बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ३ को प्रदेशसभा बैठक आजबाट, राजधानीबारे के होला निर्णय ?

सोमबार, २१ पुस २०७६, ११ : ५९
सोमबार, २१ पुस २०७६

हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठक सोमबारबाट सुरु हुँदैछ । दिउँसो ३ बजेबाट सुरु हुने यो अधिवेसनको मुख्य एजेण्डा प्रदेश राजधानी र नामाकरण गर्नुरहेको छ ।

तर, प्रदेशको राजधानी हेटौडा राख्ने या अन्यत्र भन्नेमा सत्तारुढ दलकै सांसदहरु विभाजित भएकाले अन्यौल उत्पन्न भएको छ ।

राजधानी र नामका विषयमा सहमति जुटाउन शनिबारबाट बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठक दुई दिन बसेर बिना निश्कर्ष टुगिंएको छ ।

शनिबार र आइतबार बसेको नेकपा संसदीय दलको बैठकमा बोलेका ६६ सांसदहरुमध्ये आधाभन्दा बढीले हेटौँडा राजधानी उपयुक्त नभएको धारणा राखेका थिए ।


दलको बैठक सोमबार पुनः बसेर निर्णय गर्ने प्रदेश सांसद प्रेम बहादुर पुलामीले जानकारी दिए । सांसद पुलामीका अनुसार हेटौँडा राजधानीमा सबैको सहमति जुटाउने प्रयास भइरहेको छ । त्यसका लागि प्रदेश सांसदहरुले संसद बैठक सुरु हुनु अघि प्रदेश नम्बर ३ का नेकपाका इन्चार्ज र सहइन्चार्ज लगायतसँग छलफल गर्नेछन् । तर धेरैजसो सांसदहरु हेटौडा राजधानी व्यवहारिक रुपले नमिल्दो रहेको भन्दै काभ्रे, भक्तपुर वा नुवाकोट हुनुपर्ने अडानमा छन् । तर पार्टी केन्द्रले समेत हेटौडा राजधानी राख्न दिएको सुझावअनुसार नै हेटौडामा सहमति कायम गरेर अघि बढ्ने तयारी भइरहेको सांसद पुलामीको भनाई छ । उता अर्का प्रदेश सांसद पशुपति चौलागाई भने हेटौडा राजधानी स्वीकार्न नसकिने भन्दै त्यसको विकल्पमा जानुपर्ने बताउँछन् ।

प्रदेश ३ संसदको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भने राजधानीबारे छलफल गर्न प्रदेश ३ संसदीय समितिको बैठक सोमबार बस्दैछ ।

प्रदेशको नाम र राजधानीबारे मतदान भएमा नेकपाको प्रस्ताव पारित हुनेछ । किनकी प्रदेश ३ को ११० सदस्यीय सभामा ८० सांसद् नेकपाका छन् । यो संख्या प्रदेशको नाम र राजधानीको प्रस्ताव पारितका लागि ७४ मत भए पुग्छ । प्रदेश ३ को प्रदेशसभामा काँग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र एकएक सांसद् छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप