राष्ट्र विश्व अर्थतन्त्रमा नउदाउँदा सबल र दुर्बल दुवै समयमा अमेरिकी डलर मजबुद हुने गरेको छ । केही समयअघिको चीन र अमेरिका बीचको शीत युद्धमा समेत अमेरिकी डलर मजबुद हुँदा विश्व अर्थतन्त्रलाई प्रभाव पारेको थियो ।

डलर, सुन र कच्चा तेलः

सामान्यतयाः शक्ति राष्ट्रहरुको आर्थिक वृद्धिका लागि आर्थिक गतिविधि बढ्दा पेट्रोलियम पदार्थको माग बढ्न गई सुनको माग घट्ने गर्छ । यस्तो अवस्था व्यवसायीहरु कच्च तेल खरिद गरेर स्टोर गर्नतर्फ लाग्छन् र तेलको माग बढ्छ र सुनको माग घट्छ । तर अहिलेको अवस्था तेलको मागले भन्दा पनि तेल निर्यातकर्ता देशको आपूर्ति सङ्कटका कारण तेलको माग बढेको छ । अमेरिका र इरानबीचको द्वन्द्वले समस्या निम्त्याएको छ । यसमा थप इराकको पछिल्लो प्रतिक्रियाले समेत मलजल पुर्याएको देखिन्छ । यस्तो अवस्थामा पछि जे पनि हुन सक्छ भनेर लगानीकर्ताहरु तेल र सुन दुवैमा लगानी बढाइरहेका छन् । जसले तेल, सुनको माग बढ्न गई मूल्य वृद्धि भइरहेको छ भने, डलर मूल्य समेत वृद्धि गराइरहेको छ ।

गत साता अमेरिकाले इरानमाथि हमला गरेर सैनिक कमान्डर जनरल कारिम सुलेमानी मारेपछि भड्किएको तनावले विश्व तरङ्गित भएको छ । यसले अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई समेत भड्काउने सङ्केत देखापरेको छ ।

विश्व अर्थतन्त्रको ठूलो हिस्सा बोकेको अमेरिका र ठूलो तेल निर्यातकर्ता इरानबीचको यस किसिमको द्वन्द्वले विश्व अर्थतन्त्रमा नै ठूलै हलचल ल्याउन सक्ने प्रक्षेपण गर्न थालिएको छ । विश्व बजारको ठूलो तेल आपूर्तीकर्ता इरानको तेल आपुर्तीमा समस्या आएसँगै विश्वमा तेल सङ्कट निम्तन सक्ने खतरा बढेको छ ।

अमेरिका–इरान द्वन्द्वपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि आइसकेको छ । दुई देशबीचको तनाव बढेसँगै आपूर्तिक कम हुँदा कच्चा तेलको मूल्य प्रतिब्यारेल २ दशमलव ६ प्रतिशतको वृद्धि हुँदै क्रुड तेलको मूल्य प्रतिब्यारेल ६९ दशमलव १६ अमेरिकी डलर पुगेको छ । जब कि समस्या आउनु अघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ६३ दशमलव ८४ अमेरिकी डलर मात्र थियो । त्यसैले पछि आउन सक्ने संभावित समस्या, सङ्कट र आर्थिक सुरक्षणका लागि भन्दै अहिले देशहरु कच्चा तेल र सुनतर्फ आकर्षित हुन थालेका छन् । जस्ले तेल, सुन र डलरको माग बढ्न गई यी तीनै तत्वको मूल्य बढ्न गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप