सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

३८ हजार निजामति कर्मचारी अभाव, यस्तो छ देशभरका कर्मचारीको तथ्याङ्क

आइतबार, २० पुस २०७६, १९ : ०३
आइतबार, २० पुस २०७६

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दी कायम भएअनुसार संघ, प्रदेश र स्थानीय तहमा गरी ३८ हजार कर्मचारी कमी रहेको जनाएको छ । आइतबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्रालयले दिएको जानकारीअनुसार संघ,प्रदेश र स्थानीय तहमा स्वीकृत भएको १ लाख ३७ हजार दरबन्दी भएपनि ९९ हजार ५ सय ७२ कर्मचारी समायोजन गरिएको थियो ।दरबन्दीअनुसार ३८ हजार ४० कर्मचारी कमी भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको आंकडाअनुसार स्थानीय तहमा आवश्यक दरबन्दी र समायोजन भएको विवरण हेर्दा २३ हजार १ सय २ कर्मचारी कमी रहेको छ ।  समायोजन प्रयोजनका लागि संघमा ४८ हजार ४ सय ९, सातवटै प्रदेशमा २२ हजार २ सय ९७ र सबै स्थानीय तहमा ६६ हजार ९ सय ८ कर्मचारी दरबन्दी छ । 

कर्मचारी समायोजनका क्रममा सबै सेवा समूहबाट ९७ हजार १ सय २९ कर्मचारी समायोजन गरिएको र २४ सय ४३ कर्मचारी विविध कारणले समायोजन हुन नसकेको मन्त्रालयले जनाएको छ । 

कुन प्रदेशमा कति कर्मचारी अभाव 

प्रदेश १ मा ३ हजार ७ सय ६८ कर्मचारी दरबन्दी रहेकोमा २ हजार ४ सय ३९ कर्मचारी समायोजन भएका थिए । प्रदेश २ मा ३ हजार २ सय ४७ कर्मचारी दरबन्दी रहेकोमा १ हजार ८ सय ३० कर्मचारी समायोजन भएका थिए ।  यस्तै प्रदेश ३ मा ३ हजार ६ सय ६८ कर्मचारी दरबन्दी रहेकोमा २ हजार ९ सय ९५ कर्मचारी समायोजन भएका थिए । गण्डकी प्रदेशमा २ हजार ६ सय ८० कर्मचारी दरबन्दी रहेकोमा १७ सय ६४ कर्मचारी समायोजन भएका थिए । 

यस्तै प्रदेश ५ मा ३ हजार ९ सय ३२ कर्मचारी दरबन्दी भएकोमा २५ सय २० कर्मचारी समायोजन भएका थिए । यता कर्णाली प्रदेशमा २३ सय ५४ कर्मचारी दरबन्दी भएकोमा १३ सय ४८ कर्मचारी समायोजन भएका थिए । सुदूरपश्चिम प्रदेशमा २६ सय ३० कर्मचारी दरबन्दी रहेकोमा १४ सय ८२ कर्मचारी समायोजन भएको मन्त्रालयले जनाएको छ । 

प्रदेशमा समायोजन भएका कर्मचारी प्रदेशको मुख्यमन्त्रीको कार्यालयबाट प्रदेश अन्तर्गतका विभिन्न कार्यालयमा जाने भएकोले जिल्लागत रुपमा कति कर्मचारी समायोजन भइसके भन्ने विवरण मन्त्रालयमा आइनसकेको मन्त्रालयले जनाएको छ । 

प्रदेशमा अपुग कर्मचारी मागका आधारमा केन्द्रबाट काजमा खटाउने गरिएको छ । प्रदेश लोकसेवा आयोग गठनको प्रक्रिया सुरु भइसकेकाले सम्बन्धित प्रदेशले आवश्यक कर्मचारी भर्ना गर्न सक्ने मन्त्रालयले जनाएको छ । 

यस्तै स्थानीय तहमा ६६ हजार ९ सय ८ कर्मचारी दरबन्दी रहेकोमा समायोजनबाट कूल ४३ हजार ८ सय ६ कर्मचारी पूर्ति भएको छ । समायोजनबाट कर्मचारी नपुगेका र रिक्त स्थानमा स्थानीय तहको मागका आधारमा सहायक चौथो, पाँचौ र अधिकृत छैटौँका ९ हजार १ सय १६ पदहरु परिपूर्तिका लागि लोकसेवा आयोगबाट प्रक्रिया अघि बढेको पनि मन्त्रालयले जनाएको छ । 

गत साउन १ देखि आउँदो असारसम्म संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीमध्ये २ हजार ९ सय ३७ कर्मचारी उमेर हदका कारण अवकास हुनेछन् । पुसको दोश्रो सातासम्म १४ सय ३३ कर्मचारी उमेर हदका कारण अवकास भएको र केहीले स्वेच्छिक राजीनामा दिएकोले पनि कर्मचारीको अभाव हुने मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप