बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाको स्वास्थ्य शिविर : पाँच किलोसम्मको ट्युमर शल्यक्रिया

आइतबार, २० पुस २०७६, १६ : ५८
आइतबार, २० पुस २०७६

काठमाडौँ । नेपाली सेनाले नागरिकसँगको सम्बन्ध विस्तारमा सहयोग पु¥याउने उद्देश्यसहित स्वास्थ्य सेवा नपुगेको स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ ।

सेनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा मंसिर २७ देखि पुस ६ गतेसम्म महोत्तरीको सोनमा गाउँपालिकामा पनि स्वास्थ्य शिविर सञ्चालन गरेको आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

उक्त शिविरमार्फत जुुकाको औषधि वितरणदेखि पाँच किलोसम्मको ट्युमर शल्यक्रिया गरी निकालिएको पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

शिविरमा गरी ३४ हजार १ सय ७२ जनाको स्वास्थ्य उपचार गरिएको र ३ सय ३९ जनाको शल्यक्रिया गरिएको शिविर संयोजक सहायकरथी डा. देवेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

शिविर संयोजक खत्रीका अनुसार स्वास्थ्य शिविरमा १ सय ८० जना विषेशज्ञ चिकित्सकहरु र १ सय १० जना अन्य स्वास्थ्यकर्मीहरुले सेवा दिएको थिए ।

नेपाली सेनाले स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्य सेवा नपुगेका ठाउँहरुमा शिविर मार्फत स्वास्थ्य सेवा दिँदै आएको जनाएको छ ।

जस अनुसार २०७४ सालमा १ सय ३३ स्थानमा, २०७५ मा २ सय ६४ स्थानमा र २०७६ को अहिलेसम्म ८३ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको सेनाले जनाएको छ ।

आन्द्रामा प्वाल परेका सादा पहिलो बिरामी

नेपाली सेनाका अनुसार स्वास्थ्य शिविर सुरु गरिएको पहिलो दिनमै आन्द्रामा प्वाल परेका बिरामीको अपरेसन गरिएको थियो । महोत्तरीका २१ वर्षीय सन्जीव सादा पहिलो बिरामी रहेको सेनाले बताएको छ ।

सादाको आन्द्रामा प्वाल परेको थियो । सादाको अपरेसन सफल भएको पनि सेनाले जनाएको छ ।

स्वास्थ्य शिविरमा प्रेसरका बिरामी, ग्यास्ट्रिकका बिरामी, दमका बिरामी, आँखाका बिरामी र महिलाको पाठेघर खस्ने समस्याका बिरामीहरुको उपस्थिति उल्लेख्य मात्रामा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

शिविर सञ्चालनको खर्च अपुष्ट

पत्रकार सम्मेलनमा शिविर सञ्चालन गर्दा खर्च भएको विवरण सेनाले खुलाउन सकेको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ७० लाख बजेट विनियोजन भएपनि कति खर्च भएको यकीन विवरण नभएको सेनाले बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सेनाका प्रवक्ता पाण्डेले ७० लाखभन्दा बढी खर्च भएको हुनसक्ने बताए । उनले भने, ‘स्थानीय तहबाट पनि सहयोग भएको छ । यति नै खर्च भयो भनेर भन्ने सक्ने अवस्थामा हामी छैनौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप